राजनीतिक नियुक्ति गर्न मापदण्ड बनाउने

|

काठमाडौं : सरकारलाई तत्काल पूर्णता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच सहमति बनेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा सरकारलाई तत्कालै पूर्णता दिने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। 

बैठकमा सहभागी भएकी उनले भनिन्, 'मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ। तर, शक्ति बाँडफाँडको विषय टुंगो लागिसकेको छैन। अब एक-दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिन दलहरूबीच सहमति भएको छ।' 

बैठकमा गठबन्धनका तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको र त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने पौडेलले बताइन्। 

यस्तै, प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरूबीच सामान्य छलफल भएको छ। यसलाई अन्तिम रूप दिन आजै बेलुकासम्म फेरि शीर्ष नेताहरूको बैठक बस्ने तयारी छ। 

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए। 

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपा बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायत सहभागी थिए। 

शक्ति बाँडफाँडबारे सरकार सञ्चालन र गठबन्धनलाई कार्यसम्पादनमा सहयोग गर्न बनेको कार्यदलले यसअघि नै सुझाव पेस गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.