चित्रबहादुर केसी असन्तुष्ट, माधव समूह अलमल

|

काठमाडौं : सत्तारुढ विपक्षी गठबन्धनलाई मन्त्रीपरिषद् विस्तारमा सकस परेको छ। ५ दल सम्मिलित गठबन्धनलाई मन्त्रीपरिषद् विस्तार गरेर सरकारलाई पूर्णता दिनमा सकस परेको हो। 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको लागि बनेको गठबन्धनलाई आफ्नो सरकार बनेपछि मन्त्री नियुक्ति नै चुनौती बनेको छ। 

बुधबार बिहान बसेको गठबन्धनको बैठकले चाँडै सरकारलाई पूर्णता दिने निर्णय भए पनि मन्त्रीबारे टुंगो नलागेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए।

उनले भने, ‘बैठकले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। अब सबैको सहमतिमा चाँडै सरकारले पूर्णता पाउँछ। सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ।’ मन्त्रीको टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरूको छलफलले लगाउने उनको भनाइ छ। 

बैठकमा देउवाले आफूलाई समस्या भइसकेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाको अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रीको नाम दिन माग गरेका थिए। तर, उनीहरूले एकदुई दिनभित्रै मन्त्रीको नाम दिने भएकाले अब तत्कालै सरकारले पूर्णता पाउने बताएका थिए। 

त्यसो देउवाले मन्त्रीको अन्य पार्टीलाई मन्त्रीको नाम गर्दैगर्दा आफ्नै पार्टीभित्र समस्या सुल्झाउन सकेको छैनन्। देउवाले एकलौटी रुपमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि पार्टीमा मात्रै नभएर गठबन्धनमा समेत असन्तुष्टि पैदा भएको थियो। 

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उपप्रधानसहित महत्वपूर्ण मन्त्रालयको दाबी गर्दै आइरहेको छ। भने, कांग्रेसकै तेस्रो धारबाट कृष्णप्रसाद सिटौला समूहको तर्फबाट गगन थापाको स्वास्थ्य मन्त्रीमा चर्चा छ। 

उपप्रधानसहित परराष्ट्र मन्त्रालयमा जनता समाजवादी पार्टी जसपाले समेत दाबी गरेपछि प्रधानमन्त्री देउवालाई अफठ्यारो परेको छ। कांग्रेसबाट पुष्पा भुसाल, डा. नारायण खड्का, सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादवलगायतको नाम चर्चामा छ। 

यस्तै, जसपाबाट देउवा नेतृत्वको सरकारमा अध्यक्ष उपेन्द्र यादवसहित मोहम्मद इस्तियाक राई, महेन्द्र राय यादव, रेणु यादवलगायतको नाम चर्चा छ। 

माओवादीलाई मुस्किल !

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीलाई लिएर माओवादी केन्द्रमा तिव्र सकस छ। पार्टीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएको भन्दै आफूलाई बेचैन भएको अध्यक्ष प्रचण्डले गत साता पेरिसडाँडामा आयोजित कार्यक्रममै बोलेका थिए। 

मन्त्री छान्न लागि आज बोलाइएको स्थायी कमिटीलाई समेत स्थगित गरेर प्रचण्ड छलफलमा छन्। माओवादीले देउवा सरकारमा ६ मन्त्रालय पाउने पक्कापक्की भएको छ। यसअघि नै अर्थ मन्त्रालयमा जनार्दन शर्मा र ऊर्जा मन्त्रालयमा पम्फा भुषाल गइसकेकी छन्। 

माओवादीका एक स्थायी कमिटी सदस्यका अनुसार हरिबोल गजुरेल, शशी श्रेष्ठ,अञ्जना बिसंखे,  सुरेशकुमार राई, सुदन किराती, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज लगायतको नाम चर्चा छ। 

त्यसो त पार्टीले छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्। 

‘मन्त्रीको नामा छान्ने जिम्मा शीर्ष नेताहरूमा छ। उहाँहरूले सबै क्षेत्रलाई समेट्नेगरी आवश्यकताको आधारमा मन्त्रीको नाम सिफारिस गर्नुहुन्छ’, उनले भने। 

माधव समूह अलमल

आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन गरेर देउवा नेतृत्वको सरकार बनाउन निर्णायक भूमिका खेलको नेता नेपाल समूह सरकार जानेबारे अझै अन्योलमा छ। गएको बिहीबार भएको गठबन्धनको बैठकमा नेता नेपालको तर्फबाट सहभागी भएका विजय पौडेलले आफूहरू सरकारमा नजाने बताएका थिए। 

पार्टी एकताको पहल भइरहेकाले देउवा नेतृत्वको सरकारमा जान नहुने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। 

उनी भन्छन्, ‘हामी अहिले पार्टी एकता जोगाएर कसरी जाने भन्नेबारे केन्द्रित भइरहेका छौँ। यस्तो अवस्थामा सरकारमा जादा सबै कुरा बिथोलिन सक्छ। त्यसैले हामी सरकारमा जान हुँदैन।’

देउवाको पक्षमा हस्ताक्षर गरेका अधिकांश सांसदहरू सरकारमा जानुपर्नेमा हतार गर्न नहुने बताएकाे सांसद मेटमणि चौधरीले बताए। सरकारमा जाने या नजाने भन्ने विषयमा देउवाको पक्षमा हस्ताक्षर गरेका २२ सांसदले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका थिए।

नेपाल पक्षका उपाध्यक्ष भीम रावल, योगेश भट्टराई, घनश्याम भूसाल, गोकर्ण विष्ट, रघुजी पन्त, भीम आचार्यलगायत नेताहरूले सरकारमा जान नहुने अडान राखेकाले नेता नेपालमाथि दबाब छ। 

चित्रबहादुरको असन्तुष्टि 

गठबन्धनमा सामेल भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले असन्तुष्टि जनाएका छन्। 

विवादित अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), संघीयतालाई निरन्तरता दिने र प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा नियुक्त गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्तिको विषयमा असन्तुष्टि जनाएका हुन्। 

बैठकमा केसीको भनाइलाई उदृत गर्दै उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘हामीले एमसिसी र संघीयताको विरोध अहिले मात्रै नभएर पहिल्यैदेखि गर्दै आएका हौँ। अब त्यसलाई निरन्तरता कसरी दिन सकिन्छ? एमसिसी र संघीयताको पछि लाग्ने सरकारलाई कसरी विश्वास गर्न सकिन्छ?’

संसदमा विचाराधीन रहेको एमसिसी देउवा अगाडि बढाउन चाहन्छन्। तर, सत्ता सहकार्य गरेको माओवादीले समेत एमसिसी जस्ताको तस्तै पास गर्न नहुने अडान राखेको छ। यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अगाडि बढाउन चाहे पनि साविकको नेकपामा विवाद सुरु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.