|

डडेल्धुरा : श्रीलंकासँगको तीन म्याचको टी–२० सिरिजअन्तर्गत पहिलो म्याचमा भारत ३८ रनले विजयी भएको छ।

आइतबार राति भएको खेलामा भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा अलआउट हुँदै १२६ रनमा समेटियो। उसका लागि चरिथ असलंकाले सर्वाधिक ४४ रन बनाए। २६ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै, अभिष्का फर्नान्डोले २६, मिनोद भानुकाले १० र दासुन शनकाले १६ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

भारतको लागि बलिङमा भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरे। उनले ३.३ ओभरमा २२ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै, दीपक चाहरले २ र हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, बरुण चक्रवर्ती र युजवेन्द्र चहलले एक–एक विकेट हात पारे।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। उसका लागि कप्तान शिखर धवन र सूर्यकुमार यादबले शानदार ब्याटिङ गरे। धवनले ३६ बलमा चार चौका र एक छक्कासहित ४६ रन बनाउँदा सुर्यकुमारले ३४ बलमा ५ चौका र २ छक्काको मद्दत ५० रनको पारी खेले।

त्यस्तै, सन्जु सामसनले २७, इशान किशनले अविजित २० र हार्दिक पाण्ड्याले १० रन जोड्दा पृथ्वी शा शून्य र कृणाल पाण्ड्या ३ रनमा नटआउट रहे। बलिङमा दुश्मन्थ चमेरा र वनिन्दु हसरंगाले दुई–दुई विकेट तथा चमिका करुणारत्नेले एक विकेट लिए।

यस जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। यी दुई देशबीचको दोस्रो टी–२० म्याच २७ जुलाईमा हुनेछ।

सूर्यकुमारको नयाँ कीर्तिमान

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सूर्यकुमार यादवले नयाँ कीर्तिमान बनाएका छन्। सूर्यकुमारले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट करियरको पहिलो तीन इनिङमा भारतका लागि सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्।

सूर्यकुमारले अहिलेसम्म भारतका लागि चार टी–२० खेल खेलेका छन्। तीन पारीम उनले ४६.३३ को औसतमा १ सय ३९ रन बनाएका छन्। उनको टी–२० अन्तर्राष्ट्रियमा उच्च स्कोर ५८ रन रहेको छ। सूर्यकुमारले पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरलाई पछाडि पारेका छन्। गौतमले तीन पारीमा १०९ रन बनाएका थिए।

टी–२० अन्तर्राष्ट्रियको तीन पारीमा सर्वाधिक रन बनाउनेको तेस्रो स्थानमा सुरेश रैना, चौथोमा रोहित शर्मा, पाँचौंमा मनदीप शर्मा रहेका छन्। उनीहरुले क्रमशः ९९, ८८ र ८७ रन बनाएका छन्।

सूर्यकुमार श्रीलंकासँगको पहिलो खेलमा पाँच चौका र २ छक्कासहित ५० रन बनाएका थिए। उनको स्ट्राइक रेट १४७.०६ रहेको थियो। उनको यो पहिलो तीन टी–२० पारीमा दोस्रो अर्धशतक थियो।

यसँगै सूर्यकुमार पहिलो तीन पारीमा दुई अर्धशतक बनाउने ब्याट्सम्यानसमेत बनेका छन्। यसअघि गौतम गम्भीरले पनि पहिलो दुई इनिङ्समा दुई अर्धशतक बनाएका थिए। यसअघि सूर्यकुमारले इंग्ल्याण्डविरुद्ध अर्धशतक बनाएका थिए। उनले अन्तिम तीन टी–२० अन्तर्राष्ट्रिय पारीमा ५७, ३२ र ५० रनको इनिङ खेलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.