भैँसीलाई घाँस हाल्न गएको मौका पारेर खुर्पाले हाने

|

रुकुम (पूर्व) : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, की मनकला खत्री  (२६ वर्षीया) खड्काको साउन ११ गते सोमबार वीभत्स हत्या भयो। गोठमा रहेका भैंसीलाई घाँस हाल्ने गएकी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव भेटियो। त्यसको २ दिनपछि हत्यारा पत्ता लागेका छन्।

प्रहरीले मृतक खड्काकै भतिजा जेठाजुका दुई छोराले उनको हत्या गरेको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिए। १५ र ११ वर्षीय दुई सहोदर दाजु–भाइ मिलेर मनकलाको हत्या गरेको डिएसपी श्रेष्ठले बताए। नाबालक भएकाले प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

मृतकले घाँटी, नाक, कानमा लगाएको गरगहनासमेत ती दाजुभाइले राखेको भेटिएको डिएसपी श्रेष्ठले बताए। मृतकको शरीरबाट हराएका सबै गरगहना, एउटा खुर्पा, उनीहरूले घटनाका बेला लगाएका कपडा पनि प्रहरीले फेला पारेको छ।

उनीहरूले हत्या गरेको स्वीकारेपछि प्रहरीले उनी दुईलाई फेरि घटनास्थल लिएर आवश्यक प्रमाण संकलन गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट दाजुभाइको संलग्नता देखिएको र बाँकी अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ।

पुरानो रिसिवि र परम्परागत मान्यताका कारण घटना भएको निष्कर्ष प्रहरीको छ। केही समय पहिला मृतक खड्काले १५ वर्षीय ती किशोरले १५ हजार नगद चोरी गरेको आरोप लगाएपछि दुवैबीच रिस बढेर गएको प्रहरीले बताएको छ। घटना भएको दिन मृतकले दाजुभाइले काटेको घाँस नाघेपछि रिसको आवेगमा अन्टीलाई खुर्पा हानेको स्वीकार गरेको डिएसपी श्रेष्ठले बताए।

प्रहरीले सुरुमा तीन बाबु छोरालाई सोधपुछका लागि ल्याएको थियो। अन्तमा बाँकी अनुसन्धान हुँदै जाने भनेर दुई दाजुभाइले हत्या गरेको विवरण प्रहरीले बिहीबार (आज) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

घटना अनुसन्धानका लागि प्रहरी तालिम प्राप्त कुकुर झिकाएको थियो भने प्रदेश प्रहरी कार्यालयबाट २ जना अनुसन्धान अधिकृत पनि जिल्लामा आएका थिए। प्रहरीले उनी दुईविरुद्ध कर्तव्य ज्यान, चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.