|

जाजरकोट : अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने, तर काम नगर्दा जाजरकोटको विद्य्युतीकरणमा समस्या निम्तिएको छ।

जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्तिहरूसम्म ठेक्का लिन संलग्न हुँदा नेपाल विद्युत प्राधिकरणलाई लक्ष्य भेट्न मुस्किल परेको हो। प्राधिकरणले छिटो लाइन विस्तार निम्ति पोल गाड्ने काम गर्न आग्रह गर्दा ठेकेदारले सुनेर पनि नसुने झैँ गरी बसेको हो।

जिल्लाको सातै वटा स्थानीय तहमा दुई वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएर थालिएको काम ठेकेदारले नगर्दा ठूला योजनाहरू अलपत्र परेको छ।

ठेक्का सम्झौता भएको ६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने भनिएपनि दुई वर्ष सकिँदासम्म पनि काम नहुँदा ताकेता गरिरहनुपरेको र आफूहरू हैरान भइसकेको प्राधिकरणका अधिकारीहरू बताउँछन्‌।

ठेकेदारले अहिलेसम्म गरेको काम पनि मापदण्ड विपरीत भइरहेको पाइएको कार्यालयले जनाएको छ। सामान्य कामहरू समेत मापदण्डभित्र नरहेको प्राधिकरणको गुनासो छ।

ठेकेदारको यस्तो पाराले जाजरकोटी जनताहरूको घर दैलोमा विद्युत छिटोभन्दा छिटो पुर्‍याउने लक्ष्य निर्माण व्यवसायीका कारण दिनदिनै पछि धकेलिँदै गएको छ। 

पश्चिम जाजरकोटको शिवालय र जुनीचाँदे गाउँपालिकामा विद्युत पुर्‍याउने उद्देश्यले २०७५/७६ मा खोलिएको ठेक्काको काम निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले अहिलेसम्म नगर्दा समस्या भएको छ। मनघाटदेखि सुवानाउलीसम्म पोल र तार तान्ने कामको ठेक्का उनले लिएका थिए।

ठेक्का पाएको ६ महिनाभित्र काम पूरा गर्ने भनिएपनि दुई वर्षसम्म आधा काम पनि सकिएको छैन। विद्युत प्राधिकरणले धरौटी जफतको लागि बैंकलाई चिट्ठी लेखिसकेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताए।

बस्नेतलाई सामग्री दिँदा पनि काम नगर्दा पश्चिमको जाजरकोटमा विद्युतीकरण गर्ने कार्य अलपत्र पर्दै आएको छ। सामग्री लिएको तीन महिनाभित्र काम पूरा गर्नुपर्ने व्यवस्था रहेको प्रमुख लामिछाने बताए। लामिछानेले भने, 'काम गर्छु भन्नुहुन्छ, तर काम नै गर्नुहुन्न, छेडागाड नगरपालिकाको थलहबजारसम्म पोल गाडेको छ, तर त्योभन्दा माथि काम नगरेर बीचमै अलपत्र परेको अवस्था छ।' बस्नेतसँग सम्पर्क गर्न खोज्दा फोन रहेका कारण प्रतिक्रिया लिन सकिएन।

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाह (शाहीबाबा कन्स्ट्रक्सनका सञ्चालक) ले ठेक्का लिएर काम नगर्दा पूर्वी जाजरकोटका बारेकोट र कुशे गाउँपालिकामा अहिलेसम्म बिजुली पुर्‍याउन सकिएको छैन। उनले कुशे गाउँपालिकाको पाँचकाटियादेखि कुशेसम्म जाने लाइन र नलगाड नगरपालिकाको कालिमटीदेखि बारेकोट जाने लाइन निर्माणको ठेक्का लिएका छन्‌।

​आर्थिक वर्ष २०७५/७६ लिएको उक्त ठेक्का सम्झौतामा ६ महिनाभित्र काम पूरा गर्ने भनिएको थियो। काम गर्ने भन्दै ८०० भन्दा बढी पोल समेत बुझिसकेका शाहले काम बीचमै छोड्दा सबै लथालिङ्ग भएको प्राधिकरणले जानकारी दिएको छ। 

शाहले लिएका पोलहरू नलगाड नगरपालिकाको रघुनाथ लगायतका ठाउँमा सडकको माटो मुनि, खोल्सा मुनि र पहिरोले पुरिएको अवस्था रहेका छन्। काम गर्न पटक-पटक ताकेता गर्दा पनि अटेर गरिएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए। 

पूर्वी क्षेत्रको अनुगमणमा जाँदा लथालिङ्ग अवस्थामा रहेका पोलहरू देखाउँदै सदस्य सिंहले भने, 'लाजलाई पनि लाज लागिसक्यो, तर हाम्रा जनप्रतिनिधिले लिएको ठेक्का समेत पूरा गर्नुहुन्न। काम नगर्नेले किन भए नभएको ठेक्का लिनु? यसरी कहाँ विकास निर्माणका काम गर्न सकिन्छ। यो त सरासर हामीलाई फेल गराउने काम भयो।'

शाहले लिएको ठेक्काको काम नहुँदा बारेकोट र कुशे गाउँपालिकामा विद्युतीकरणको काम ठप्प भएको छ। यो काम समयमा भएको भए अहिलेसम्म विद्युत गाउँगाउँमा पुगी झिलिमिली भइसक्ने अवस्था रहेको जाजरकोट वितरण केन्द्रले बताएको छ। सामग्री दिएर पनि काम नगर्दा निर्माण व्यवसायी साथीहरूले दु:ख दिएको प्राधिकरणको भनाइ छ। काम अलपत्र पारेको बारे बुझ्न खोज्दा शाहसँग सम्पर्क हुन पुगेन।

त्यस्तै, प्रदेशले गरेको ठेक्काको काम समेत प्रभावकारी नभएको पाइएको छ। त्रिपुरेश्वरी जय दुर्गे जेभीले लिएको ठेक्काको काम कत्तै नभएको प्राधिकरणले जानकारी दिएको छ।

मटेलादेखि भेर्‍याए जोड्ने लाइन काफलचौरसम्म लिएर बाँकी काम लथालिङ्ग बनाइएको छ। जाजरकोट –डोल्पा सडक खण्डको कालेगाउँ रिम्नासम्म जोड्ने लाइन विस्तारको काम अलपत्र बनाएको छ। कालेगाउँदेखि बहुनथाना पाँचकाटिया जोड्ने काम समेत बीचमै छोडिएको छ। यो पनि आर्थिक वर्ष २०७५/७६ कै ठेक्का रहेको जाजरकोट वितरण केन्द्रले जनाएको छ। निर्माण व्यवसायीलाई काम गर्न ताकेता गर्दा पनि सम्पर्कमै नआएको बताएको छ। ​

नलगाड नगरपालिकाको चिसापानीदेखि प्रशासकीय केन्द्र दल्लीसम्मको काम पूरा भएको छ। त्यहाँ मिटर जोड्न बित्तिकै विद्युत बल्ने अवस्था रहेको विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ।

आव २०७५/७६ मै ठेक्का लिएको रमन कन्स्ट्रक्सनले दल्लीदेखि चौखासम्मको काम समेत अहिलेसम्म पूरा हुन सकेको छैन। पोल गाडेपनि तार तान्ने काम नभएकोले सो काम तुरुन्तै गर्न ताकेता गरिएको छ। सामग्री नहुँदा रोकिएको काम सामग्री दिएलगत्तै शुरू गर्न लागेको कार्यालयले जनाएको छ।

चौखादेखि तल्लुसम्म पोल दिएर गाड्ने काम शुरू भएको छ। दुबै काम सँगै भइरहेको छ। आर्थिक वर्ष २०७६/७७ को नयाँ ठेक्का न्यू विके निर्माण सेवाले लिएको हो।

जिल्लामा निर्माण कार्य गर्ने भनिएको चारवटा सवस्टेशनको काम चलिरहेको छ। नलगाड नगरपालिकाको चौखामा ठेक्का लागेर काम शुरू गर्न लागिएको छ। दुई वर्षभित्र सक्ने भन्दै सो ठेक्का गरिएको हो।

त्यस्तै, बडावन र समाइलामा निर्माण हुन लागेको सवस्टेशनको काम अहिले अध्ययन कार्य जारी रहेको छ। अध्ययन कार्य सकिए लगत्तै चार महिनाभित्र ठेक्का खोल्ने तयारी रहेको छ।

क्षेत्रीय कार्यालयले चौखामा ठेक्का गरेको र केन्द्रीय कार्यालयले वडावन र समाइलामा ठेक्का गर्ने छ। गुदुमा सव स्टेशन निर्माण कार्य पूरा भइ जाजरकोट र रुकुम पश्चिमका केही भोगमा बत्ती बलिरहेको छ।

जिल्लामा अहिले तत्काल ११ केभी प्रसारणलाइनमा विद्युत प्रवाह भइरहेको छ। भेरी नगरपालिका, छेडागाड नगरपालिका अधिकांश ठाउँमा केन्द्रीय लाइन ( ११ केभी) विस्तार भइसकेको छ।

अन्य पालिकामा विद्युत लाइन विस्तारका लागि गरिएका ठेक्काको काम निर्माण व्यवसायीले नगर्दा काम समयमै हुन नसकेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.