|

काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन्।

‘कुनै पनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिईँदैन। यो सम्भावना शून्य छ। बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन। हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन,’ उनले भने।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा महासेठले यस्तो बताएका हुन्। अहिले माधव नेपाललाई अध्यक्ष दिने गरी पावर सेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा भए पनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन्। उनले भने, ‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन। अर्को अध्यक्ष वा सहअध्यक्ष दिन पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ। माधव नेपाललाई केपी ओलीसरह अध्यक्ष दिन सकिँदैन। यो असम्भव कुरा हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माधव नेपाललाई आम कार्यकर्तालेजस्तो मिडिया फेस गर्नुभन्दा पनि लो–प्रोफाइलमा बस्न सुझाव दिए। उनले भने, ‘एमालेमा मैले सबैभन्दा बढी सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो। अहिले पनि गर्छु। एकताका लागि गम्भीर बन्नुहोस्। एकताको विकल्प छैन।’

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो/चाँडो एकता भइछाड्ने पनि दाबी गरे। उनले नेकपा (एमाले) बनाउन माधव नेपालको ठूलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्न पनि आग्रह गरे। उनले भने, ‘एमाले बनाउन तपाईंको ठूलो भूमिका छ। अब अर्काको घरमा पेन्ट गर्न नजानुहोस्। आफ्नै घरलाई बलियो बनाउनतर्फ लाग्नुहोस्।’ उनले अहिले देशी तथा विदेशी र प्रतिक्रियावादी शक्तिहरु एमालेको एकता नहोस भनेर हात धोएर लागिपरेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ताहरु सचेत हुनुपर्ने धारणा राखे। 

उनले एमालेमा फर्किँदा कतै नेता तथा कार्यकर्ताले अपमान गर्छन् कि भन्ने चिन्ता नलिन पनि आग्रह गरेका छन्। उनले भने,‘तपाईंहरुलाई पार्टीमा हामी उत्तिकै सम्मान गर्छौं। यसमा कुनै द्बिविधा नहोस्।’ उनले एमाले कुनैपनि हालतमा विभाजन नहुने जिकिर गरे। उनले भने, ‘नेपाली जनता, एमालेका समर्थक, शुभेच्छुक, कार्यकर्ता कसैले पनि एमाले विभाजन होस भन्ने चाहँदैनन्। यसप्रति सबै सचेत हुनुपर्छ।’

अहिले एमालेको तल्ला तहदेखि माथिल्लो तहसम्मले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताको लागि दबाब दिएको पनि स्मरण गराए। नेता महासेठले अहिले पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै जना आन्तरिक छलफलमा रहेको पनि सुनाए।

उनले पार्टीभित्र अहिलेको परिस्थिति सिर्जनामा हुनुमा २०७७ पुस ५ गतेतर्फ फर्कनुपर्ने सुनाए। उनले भने, ‘जतिबेला हामी पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका थियौं, यतिबेला केही सांसदहरु संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपतिकहाँ जानुभएको थियो, जुन कुरा बैठकमा थाहा भयो, त्यसबारे पनि व्यापक छलफल भएको थियो। साथीहरुले तत्कालिन प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव हाल्नेगरी संसद्को विशेष अधिवेशन बोलाउन माग गर्नुभयो, त्यही कारणले संसद् भंग भएको हो। यो तीतो यर्थाथ हो। अहिले बाग्मतीमा धेरै पानी बगिसेकेको छ।’

देशी/विदेशी शक्तिहरुले पार्टी विभाजन गर्न चाहेको र पार्टीका बहुसंख्यक नेता तथा कार्यकर्ताहरु फुटको विरोधमा उभिएकै परिस्थितिमा दोस्रो पटक संसद् विघटन भएको उनले श्रृंखला सुनाए। 

नेता महासेठले एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् बचाउन आफूहरुले यो कदम उठाएको भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएकोबारे टिप्पणी गर्नुमा पनि कुनै सत्यता नभएको दाबी गरे।

उनले भने, ‘यदि यो कुरामा सत्यता भएको भए एमालेको सांसदले आफ्नै पार्टीको सरकारलाई विश्वासको मत दिइहाल्थे नि। माधव नेपाल एमालेको सांसद हुनुहुन्छ। तर, उहाँको गतिविधि भने अरुले एमाले फुटाउन चाहेकोमा सहयोग पुर्‍याउने खालको देखियो। जुन अत्यन्तै विडम्बनापूर्ण छ। एमालेको सांसदले त एमालेको सरकारलाई विश्वासको मत दिनुपर्दथ्यो नि। तर, उहाँहरुले संसद् बचाउनको लागि अदालत गयौं भन्नुभयो। यसमा कुनै सत्यता छैन। यो संसदीय राजनीतिक अभ्यासमा एउटा फोहोरी खेलबाहेक केही पनि होइन।’ 

उनले एमाले एकताको विकल्प नभएको भन्दै यसको लागि सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे। उनले माधव नेपाल पक्षको एक्सन नेपाली जनता र पार्टी पंक्तिले बाचा गरेको पनि सुनाए।

पार्टी एकताको प्रयास भइरहेको बेला एकले अर्को समूहमाथि गालीगलौज गर्ने र शक्ति प्रदर्शन गर्ने काम गर्दा बनिरहेको वातावरण र विश्वासमा संकट पैदा हुने भन्दै त्यसतर्फ सबै सचेत र गम्भीर बन्नुपर्ने पनि तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.