|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिञ्‍चाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी छन्।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारीसमेत दिइन्। मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारे पनि निर्णय भने भइनसकेको स्पष्ट पारिन्।

'यो मेरो निर्णय नभई अवधारणा हो।' उनले भनिन्, 'निर्णय गरेपछि यहाँहरुलाई फेरि बोलाउनेछु।'

मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेको सुनाइन्। आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत् महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाइ थियो।

मन्त्री भुसालले विद्युत् उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने बताइन्। त्यसैगरी उनले ट्रान्समिसन लाइन निर्माणको काममा तीव्रता दिने पनि बताइन्। मन्त्री भुसालले कृषियोग्य सबै जमिनमा सिञ्‍चाइको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन्। मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषियोग्य जमिनमा सिञ्‍चाइको व्यवस्था गर्नुको विकल्प नरहेको पनि उनले बताइन्।

मन्त्री भुसालले संविधानमा नै मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायत आधारभूत वस्तुको सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने सोच बनाएको स्पष्ट पारिन्।

मन्त्री भुसालले जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जा लगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारीसमेत दिइन्। जलविद्युत् आयोजनाहरू जग्गाको मुआब्जाका कारण अघि बढ्न नसकेको अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.