|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

सोमबार प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भएपनि सबै नेपालीलाई खोप उपलब्ध गराइने दोहोर्‍याए।

उनले आइतबार एडिबी र विश्वबैंकसँग ऋण लिनका लागि हस्ताक्षर गरेको पनि उनले जानकारी दिए। ‘अहिलेको पहिलो प्राथमिकता भनेको सबै जनमानसलाई खोप लगाउने हो। ६० प्रतिशत जनमानसलाई खोप लगाउन सकियो भने राम्रो हुन्छ भनेर खोप ल्याउन हिजो एडिबी र विश्वबैंकबाट केही ऋण लिन साइन गरेको छु। त्यसको अलावा हामीले किनेर, अनुदानमा ल्याउँ, चाँडोभन्दा चाँडो खोप ल्याएर खोपको व्यवस्थापन गर्न जरुरी छ।’

राज्यमन्त्री श्रेष्ठले कुन–कुन ठाउँबाट खोप दिइँदैछ भन्ने सम्बन्धमा मन्त्रालयमा कल सेन्टर स्थापना गर्न निर्देशन दिइसकेको पनि बताए। कोभिड विरुद्धको खोप लगाएको प्रमाणित गर्न धेरै भीड भएको भन्दै उनले सबै जिल्लाहरुबाट प्रमाणित गर्न सकिने गरी व्यवस्था मिलाउने पनि बताए।

त्यसैगरी फ्रन्टलाइनमा काम गर्ने सवारी चालक, सहचालक देखि शिक्षकहरुलाई खोपको उपलब्धता गराउने पनि उनले बताए। ‘कुन–कुन ठाउँमा खोप दिइँदैछ भनेर जानकारी दिन कल सेन्टर राख्न मन्त्रालयलाई भनिसकेको उनले सुनाए।

उनले सबै प्रदेशमा कोभिड १९ सम्बन्धी हेर्नेगरी प्रदेशस्तरिय अस्पताल बनाउन आवश्यक रहेको पनि उनले बताए। बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चैत महिना सम्ममा दुई करोड १५ लाखलाई खोप उपलब्ध गराउने लक्ष्यकासाथ काम गरिरहेको बताए।

‘असोजभित्रमा लक्षित समूहका ३३ प्रतिशतलाई खोप दिने र चैतसम्ममा खोप उपलब्ध भएमा सबैलाई खोप उपलब्ध गराउन सकिन्छ भन्ने रोडम्यापको आधारमा काम गरेका छौँ’ उनले भने।

स्वास्थ्य आपतकालीन केन्द्रका संयोजक डा. गुणराज लोहनीले हालसम्म कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा ३४ लाख पाँच हजार एक सय ५४ जनालाई लगाइएको र १४ लाख ३० हजार चार सय १६ जनालाई दुवै मात्रा खोप लगाइएको जानकारी दिए।

उनले वैदेशिक अनुदानमा चीन सरकारबाट १८ लाख र भारत सरकारबाट ११ लाख मात्रा खोप आएको तथा हालसम्म ५० लाख मात्रा खरिद गरिएको जानकारी दिए। भारतबाट १० लाख मात्रा कोभिशिल्ड र चीनबाट ३२ लाख मात्रा भेरोसेल खोप किनिएको पनि उनले बताए।

आउन बाँकी आठ लाख खोप शुक्रबार नेपाल आइपुग्ने पनि उनले जानकारी दिए। उनले असोज मसान्तभित्र थप १ करोड पाँच लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधा अन्तर्गत, वैदेशिक अनुदान र खरिदमार्फत् नेपाल आउने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.