|

काठमाडौ : सिन्धुलीगढीमा ऐतिहासिक ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ निर्माण गरिएको छ। नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा निर्माण गरेकाे संग्रहालय बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।  

नेपाली इतिहासको महत्वपूर्ण भुमि संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले संग्रहालय निमार्ण गरिएको हो। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेलले युद्ध संग्रहालयको शिलान्यास गरेका थिए।

ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत् १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ। तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको थियो।  

संग्रहालय निर्माण पूर्व सम्पदा झाडीमा परिणत भएको थियो। भग्नावशेष मात्र बाँकी रहेको थियो। ऐतिहासिक सम्पदा संरक्षण गरी अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागिएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए। उनले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

देशमै पहिलो पटक युद्ध संग्रहालय बनेकाे छ। यसले अध्ययन गर्न चाहनेका लागि ठूलो सहयोग पुग्ने इतिहासविद् रमेश ढुंगेलले बताए। नेपालको इतिहास बोकेको संम्पदा सरकारले संरक्षण तथा प्रवर्धन गर्नु महत्वपूर्ण उपलब्धि भएको पनि उनले बताए। 

यस्तो बन्यो संग्रहालय

संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ भने, ६ हजार २ सय ८१ स्क्वायर फिटको यो संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु राखिएको छ।

६ कोठे यो संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने सिन्धुलीगढीका अन्वेषणकर्ता सागरकुमार ढकालले बताए।

दैनिक तीन सयको हाराहारीमा भारतीयहरु त्यहाँ आउने गरेको ढकालले जानकारी दिए। उनले भने,‘यो संग्रहालय र सिन्धुलीगढी परिसर अब खोजकर्ता र जिज्ञासुलाई राम्रो अध्ययनको थलो बन्नेछ,’ उनले भने,‘नेपालीका लागि मात्र हैन,अंग्रेजहरुलाई समेत पुर्खाको लडाइँका विषयमा थप कौतुहल्ता जगाउने छ।’

निर्माणकर्ता वर्दबहादुर गणका गणपति विजय थापाले आन्तरिक सजावट, योद्धाहरुको सालिक, तथा अन्य निर्माणमा नगरपालिकाले लगानी गरेको बताए। संग्रहालयभित्र वृतचित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शन लगायत संग्रहित गरी राखिएको छ।

नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीगढी, मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जीतगढी युद्धमा हराएको इतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध संग्रहालय बनाउने योजना अघि सारेको हो।  

यस्तो सिन्धुलीगढीको इतिहास 

सिन्धुलीगढीका अन्वेषणकर्ता ढकालका अनुसार आधुनिक इतिहास १८०१ देखि सुरु हुन्छ तर सिन्धुलीगढीको इतिहास त्यसभन्दा पनि अगाडी देखिको रहेको छ। सिन्धुली मकवानपुर राज्य अन्तर्गत पर्दथ्याे। त्यस समयमा मकवानपुर राज्यको ठूलो भन्सार चौकीसमेत रहेको थियो।

मकवानपुर राज्यलाई काठमाडौंले पटकपटक आक्रमण गरेको थियो। पृथ्वीनारायण शाहले गोरखा विस्तृत गर्ने योजना बनाए। मकवानपुर राज्यका तत्कालीन राजा हेमकर्ण सेनका छोरीसँग विवाह गर्ने प्रस्ताव गरे। त्यसबेला तराईको संस्कृति अनुसार छोरीको स्वएम्बर गर्ने तर छोरी नपठाउने चलन थियो। त्यसलाई डोल झिकाउने भन्ने चलन थियो । 

यता पहाडी संस्कृतिमा दुलही नलिइ जाँदा बेइज्जत भयो। उनीहरुबीच दुस्मनी सुरु भयो। पृथ्वीनारायण शाहले बदला तिर्ने बिचार गरे। १८१८ राजा हेमकर्ण सेनको मृत्यु भयो।

पृथ्वी नारायण शाहले १८१९ मा मकवानपुरलाई राज्यबाट गोरखा राज्यमा पारेका थिए। तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किन लोकको नेतृत्वमा आधुनिक हतियारसहित आएको २४ सयको संख्यामा रहेको अंग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिङ्गालको गोलाको मद्दत लिएर युद्धमा पराजित गरी धपाएको डिल्लीराज शर्माको ‘नेपालको किल्ला वास्तुकला’ पुस्तकमा उल्लेख गरिएको छ।  

गोर्खाली फौजको नेतृत्व वंशु गुरुङले गरेको इतिहासमा उल्लेख छ। पुर्खाहरुको अदम्य साहस र वीरताका कारण आज नेपाल राष्ट्रको अस्तित्व राख्ने स्थान सिन्धुलीगढी भएको इतिहासविद् ढुंगेलले बताए।

वि.स १८२४ कातिक २४ गते इस्टइण्डिया कम्पनीका कप्तान किनलोकनको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका व‌शु गुरुङको नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट पराजित गरी भगाएको बताइन्छ। 

जतिबेला झण्डै एक हजार ६ सय अंग्रेज सेनाहरु हताहत भएकाे इतिहास छ। अंग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको थियो।

वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरुले काठमाडौंमा ब्यापक लुटपाट गरी बनेपा हुँदै फर्किदा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सितामाढी) फक्रिएका थिए भन्ने ऐतिहासिक प्रमाण भएको खोजकर्ताहरुले दाबी गरेका छन्। जुन प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ।

सिन्धुलीगढीको ऐतिहासिक महत्व नेपालको इतिहासमा उच्च रहेको छ। सिन्धुली माडीबाट करिब उत्तर ३ घण्टाको बाटो उकालो चढेपछि सिन्धुलीगढी पुगिन्छ।  काठमाडाैं उपत्यका प्रवेश गर्ने पूर्वतर्फको मुख्य  स्थानको रुपमा  सिन्धुलीगढी भएको हुदा नाका यसको महत्व मल्लकालदेखिनै प्रसस्त रहेको डिल्लीराज शर्माको पुस्तकमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.