|

काठमाडौं : भारतबाट सवारी साधन चोरी गरी काठमाडौंमा बिक्री गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली सेनाका जवान पनि छन्।

चोरीका गाडी बिक्री भइरहेको गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरका दुई युवकलाई उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का ३२ वर्षीय अर्जुन कठायत कृष्णपुर नगरपालिका–२ का ३३ वर्षीय कृष्ण बहादुर रोकाया छन्। रोकाया नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ।

उनीहरुको साथबाट तीन थान मोटरसाइकल र एक थान कार बरामद गरिएको महाशाखाले जनाएको छ। रोकाया र कठायतले बेच्ने तयारी गरिरहेको अवस्थामा प्रदेश–३–७६२३ नम्बरको हुण्डाई कम्पनीको सेन्ट्रो कार बरामद गरेको छ। 

गाडी र मोटरसाइकल भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै काठमाडौं ल्याइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। असार १४ मा प्रहरीले भारतबाट चोरेर ल्याएका दुईवटा क्रेटा गाडी र नक्कली ब्लुबुकसहित ३ जनालाई पक्राउ गरेको थियो।

मोरङका रेवतीरमण निरौला, मधुसुदन पाण्डे र कमलबावु पुरी भन्ने कमलबावु भट्टलाई पक्राउ गरेर प्रहरीले पाँच बोरा नक्कली कागजात बरामद गरेको थियो। त्यो बेला पक्राउ परेको समूह र अहिले पक्राउ परेको समूहबीच सम्बन्ध रहेको खुलेको महाशाखाले जनाएको छ।

महाशाखाले यसबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ। चोरीका गाडी बेच्ने समूहले हुण्डाई कम्पनीको क्रेटा गाडी २० देखि ३० लाख र बुलेट मोटरसाइकल दुई लाख ३० हजारमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

चोरीका गाडीमा अञ्चलीकरण भएर खालीरहेका नम्बर राखेर नक्कली कागजात तयार गरेको भेटिएको छ। खाली रहेको नम्बरको सूचना यातायात ब्यवस्था विभागका कर्मचारीबाट चुहिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। यसबारेमा पनि अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

यस्तै महाशाखाको टोलीले शनिबार मात्रै चोरीका गाडीसहित दुई जनालाई पक्राउ गरेको थियो। 

महानगरपालिका–६ बौद्धबाट हुन्डाई कम्पनीको दुई गाडीसहित मुस्ताङ लोधोगार दामोदरकुण्ड गाउँपालिका–४ घर भई बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत दार्जिलिङ घर भई बौद्ध बस्ने ४३ वर्षीय सोनाम टासी योल्मोलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई सवारी साधनसहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय पठाइएको महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.