|

विराटनगर : असार १९ मा मोरङको बेलबारी नगरपालिका-७,दैलपुरका ५४ वर्षीय अम्बिका घिमिरेले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो।

श्रीमतीको ‘किचकिच’ सहन नसकेपछि घिमिरेले ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको बताए। उनले मदिराको नशामा लट्ठिएर श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट थाहा लाग्यो।

पक्राउ परेका घिमिरेले अहिले इप्रका बेलबारीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ।

श्रीमानले श्रीमतीको हत्या गरेको घटना घटेको एक साता बित्न नपाउँदै प्रदेश विराटनगरमा पारिवारिक विवादलाई लिएर राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार (सूचक) ४२ वर्षीय भोला सिंहको असार २५ गते हत्या भयो। उनको विराटनगर-५, पृथ्वीचोकस्थित घरमा आफ्नै भाइले हत्या गरेका थिए।

हत्या आरोपमा मोरङ प्रहरीले भोलाको भाइ ३१ वर्षीय साजन सिंहलाई पक्राउ गर्‍यो। राष्ट्रिय अनुसन्धानका सूचक सिंहको हत्या आफ्नै भाइले धारिलो हतियार प्रयोग गरेको मोरङ प्रहरीको अनुसन्धानदेखि खुलेको थियो। पक्राउ परेका साजनलाई प्रहरीले मोरङ अदालतमा ‘कर्तव्य ज्यान’ मुद्दामा म्याद थप गरी अहिले अनुसन्धान गर्दै आएको छ।

गत जेठ ४ गते राती रंगेली नगरपालिका-३ की २४ वर्षीया अनिता यादवको हत्या उनकै १९ वर्षीय देवर विनोद यादवले गरे। सामान्य घर झगडाको विषयलाई लिएर विनोदले आफ्नै भाउजूको विभत्स तरिकाले हत्या गरेका थिए।

माथि उल्लेख घटना प्रतिनिधि मात्रै हुन्‌। पछिल्लो समय सामान्य विवादमा भित्रका सदस्यमा विभिन्न आपराधिक घटना सार्वजानिक हुँदै आएको छ। सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मृत्युको सिकार बन्ने घटना बढ्दै गएको हो।

पारिवारिक छलफलबाट शुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या पनि लगातार प्रदेश १ मा बढिरहेका छन्।

प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्यांक हेर्दा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा असुरक्षा परिवारबाट नै भइरहेको देखाउँछ।

१४ जिल्ला रहेको प्रदेश १ मा आर्थिक वर्षमा ७ हजार ३८४ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएकामध्ये आर्थिक वर्ष ०७७/०७८ मा १४३ वटा कर्तव्य ज्यान मुद्दाको घटनामा पारिवारिक हत्याका मात्रै ५५ वटा घटना भएका छन्।

एक वर्षमा ५५ वटा हत्या घटनामा ५६ जना मारिएका १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

आर्थिक वर्षमा भएका घटनामा ज्यान गुमाउने अधिकांश महिला छन्। पारिवारिक विवादमा ४६ महिला मारिएका राईले बताए। ‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्‌’, प्रवक्ता राईले भने। सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन्।

झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच/पाँच, इलाम र उदयपुरमा चार/चार, खोटाङमा तीन, ओखलढुंगा, तेह्रथुममा, धनकुटा, पाँचथर र संखुवासभामा दुई/दुई तथा भोजपुरमा एउटा हत्याका घटना भएको प्रदेश प्रहरीले जनाएको छ।

परिवारभित्रै असुरक्षित

१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरूणकुमार बिसीले बढ्दो पारिवारिक हत्याका घटनाले परिवारभित्रै असुरक्षित महसुस गराएको बताए।

डीआईजी बिसीले बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैत्रिक धनसम्पत्तिको बाँडफाँट, मानसिक समस्या र सबैलाई चिन्तित तुल्याएको बताए।

‘कोरोना महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिएर बस्नुपर्ने लगायतका कारण सुषुप्त रूपमा रहेका कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा यस्ता घटना हुने गरेको पाइन्छ,’ डिआइजी बिसीले भने, ‘जसले बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, श्रीमान् र श्रीमतीबीच नै जघन्य अपराध निम्तिइरहेको थुप्रै उदाहरण छन्।’

परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनिकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी गराए।

‘पछिल्लो समय बढ्दै गरेको अपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि अभियान संचालन गर्ने तयारी गरिएको छ,’ डिआइजी बिसीले भने, ‘कोभिड १९ सहज भएपछि अभियान संचालन गर्ने तयारी गरिएको छ।’

स्केटक होल्डर र सामुदायिक प्रहरी साझेदारी मार्फत कार्यक्रम संचालन गर्ने डिआइजी बिसीले जानकारी दिए।

अपराधको मुख्य कारण सामाजिक र आर्थिक

पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको सामाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाईंले बताए।

सामाजिक र आर्थिक कारणले अहिले परिवार भित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ। ‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्,’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोच सबैमा हावी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ।’

पैसा र सम्पत्तिका लागि जे पनि गर्ने र गलत बाटो अंगिकार गर्ने चलन बढ्दा पुरानो चलन तथा संस्कारको परिपाटीमा ‘ब्रेकडाउन’ भएर परिवार र समाज विघटनतर्फ उन्मुख भइरहनु दुःखद् भएको प्रसाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.