|

काठमाडौं : साउन महिना भित्र ३ वटा कम्पनीको साधारण शेयर (आईपीओ) खुल्ने भएको छ।  

मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ र मानुषी लघुवित्तको आईपीओ यही महिना निष्काशन खुल्ला हुने  भएको हो। 

मैलुङ खोलाको साउन १४ गते, सानिमा लाइफको साउन २० गते र मानुषी लघुवित्तको साउन २७ गते आईपीओ निष्काशन खुला हुने भएको हो।

मैलुङ खोलाको ७ करोड ३६ लाख २८ हजार ६०० रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता, सानिमा लाइफको ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तको ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन हुन लागेको हो। 

मैलुङ खोला जलविद्युत कम्पनीको ७ करोड ३६ लाख रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) साउन १४ गतेदेखि निष्काशन खुला हुने भएको छ। 

आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ। न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।   

सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड रुपियाँ बराबरको  आईपीओ साउन २० गतेदेखि निष्काशन खुला हुने भएको छ। कम्पनीको प्रतिशेयर एक सय रुपियाँ अंकित दरका ६० लाख कित्ता आईपीओ निष्काशन हुन लागेको हो। 

कुल निष्काशन हुने ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको कम्पनीले जनाएको छ। बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त शेयर गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाउने छन्। 

उक्त आइपीओमा साउन २० गतेदेखि छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ।

यसैगरी मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ साउन २७ गतेदेखि निष्काशन खुला हुने भएको छ। कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ। उक्त शेयर गोलाप्रथाबाट ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाउने छन्।  

आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.