|

भक्तपुर : बहुप्रचारित योजना राष्ट्रिय प्राणी उद्यान निर्माण सुरु भएको पाँच वर्ष भएको छ। यतिका समयमा यद्यानको न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ न उद्यान सञ्चालनसम्बन्धी ऐन नै। त्यस्तै‚ कर्मचारी दरबन्दी तय नुहँदा उद्यान सञ्चालनमा कति कर्मचारी रहने भन्ने समेत अझै टुंगो लाग्न सकेको छैन।

प्राणी उद्यानको शिलान्यास केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते गरिएको थियो। शिलान्यास भएको पाँच वर्षमा यसको सिमांकन समेत पूरा हुन सकेको छैन। प्राणी उद्यानका लागि राजपत्रमा सूचना प्रकाशन हुँदा चारकिला नखुलाएका कारण हालसम्म यसको सिमांकन टुंगो लाग्न नसकेको उद्यानका निर्देशक लालबाबु भण्डारीले बताए। उद्यानको चारकिला खुलाएर पुनः राजपत्रमा प्रकाशनका लागि पेश गरिए पनि हालसम्म राजपत्रमा प्रकाशन नभएकाले सिमाकंनको काम बाँकी रहेको छ।

उद्यान क्षेत्रभित्र सबैभन्दा विवादास्पद क्षेत्र गुण्डुस्थित मन्थली बस्ती हो। यहाँको बस्ती २०३५ सालदेखि बसेको हो। यहाँ ४८ वटा घर टहरा हटाउनुपर्ने अवस्था छ। ती घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालय, सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुको समन्वयमा नापी कार्यालयले नाप जाँच गरी प्रतिवेदन तयार गरिसकेको र पुनर्निर्माण प्राधिकरणको जिल्ला कार्यान्वयन इकाइका प्राविधिकबाट घर, गोठको भौतिक मूल्यांकन तथा भत्काउन र ढुवानी खर्चको अनुमान विवरण तयार भएको जनाएको छ।

उद्यान क्षेत्रभित्र ८४ वटा घर टहरा र विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ। उद्यान घोषणा हुनु पूर्व विभिन्न कारणले आफ्नो हकभोग कायम नभएको वनको जग्गामा बनाइएका घर, टहरा, छाप्रो, विद्यालय, सार्वजनिक संरचनाहरुमध्ये सिपाडोलको गुञ्जाडोलमा विद्यालय भवन, वन उपभोक्ता समितिको भवन, चारवटा टहरा, घ्याम्पे डाँडामा विद्यालय भवन, पाइलट बाबा आश्रम प्रवेशद्वार अगाडि जस्ताको छानो र भित्ता भएको १७ वटा टहरा, मन्थली गाँउमा ४८ वटा घर, टहरा, कार्की गाँउमा विद्यालय र ११ वटा टहरा रहेका छन्।

प्राणी उद्यानको गुरु योजना तयार भए पनि अझै स्वीकृत भएको छैन। उद्यानले गुरु योजना तयार गरी मन्त्रालय पठाए पनि स्वीकृत भएको छैन,’ निर्देशक भण्डारीले भने। भण्डारीले उद्यानको भावी योजना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव तयारीको कार्य भइरहेको समेत बताए।

स्पष्ट ऐन नीति नियम नभएकाले पनि उद्यानको कार्य तीव्र गतिमा अगाडि बढाउन नसकिएको निर्देशक भण्डारीले बताए। उनले प्राणी उद्यान तथा वन्यजन्तु अस्पताल एवं उद्धार केन्द्र नियमावलीको मस्यौदा तयार गरी विभागमा पठाए पनि त्यो पनि स्वीकृत हुन बाँकी रहेको बताए।

शिलान्यासको पाँच वर्षमा उद्यान सञ्चालनका लागि उद्यान क्षेत्रभित्र रहेको नेपाली सेनाको फायरिङ रेन्ज हटाउने, उद्यानभित्र पाइने वनस्पति तथा मुख्य वन्यजन्तुको सूची तयार गर्ने कार्य भएको भएको छ। त्यसैगरी स्थानीय र जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गरिएको उनले बताए।

निर्देशक भण्डारीले उद्यानको चारकिला नखुलाइएकाले सीमांकन गर्न कठिनाइ भएको, सूर्यविनायक नगरपालिका७ स्थित मन्थली बस्तीको दुई किलोमिटर क्षेत्र मध्ये ०.५ किलोमिटर क्षेत्रमा सीमा स्तम्भ गाड्न र तारबार लगाउन समस्या भएको, युद्ध भैरव गणको तालिम केन्द्र र फाइरिङ गतिविधि बन्द भए पनि तालिमका अन्य गतिविधि बेलाबखत सञ्चालन गर्दा उद्यानको काममा बाधा पर्ने गरेको जानकारी दिए।

निर्देशक भण्डारीले उद्यान सञ्चालनमा बढी जसो कानुनी समस्याहरु देखिएको बताए। उद्यानका लागि भनी खासै काम भएको छैन। नयाँ भएकाले पनि अलि बढी कठिनाइहरु छन्‚ उनले भने, ‘उद्यानका निर्माणमा अहिले कानुनी कठिनाइहरु भएकाले बाढा अड्चनहरु छन्। डकुमेण्टहरु बनाउने काम भैरहेको छ।उनले वन्यजन्तु राख्न विस्तृत योजना बन्दै गरेकाले उद्यानका समस्या समाधान गरी यही कार्तिक मंसिरभित्र निर्माण काम सुरु गर्ने योजना रहेको बताए।

निर्देशक भण्डारीले बजेटको अभावले पनि उद्यानको निर्माण कार्यलाई तीव्रता दिन नसकिएको बताए। उनले भने, ‘बजेटको अभावले पनि सोचे जस्तो काम गर्न सकिएन। चालु आर्थिक वर्ष सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकाले यसको निर्माणलाई तिव्रता दिने योजना बनाइसकेका छौं। आगामी वर्ष उद्यानको सबै कार्य सम्पन्न गर्न नसकेपनि वन्यजन्तुहरु ब्लक ब्लकमा राखेर सर्वसाधारणका लागि खुला गर्ने योजना रहेको उनको भनाइ छ।

उद्यान दुर्लभ एवं संकटापन्न प्रजातिको वासस्थान व्यवस्थापनबाट संख्या बढाउने, वन्यजन्तुको स्वभाव एवं आनीबानीबारे अध्ययन गर्ने गराउने, वन्यजन्तुको उद्धार एवं उपचार गर्ने, जैविक विविधता संरक्षणका लागि संरक्षण शिक्षा प्रदान गर्ने, मानव समुदायलाई मनोरञ्जन आमोद प्रमोद गर्ने र पर्या पर्यटन प्रवर्द्धनमार्फत राष्ट्रिय आयमा बृद्धि गर्ने उद्देश्यले निर्माण सुरु गरिएको हो।

उद्यान क्षेत्रमा ९८ प्रजातिका चरा पाइने एक अध्ययनले देखाएको छ। त्यस्तै‚ १४ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छ। उद्यान क्षेत्रभित्र चितुवा, रतुवा मृग, चरीबाघ, सालक, बँदेल, दुम्सी, ढेडु बाँदर, खरायो, न्याउरीमुसा, निरबिरालो, तथा बाँदर पाइन्छन्। त्यस्तै‚ ६७८ प्रजापतिका वनस्पति पाइने अध्ययनले देखाएको छ। यहाँ रुख १२४, बुट्यान १०२, जडिबुटी ४२४ र लहरा २८ प्रजातिका वनस्पति पाइने सो अध्ययनले देखाएको छ।

उद्यान २०७१ माघ २९ गतेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार भक्तपुरको तत्कालीन गुण्डु, सिपाडोल तथा कटुञ्जे गाविस (हालको सूर्यविनायक नगरपालिका वडा नं. ६, ७ र ८) अन्तर्गत रहेका सामुदायिक वनहरुमध्ये सूर्यविनायक सामुदायिक वनको ४६.२५५ हेक्टर, सेतीदेवी सामुदायिक वनको ४४.५०४ हेक्टर, मन्थली सामुदायिक वनको ६४.८७४ हेक्टर, गौरादेवी सामुदायिक वनको ९.३१६ हेक्टर, बालकुमारी सामुदायिक वनको १४.६७७ हेक्टर, लिखानारायण सामुदायिक वनको ४०.०१४ हेक्टर, संजीवनी सामुदायिक वनको १५.०२१ हेक्टर, तथा नेपाल सरकारद्धारा व्यवस्थित वन क्षेत्रको १०.५०४ हेक्टरसहित कुल २४५.१६५ हेक्टर वन क्षेत्रमा फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.