|

म्याग्दी : विगतका वर्षहरूमा साउने सोमबारका दिन म्याग्दीको गलेश्वर मन्दिरमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्दथ्यो।

बेनीकै बेनी शिवालयलगायत जिल्लाका विभिन्न ठाउँहरूमा रहेका देवालयहरूमा पूजा गर्ने र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको ठेलाठेल हुन्थ्यो। तर, यसपालि भने त्यस्तो देखिएन।

असारको पहिलो सातादेखि कम हुँदै गएको कोरोना संक्रमण साउन शुरू भएदेखि पुनः बढ्न थाल्नु, किसानहरूलाई रोपाइँको चटारो हुनु, यातायातका साधनहरू पनि राम्रोसँग सञ्‍चालन हुन नसक्नु र निषेधाज्ञा कायमै रहनुजस्ता कारणले गर्दा देवालय वा शक्तिपीठहरूमा भक्तजनको उपस्थिति नदेखिएको हो।

म्याग्दीको बेनी, गलेश्वर लगायत ग्रामिण क्षेत्रका कुनै पनि शिवालय र शक्तिपीठहरूमा भक्तजनहरू देखिएका छैनन्। दिनभर पूजाआजाका लागि भक्तजनको भीडभाड हुने यहाँका शिवालय र शक्तिपीठहरू अहिले सुनसानजस्तै छन्। मन्दिरहरूमा पुजारी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीबाहेक अरू व्यक्तिहरूको उपस्थिति न्यून रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए।

सोमबारकै दिन म्याग्दीका ग्रामिण भेग र पर्वत, बागलुङ तथा पोखराबाट समेत गाडी लिएर र बसमा चढेर पूजाआजाका लागि गलेश्वरमा आउने भक्तजनहरूका कारण यहाँका मन्दिरलगायत नजिकका पर्यटकीय क्षेत्रहरू भरिभराउ हुन्थे।

बजारको व्यापार र होटल तथा यातायात व्यवसाय पनि चलायमान हुन्थ्यो। महिलाहरू हातभर हरिया चुरा तथा उस्तै रङका पहिरनमा सजिएर बजारमा डुल्ने गर्दथे।

बजारमा हरिया चुरा र पूजा सामाग्रीको अत्यधिक व्यापार हुन्थ्यो। तर, गत वर्ष र यस वर्षको दोस्रो सोमबारसम्म बजारमा पनि त्यस्तो कुनै रौनक नदेखिएको स्थानीय व्यवसायी पार्वती घिमिरेले बताइन्।

कोरोना महामारीले शैक्षिक, आर्थिक, सामाजिक विकास लगायतका अन्य धेरै क्षेत्रमा झैं धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि गम्भीर असर पारेको बेनी शिवालय क्षेत्र विकास समितिका सुन्दरकुमार केसीले बताए।

‘मन्दिर तथा शक्तिपीठहरू प्रचार प्रसारले मात्रै नभएर भक्तजनहरूको उपस्थितिले सञ्‍चालन हुने हुन्। जति धेरै मानिसहरूले मन्दिरमा पूजाआजा र दर्शन गर्छन्, त्यति नै बढी मन्दिर तथा देवालयहरूको महत्व बढ्दै जान्छ। तर, विगत पोहोर साल र यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरू पनि सुनसान बने।’

विगतका वर्षहरूमा साउनका सोमबार पाँच हजारभन्दा बढी भक्तजनहरूको भीड लाग्ने पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित गलेश्वर धाममा अघिल्लो वर्ष र यस वर्षको दोस्रो सोमबारसम्म बेनी र नजिकका गाउँहरूबाट आएका भक्तजनहरूले मात्र दर्शन र पूजाआजा गरेर फर्किएका कार्यालय सचिव बानियाँले जानकारी दिए।

साउनका सोमबार मात्रै होइन, अरू दिन पनि दर्शन र पूजाआजाका लागि गलेश्वरमा दैनिक १०० देखि ५०० सम्म भक्तजनहरू आउने गर्दथे। तर, यसवर्ष भने अत्यन्त न्यून संख्यामा मात्र पूजाआजाका लागि आएका उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.