|

इलाम : स्पेनिस लिजेन्ड फर्नान्डो टोरेस एट्लेटिको मड्रिड फर्किएका छन्।

व्यवसायिक करिअर एट्लेटिकोबाट सुरु गरेका टोरेस ब्वाइहुड क्लबमा फर्कन पाउँदा उत्साहित छन्। ८ वर्ष खेलाडीको रुपमा बिताएका टोरेस यस पटक प्रशिक्षकको रुपमा देखिन लागेका हुन्।

क्लबले टोरेसलाई यु–१९ टिमको जिम्मा दिएको छ। एट्लेटिकोका विभिन्न टोलीहरू कसरी काम गर्छन् भनेर जान्न र क्लबको कोचिङ विधिलाई अझ राम्रोसँग बुझ्न गत वर्ष उनले केही समय बिताएका थिए। 

उनले ट्विटरमा लेखेका छन्, ‘घरमा फर्कन पाएकोमा म खुसी र गर्व महसुस गरिरहेको छुं।’ सेगुन्डाबाट ला लिगामा क्लब बढुवा हुँदाको मुख्य खेलाडी रहेका टोरेसले १९ वर्षको उमेरमा सन् २००४ बाट २००७ सम्म क्लबको कप्तानीसमेत सम्हाल्ने अवसर पाएका थिए।

आफू हुर्के बढेको र कप्तानीसमेत गरेको क्लबमा फर्कन पाएकोमा खुशी हुँदै लेखेका छन्- ‘अब नयाँ चुनौतीको सामना गर्दै छुं र यो पक्कै पनि रोमाञ्चक हुनुपर्छ। मैले प्रिय एट्लेटिकोको सेवा गर्ने क्रममा यो काम भित्री मनले गर्नेछु।’ उनको अबको जिम्मेवारीमा यु–१९ टिम हेर्नेसँगै स्पेनी ला लिगा च्याम्पियनको एकेडेमीमा सुधार गर्नु पनि हुनेछ।

सन् २००१ बाट एट्लेटिकोमा खेल सुरु गरेका टोरेस लिभरपुलबाट चर्चामा आए। लिभरपुल र चेल्सीबाट ८ वर्ष प्रिमियर लिगमा बिताउँदा ३१४ खेल खेल्दै १२६ गोल गरेका थिए। चेल्सीमा रहँदा टोरेसले सन् २०१२ मा युरोपियन च्याम्पियन्स लिग जितेका थिए।

सन् २०१४ मा इटालियन क्लब एसी मिलानमा लोनमा खेलेपछि उनी आफ्नो ब्वाइहुड क्लब एट्लेटिको फर्केका थिए। सन् २०१५ मा उनी फेरि एट्लेटिको फर्के, ऋणमा।

पछि उनले एट्लेटिकोमै स्थायी स्थानान्तर पनि पाए। उनले अन्तिम पटक जापानी जे–वान क्लब सोगा तोसुबाट खेलेका थिए। सन् २०१९ मा जे वान क्लबबाटै १८ बर्षे व्यवसायिक खेलाडी करिअर समाप्त गरेका थिए।

स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए। उनले स्पेनका लागि ३८ गोल गरेका छन्।

टोरेसले यु–१९ सम्हाल्दा एट्लेटिकोका कप्तान कोकेका दाजु बोर्जा रेरेसिएनले यु–१५ र एट्लेटिकोका पूर्वस्ट्राइकर पाउलोका छोरा फावियो फुट्रेले यु–११ टिम सम्हाल्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.