|

जनकपुरधाम : महोत्तरीमा चुरे संरक्षणको लागि हरित अभियान अन्तर्गत तीन लाख विरुवा वृक्षारोपण गरिने भएको छ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले हरित अभियान सुरु गर्दै तीन लाख विरुवा रोप्ने जानकारी दिए।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पोखरेलले हरित अभियान सुरु गर्दै महोत्तरीको गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट सो अभियानको सुरुवात भएको जनाए।

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पोखरेलले भने,‘हरित अभियान सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वास्थ्य सम्बन्धलाई पुनःस्थापित गराउने पहल गरेका छौँ।

यस अभियानले समुदायले भोगिरहेको विभिन्न समस्याहरुलाई क्रमागत रुपमा निर्मुल पार्न सहयोग गर्ने छ।’ उनले यस अभियानमा आबद्ध हुन सरोकारवाला संघ, संस्था, क्लव र समूहलाई आह्वान समेत गरेका छन्।

उनले चुरे क्षेत्रमा बढिरहेको वन विनाश, अनियन्त्रित भू–उपयोग, अव्यवस्थित विकास निर्माण तथा अत्याधिक उत्खनन् जस्ता मानवीय क्रियाकलापले गर्दा चुरेको वातावरणमा निरन्तर ह्रास भएको बताए।

हरित अभियानले पारिस्थितिक प्रणालीको पुनःस्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम सञ्चालन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.