७४ लाख डोज खोप सुनिश्चित, तर स्थानीय तहहरूको ढिलाइले अभियान अन्योल

|

काठमाडौं : कोरोनाविरुद्ध खोप अभियान चलिरहेको छ। सरकारले गत गत माघ १४ गतेबाट अभियान सुरु गरेको थियो। त्यसपछि खोपको उपलब्धता र  प्राथमिकताका आधारमा खोप दिइरहेको छ। 

हाल प्राथमिकतामा परेका र ५० वर्ष उमेर समूहभन्दा माथिकालाई खोप सुनिश्चित भइसकेको र अब छिट्टै ५० वर्ष मुनिकालाई लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिएका छन्। 

खोप आइरहेकाले एक हप्ताभित्रै पुनः पहिलो डोजको खोप अभियान पनि चलाइने उनले बताए। भने, 'अब छिट्टै ५० वर्ष मुनिकालाई चरणबद्ध रुपमा खोप अभियान सुरु गरिने छ।'

पछिल्लो समय सबै ठाउँमा खोप पुगिसकेको अवस्था छ। तर स्थानीय तहहरूले खोप अभियान सुरु नगर्दा खोप लगाइसकिएकालाई दोस्रो चरणको खोप सुरु नहुँदा अन्योलमा छन्। 

खोप लगाउन अब अनलाइन फारम भर्नुपर्ने

खोप लगाउने ठाउँमा धेरै भीडभाड हुने र त्यहीँबाट संक्रमण फैलने खतरा भएकाले अबदेखि खोप लगाउन अनलाइन फारम भर्नुपर्ने डा अधिकारीले बताए। 

यसका लागि मन्त्रालयले सबै ठाउँमा पत्रसमेत पठाइसकेको छ। उनका अनुसार अब ५० वर्ष वा सोभन्दा मुनि र १८ वर्ष माथिकाले कोभिडविरुद्ध खोप लगाउन अनलाइन दर्ता नम्बर ल्याउनुपर्दछ। सोभन्दा माथि उमेरकाले पनि फारम भर्न अनिवार्य छ।

विदेश जानेलाई काठमाडौंमा खोप अभियान जारी

विभिन्न प्राथमिकता निर्धारण गरी काठमाडौँमा यसअघि कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसनको खोप दिइसकिएको छ। अब काठमाडाैंमा पुनः भेरोसेलको मात्रा दिइने सम्भावना छ।  स्वास्थ्य कार्यालय काठमाडौँले भोलि मंगलबारबाट भेरोसेल खोपको पहिलो डोज लगाउने तयारी गरेको छ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्री बहादुर खड्का अनुसार अहिले थापाथली प्रसूति गृहमा वकिल र नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा विदेश जानेहरूलाई खोप लगाइएको बताए। उनका अनुसार अब सर्वसाधारणका लागि भने खोप प्राप्त हुने बित्तिकै सुरु गरिनेछ।

७४ लाख डोज खोप सुनिश्चित

गत माघ ८ गते भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। त्यसपछि माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु गरिएको थियो। हाल सम्म ७७ जिल्लाका १४ लाख ३० हजार ४ सय १६ जनाले कोभिड १९ विरुद्धको खोपको पूर्ण डोज लगाइसकेका मन्त्रालयको तथ्यांक छ। 

३४ लाख ५ हजार १ सय ५४ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लिएका छन्।

हालसम्म तीन देशबाट ६५ लाख ८२ हजार ५८० डोज खोप उपलब्ध भएको छ भने ७४ लाख डोज खोप सुनिश्चितता भएको छ। उपलब्ध भएका खोपमध्ये १८ लाख मात्रै नेपालले खरिद गरेको हो। बाँकी सबै सहयोगमार्फत जुटेका हुन्।

मन्त्रालयका अनुसार चीनबाट २६ लाख, भारत २४ लाख ४८ हजार र अमेरिकाबाट १५ लाख ३४ हजार ५८० गरी जम्मा ६५ लाख ८२ हजार ५८० डोज प्राप्त भएको छ। यसमध्ये अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप भने एक मात्रा लगाए पुग्ने खालको हो।

त्यस्तै ५८ लाख डोज खोपको भने सुनिश्चितता छ। मन्त्रालयका अनुसार भारतसँग खरिद गरेकामध्ये १० लाख कोभिसिल्ड, जापान सरकारले कोभ्याक्समार्फत दिने अस्ट्राजेनेकाको खोप १६ लाख, चीन सरकारको अनुदान १६ लाख र चीनसँग गरिएको खरिदमध्येबाट आउने ३२ लाख गरी जम्मा ७४ लाख डोज सुनिश्चितता भएको छ।

कोभ्याक्स सुविधामार्फत ४० लाख मोडर्ना र ४० लाख फाइजरको खोप खरिदका लागि प्रक्रिया प्रस्ताव राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.