|

काठमाडौं : काठमाडौं महानगरपालिका वडा-१६ बोहोराटार (खरीबोट माइक्रो बस स्ट्याण्ड) वनदेवी गल्लीमा रहेको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई सकस भएको छ।

जग्गाको सिमानामा गाडेको बाँस प्लटिङ गर्ने व्यवसायीले बारम्बार निकालेपछि जग्गा मिचिने समस्या देखिएकाे हो।

जग्गा जोगाउन उपभोक्ता समिति, टोल सुधार समिति र क्लब गरी स्थानीय १५ संघसंस्था लागेका छन्। उनीहरूले सार्वजनिक जग्गाको सिमानामा बाँस गाडेको, तर प्लटिङ गर्ने व्यवसायीले बारम्बार भत्काउने गरेको बताएका छन्।

सार्वजनिक जग्गा देखाउन गत सोमबार महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष मुकुन्द रिजालसहित अधिकारीलाई उनीहरूले बोलाएका थिए। उनीहरू त्यहाँ पुगेपछि स्थानीयले भनेका थिए, ‘यस्ता जग्गा त यस क्षेत्रमा कति छन् कति, पहिचान भइसकेका जग्गा त जोगाउन दिँदैनन्, नदेखिएका सार्वजनिक जग्गा कसरी खोज्नु?’

उनीहरूले सार्वजनिक जग्गामा मनमोहक वकिङ्क ट्रायल, सार्वजनिक शौचालय र पार्कजस्ता निर्माण गर्ने योजनासमेत सुनाए। 

सार्वजनिक जग्गा हुँदै प्लटिङ गरिएको जग्गातर्फ जाने सडक बनाएकोमा स्थानीयको चिन्ताप्रति उपप्रमुख खड्गी श्रेष्ठले भनिन्‌, ‘व्यक्तिगत र व्यवसायिक लाभका लागि सार्वजनिक जग्गाको उपभोग हुन दिनुहुँदैन, यस्ता कामहरूलाई स्थानीयको सहयोगमा हामी निस्तेज बनाउन चाहन्छौँ, सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार स्थानीय सरकारमा आएको छ, त्यो अधिकार प्रयोग गरेर हामी सार्वजनिक जग्गा बचाउँछौँ।’

वडाध्यक्ष रिजालले जग्गा संरक्षण गर्न पर्खाल लगाउने काम तत्काल थाल्ने बताए। सार्वजनिक जग्गा बचाउन स्थानीयहरू १५ वटै संघ-संस्थाले एकीकृत समिति नै बनाएका छन्।

समितिको संयोजकका रूपमा सुदन रेग्मीले नेतृत्व गरिरहेका छन्। रेग्मी भन्छन्, ‘हामीले ०७७ असार २३ गतेबाट अभियान थालेका हौँ, यस क्रममा हामी नापी र मालपोत कार्यालय निकै पटक गयौँ, गयौँ, बल्लबल्ल २२ आना जग्गा पहिचान गर्‍यौँ, हामीलाई यस क्षेत्रका कुन-कुन ठाउँ सार्वजनिक हुन् भन्ने अनुमान छ, ती जग्गालाई क्रमशः सार्वजनिक कायम गराउनेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.