|

काठमाडाैं: सेयर कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सवा २९ अंकले उकालो लागेको छ।

मंगलबार २९ दशमलव २४ अंकले बढेर नेप्से ३०७९ दशमलव ६७ को बिन्दुमा पुगेको छ। यससँगै नेप्सेले पुनः अर्को अलटाइम हाई रेकर्ड बनाएको छ। सेयर कारोबार रकम पनि १५ अर्ब १७ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

तीन करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर १५ अर्ब १७ करोड ६५ लाख १ हजार ६ सय ४३ रूपैयाँमा खरिदबिक्री भएका छन्। यो असार १ गते पछिको धेरै कारोबार हो। आज बैंकिङ, व्यापार, होटल एण्ड टुरिजम तथा माइक्रोफाइनान्स घटे पनि अन्य समूहका उपसूचकमा हरियाली छाएको छ। आज हाइड्रोपावरका सेयरधनीले धेरै कमाएका छन्। 

आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको ४९ करोडको कारोबार भएको छ। आज सात वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

सोमबार केन्द्रीय बैंकले जारी गरेको सर्कुलरबाट केही सशंकित र अलमलमा परेका लगानीकर्तालाई समेत मंगलबारको बजारले ढुक्क हुन आत्मबल प्रदान गरेको सेयर बजारका जानकारहरुले बताएका छन्।

समग्रमा केन्द्रीय बैंकका निर्देशनहरु बैंक तथा वित्तीय संस्थालाई दीर्घकालमा थप बजबुत बनाउने हिसाबले आएका छन्। क्षणिक नाफा–नोक्सानभन्दा पनि बैंकिङ प्रणालीलाई दीर्घकालसम्म सबल र दरिलो बनाउने किसिमले आएको निर्देशनले अन्तत: पुँजी बजारलाई पनि बलियो बनाउने देखिएको छ। किन भने पुँजी बजारमा बैंक तथा वित्तीय क्षेत्रकै बर्चश्व रहेको छ।

सोमबारको निर्देशनले बैंकहरुको रिजर्भ बलियो हुने, बोनस सेयर वितरणतर्फ केन्द्रित हुने अवस्था आएको छ। यस्तै, लाभांश एकैपटक धेरै वितरण गरेर संस्थालाई कमजोर बनाउने प्रवृत्ति पनि यसले निरुत्साहित गरेको छ। यो समग्र बैंकिङ प्रणाली र पुँजी बजारका लागि सुखद् पक्ष हो। 
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.