|

ओखलढुंगा : जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगालाई अत्यावश्यक भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको एक महिना बितिसक्दा पनि अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड जडान नभएको हो।

स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटरसहित पाँचवटा आईसीयू बेड जडान गर्न एक महिनाअघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो। तर, भेन्टिलेटर र आईसीयू बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत अघि बढाइएको छैन।

जिल्ला अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड जडान नगर्दा सरोकारवालाहरूले शंका-उपशंका उब्जिएको बताउन थालेका छन्। मन्त्रालयले भेन्टिलेटर र आईसीयू बेड जडानका लागि ओखलढुंगा सामुदायिक अस्पताललाई प्रकृया थाल्न भनेपनि राजनैतिक स्वार्थमा जोडिएर जिल्लाका नेताहरूले तँछाडमछाड गर्दै मन्त्रालयको निर्णय बदर हुनु र भेन्टिलेटर र आईसीयू बेड जडानमा ढिलाई हुन रहस्यमय रहेका जिल्लावासीहरूले बताइरहेका छन्‌। 

कोरोना महामारीलाई लक्षित गरेर भेन्टिलेटर र आईसीयू बेड तत्काल खरिद गर्नुपर्ने भए पनि अन्योलका कारण ढिलाई भएको जिल्ला अस्पताल रुम्जाटारका सूचना अधिकारी उमा गुरुङले बताइन्। मन्त्रालयले अस्पताललाई बजेट नपठाएका कारण खरिद प्रक्रिया अगाडि नबढेको गुरुङको भनाइ छ।

बजेट अन्योलका कारण हालसम्म खरिद प्रक्रिया अगाडि नबढेको भएपनि आजभोलि नै त्यसको निकास निस्कने सूचना अधिकारी गुरुङको दाबी छ। भेन्टिलेटर र आईसीयू कोरोनालाई मात्रै नभएर अन्य विरामीलाई समेत प्रयोग गर्न सकिने उनले बताइन्।

अस्पतालले भेन्टिलेटर र आईसीयू बेड खरिदको काम भदौसम्ममा गर्नका लागि मन्त्रालयबाट आदेश आएको जनाएको छ। मन्त्रालयले तत्काल भेन्टिलेटर जडान गर्न दिएको निर्देशनपछि ओखलढुंगामा कोरोनाबाट १० जनाको मृत्यु भइसकेको छ। जिल्लामै भेन्टिलेटर भएको भए कोरोनाबाट आफ्नी आमालाई बचाउन सकिने अवस्था रहेको सिद्धिचरण नगरपालिका-११ का चित्र श्रेष्ठले गुनासो सुनाए।

अहिले महामारीको बेलामा पनि भेन्टिलेटर नराखेर कहिले राख्ने भन्ने प्रश्न नागरिक तहमै उठ्न थालेको छ। यतिबेला जिल्लाका आधा दर्जनभन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।

भेन्टिलेटर नहुँदा पीडितहरू महँगो शुल्कमा हेलिकोप्टर चार्टर गरेर राजधानी लगायतका ठाउँमा उपचारका लागि जान बाध्य रहेका छन्। जिल्लामै भेन्टिलेटर हुँदा विरामीहरूको मनोबलसमेत बढ्ने तर्क चिकित्सकहरूको छ।

भेन्टिलेटर र आईसीयू बेड खरिद गरिए पनि पूर्वाधार नहुँदा तत्काल सञ्चालन गर्न समस्या हुने जिल्ला अस्पतालका सूचना अधिकारी गुरुङले बताइन्‌। भेन्टिलेटरका लागि उपयुक्त कोठाहरू हुनुपर्ने, प्रेसर मिलाउनुपर्ने रहेछ तर जिल्ला अस्पतालमा केही नभएको उनको गुनासो छ।

भेन्टिलेटर र आईसीयू बेडका लागि मन्त्रालयले गरेको परिपत्र राखेर जिल्लाका नेताहरूले जस लिन यसअघि तँछाडमछाड गरेका थिए। ओखलढुंगा सामुदायिक अस्पतालमा जडान गर्न दिइएको निर्देशन रातारात परिवर्तन गरेर जिल्ला अस्पताल रुम्जाटार बनाइएको थियो।

तर, अहिले रहस्यमय ढंगले भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ हुँदा यहाँका नेताहरू तैँ चुप मै चुपको अवस्थामा छन्‌। यो विषयलाई चासोका साथ लिनेहरू ढिलाइ हुनुमा आर्थिक चलखेल हुन सक्ने आशंका गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.