घटनाको १२ दिनपछि गिरोह समातिए, जंगलबाट हतियार बरामद

|

विराटनगर :  मोरङको सुन्दरहरैचा नगरपालिका-१० त्रिवेणी चौकस्थित ‘शिव पंञ्चायन ज्वेलर्स’  लुटपाटको प्रयास गर्ने ६ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

प्रहरीले संखुवासभा सभापोखरी गाउँपालिका – ४ घर भइ इटहरी २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षिय प्रकाश भन्ने चन्द्रबहादुर राई र सुनसरी गढी गाउँपालिका १ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरीसहित ६ जनालाई पक्राउ गरेको हो। प्रहरीले दिएको जानकारी अनुसार चन्द्रबहादुर राई पूर्वनेपाली सेना हुन् भने प्रमोद चौधरी पूर्वलडाकु हुन्।

घटनामा संलग्न संखुवासभा बाह्रबिसे गाउँपालिका-६ घर भइ हाल इटहरी २० तरहरा बस्ने ३० वर्षीय चिरञ्जिवी राई, मोरङ सुन्दर हरैचा-५ का २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका-३ घर भइ हाल इटहरी २० बस्ने३० वर्षिय नगेन्द्र राई र सुन्दरहैरचा नगरपालिका ७ का ३१ वर्षिय सन्तोष राईलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।

उनीहरूको साथबाट सुनचाँदी पसल लुटपाटका लागि ल्याइएको अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र अटोमेटिकल पेस्तोल बरामद गरेको छ। यस्तै प्रहरीले म्यागजिनमा लाग्ने ६२ राउण्ड गोली र ३०३ राइफलको ४ राउण्ड गोली पनि बरामद गरेको छ।

मास्क लगाएर आएका ६ जनाल‍े खगेन्द्र थापाले सञ्चालन गरेको ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाट प्रयास गरेका थिए। लुटपाट असफल भएपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतंकित बनाउँदै सो समूह उत्तर–पश्चिमतर्फ लागेका थिए।

पक्राउ परेका चन्द्रबहादुर राईले १५ वर्ष सेनामा जागिर खाएपछि २०७६ सालमा राजीनामा दिएको खुलेको र पूर्वलडाकु चौधरी सातौं ब्रिगेड सहायक लजिस्टक भएर काम गरेको प्रहरीले जनाएको छ।

सुन पसल लुटपाट योजना बनाउने मुख्य गिरोह चन्द्रबहादुर रहेका प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी जिसीको भनाइ छ। 

जंगलबाट हतियार बरामद

ज्वेलरी लुटपालटको प्रयास गर्ने गिरोह ३१ असारमा ४ बजे तीन वटा मोटसाइकलमा सोही सुनचाँदी पसलमा ६ जना आएका थिए। ‘सुनचाँदीको पसल भएको स्थानमा ६ जनाको समूह लुटपाट गर्न कतिको सहज हुन्छ  भन्दै घटनास्थलमा आएको प्रराम्भिक चरणको अनुसन्धान देखि खुलेको छ,’  एसपी जिसीले भने, ‘३१ असारमा आएको दिन उनीहरूको योजना असफल भएपछि पूर्व –पश्चिम राजमार्ग हुदै इटहरीतर्फ गएका थिए।

पक्राउ परेका गिरोहले अत्याधुनिक हातहतियार र गोलीहरू सुन्दरहरैचास्थित नमुना सामुदाियक वन भित्रको जंगलको ठूलो रूखको टोड्कोमा लुकाउने गरेको एसपी जिसीले जानकारी दिए।

घटनाको १२ दिनपछि गिरोह पक्राउ 

सुनचाँदी पसल लुटपाट प्रयासको घटना भएको १२ औँ दिनपछि ६ जनालाई पक्राउ गर्न मोरङ प्रहरी सफल भएको हो।  लुटपाट घटना प्रयासको  दृष्य  सिसी टिभी क्यामेरा फुटेजमा कैद भएको थियो। सोहि सिसी क्यामेरा फुटेजसहित घटनाको अनुसन्धान थालेको प्रहरीले ६ जनालाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी सुरक्षाकर्मीको विशेष टोलीसँग मात्रै हुन्छ। समूहले प्रयोगमा ल्याएको अत्याधुनिक हतियार कहाँबाट ल्याएको हा ेभन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ  ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.