भारतीय एसएसबीले नै सीमा मिचेका स्थानीयको आरोप

|

जनकपुरधाम : प्रदेश नम्बर २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्।

प्रदेश २ को सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासका अनुसार प्रदेश को ८ जिल्लामा रहेका ४ हजार २७ सीमा स्तम्भ मध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेकोमा, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्ण रूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएका र ८४९ सीमास्तम्भ हराएका छन्। सीमास्तम्भ नै हराएपछि नेपाल भारतको सीमामा समस्या देखिएको छ।

प्रदेश २ का पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमा स्तम्भमध्ये ८४९ वटा हराएको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरु बाँध्ने गरेकाले नेपाल–भारत सीमाक्षेत्र छुट्याउन समस्या भएको बताए।

सशस्त्र प्रहरी नायब महानिरीक्षक गौतमका अनुसार धनुषाको पश्चिमी सीमामा रहेको महिनाथपुरमा भारतीय पक्षले दशगजामै माटो खसालेर अतिक्रमण गरेको छ।

यसैगरी सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन्।

माडर स्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, लग्दी गोठ टोलमा पूरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको र ठाडीमा भारतीय भन्सार कार्यालय अफिस राखेको छ।

सिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय परिवार बस्दै आएका छन्। बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरिएको बताइएको छ।

सीमापारि रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरू यसप्रति उदासीन देखिएका र उनीहरूले नै नेपाली भूमि अतिक्रमण गरेको बरियापट्टीका स्थानीयबासीको आरोप छ।

यसरी प्रदेश २ को आठ जिल्ला अन्तर्गत पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरी गाउँसम्म ४६४ किलोमिटंर सीमा क्षेत्रलाई छुट्याइएको सीमास्तम्भ मध्ये ८४९ सीमास्तम्भ हराएपछि सीमा सुरक्षालाई लिएर कतिपय सवाल उठिरहेको छ।

सिरहा र धनुषामा मात्र होइन यो समस्या प्रदेश २ का आठ वटै जिल्लामा रहेको देखिन्छ।

स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायको टाउको दुखाइ बनेको नेपाल-भारतबीचको सीमा समस्यालाई दीर्घकालीन समाधानतर्फ दुवै देशका सरकार गम्भीर हुनुपर्ने जानकारहरूको भनाइ छ। ‘जिपिएस सिस्टम’बाट कहाँ-कहाँ सीमास्तम्भ छन् भन्नेबारे वैज्ञानिक सीमांकन हुनुपर्ने सीमाक्षेत्रका बासिन्दाहरूको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.