|

अमेरिकाले इराकमा रहेका आफ्ना सबै सैनिकलाई आगामी पाँच महिनाभित्र फिर्ता लैजाने भएको छ। 

राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्त्य अर्थात् डिसेम्बरभित्र इराकबाट अमेरिकी सबै सैनिक फिर्ता हुने घोषणा गरेका हुन्। अमेरिकाले अफगानिस्तानबाट समेत सैनिक फिर्ता गरिरहेको छ। 

इराकबाट सैनिक फिर्ता गरेपनि त्यहाँको सुरक्षा बललाई आवश्यक तालिम र परामर्श  निरन्तर दिइने बाइडेनले बताएका छन्।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मूस्तफा अल कदिमीसँग वार्ता भएलगत्तै बाइडेनले यस्तो घोषणा गरेका हुन्। इराकमा अहिले दुई हजार ५०० अमेरिकी सैनिक खटिएका छन्। 

अमेरिकाले बगदाद विमानस्थलमा इरानी जनरल कासिम सुलेमानीको हत्या गरेपछि इराकमा अमेरिकी सैनिक उपस्थितीलाई लिएर दुई छिमेकी देशबीच तनाव बढिरहेको छ। 

अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले सन् २००३ इराकमा हमला गर्दै त्यहाँका राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्यूत गराएका थिए। त्यतिखेर हुसेनले आम संहारक हतियार बनाइरहेको अमेरिकी दाबी थियो। तर, इराकमा त्यस्तो कुनै प्रमाण नभेटिएपछि अमेरिका रक्षात्मक अवस्थामा पुगेको हो। 

सद्दाम हुसेनलाई अमेरिकी समर्थनमा इराकी अदालतले सन् २००६ डिसेम्बर ३० मा मृत्युदण्ड दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.