|

सर्लाही : छिनछिनमा विद्युत् कट्ने समस्याले सर्लाहीबासी आजित भएका छन्।

बिनासूचना झ्याप झ्याप कटने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा सर्लाहीबासी हैरान भएका छन्। चर्को गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बरहथवाका उपभोक्ता मन्दन साहले गुनासो गरे।

अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरूले गुनासो गरेका छन्। अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्ने व्यवसायीहरूको बाध्यता रहेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण जोशी बताउँछन्। 

त्यस्तै अनियमित विद्युत् कटौतीले सर्लाहीमा सञ्चालित एफएम रेडियो र अनलाइन कक्षा पढ्ने विद्यार्थीसमेत मारमा परेका रेडियो दर्शनका स्टेसन म्यानेजर सिंहबहादुर थापाले गुनासो गरे।

यता विद्युत् प्राधिकरणले भने क्षमताभन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत प्रवाहमा बारम्बार समस्या आइरहेको जनाएको छ। रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाइन लालबन्दी बरहथवा र मलंगवा सव–स्टेसन हुँदै सर्लाही जिल्लाभर वितरण भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका इन्जिनियर संयोग विश्वकर्माका अनुसार जिल्लाका तीन वटा सव स्टेसनले ३३ केभीबाट लिएको करेन्ट पाँच सय एम्पियरसम्म पुग्ने गरेको छ। तर सर्लाहीमा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ। यसरी तारको क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने गरेको विश्वकर्माले बताए।

वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिट भएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरूले बताएका छन्। नवलपुरमा निर्माणाधीन सबस्टेसन सञ्चालनमा नआउँदासम्म सर्लाहीमा विद्युतको समस्या रही रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

यता नवलपुर १३२/३३ केभी सवस्टेसन आयोजनाका प्रमुख रन्जन साहका अनुसार आयोजनाको काम असार मसान्तसम्म सम्पन्न हुनुपर्नेमा लकडाउनका कारण समयमै निर्माण सामग्री नआउँदा ढिलाइ भएको स्विकारेका छन्।

उनका अनुसार सबसटेसनको निर्माण कार्य अन्तिम चरणमा रहेकोले भदौ महिनासम्म समापन गरी धनुषाको ढल्केबर ग्रिडलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.