भाषा परीक्षा उत्तीर्ण गरेका हजाराैं युवाकाे भविष्य अन्याेल

|

काठमाडौ : नेपालीका लागि आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया रोजगारमा अन्योल देखिएको छ। नेपाली श्रमिक लैजान कोरिया सरकारले राखेका सर्त पूरा भइसक्दा पनि उसले श्रमिक लैजान नमानेको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ। 

काेरियाले कोभिड बिमा, सिधा उडान र होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको थियो। विश्वभर फैलिएको कोराना भाइरस (कोभिड १९) महामारीका कारण १७ महिनादेखि यो क्षेत्र अन्योलमा छ। 

कोरियाले नेपाललाई ’एल्लो’ जोनमा राखेको छ। 'ग्रीन' जोनमा राखेमा मात्र नेपालीले प्रवेश पाउने इपिएस शाखा प्रमुख ईन्द्र गाैतमको भनाइ छ। यस विषयमा छलफल भइरहेको उनले जानकारी दिए। 

सहजीकरणका लागि इपिएस नेपाल र कोरियाली पक्षले प्रयास गरिरहेको भए पनि तत्काल जाने सम्भावना नदेखिएको हो। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका झन्डै १० हजाराैंकाे भविष्य अन्याेलमा पर्ने छ।

दक्षिण कोरिया सरकारले पहिलो लहरको कोरोना महामारी फैलिएको बेलादेखि नेपालबाट श्रमिक लिन बन्द गरेको थियो। तर खुलाउने पहल भइरहे पनि जोखिम झनै बढेकाले अनिश्चित भएको गौतमले बताए।

इपिएस परीक्षा उत्तीर्ण गरेका युवाले पटकपटक मन्त्रीलगायत उच्चपदस्थलाई जानकारी गराउँदै आए पनि उनीहरू अहिलेसम्म जान पाएका छैनन्। भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म रोष्टरमा नाम रहन्छ। यस अवधिमा रोजगारदाताको छनोटमा पर्न नसके कोरियामा रोजगारी पाइँदैन।

कोभिड पुनः देखिएकाले भाषा परीक्षा रोकिएको गौतमले बताए। 'कोरियासँग परीक्षाका लागि वार्ता पनि भएको थियो,’ उनले भने, ‘पुनः कोभिड बढेकाले परीक्षा अनिश्चितजस्तै भएको छ। कोभिड संक्रमण घटेपछि मात्र परीक्षा लिन सकिन्छ।’ भाषा परीक्षा अनलाइन हुने गौतमले जानकारी दिए। अब परीक्षा गर्ने मोडल परिवर्तन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ। 

यस वर्ष पनि रोकियो भाषा परीक्षा

हरेक वर्ष इपिएस प्रणालीअन्तर्गत हुने भाषा परीक्षा यो वर्ष पनि नहुने भएको छ। कोभिडका कारण सन् २०२० को भाषा परीक्षा पनि हुन सकेको थिएन। सन् २०२१ मा हुने भनिएको भाषा परीक्षाको पनि अझै टुंगो लाग्न सकेको छैन।

‘अहिलेसम्म केही टुंगो लागेको छैन। परीक्षा हुन्छ अथवा हुँदैन भनेर किटान गर्न सक्ने अवस्था छैन। यो वर्षको अन्तिमसम्म हुन पनि सक्छ। तर सम्भावना कम छ।’ गाैतमले भने। 

इपिएस प्रणालीअन्तर्गत हरेक वर्ष हुँदै आएको भाषा परीक्षामा ८० हजारभन्दा बढी सामेल हुने गरेका थिए। सहभागीमध्ये ८ हजारभन्दा बढीले भाषा परीक्षा उत्तीर्ण गर्दै आएका थिए। उत्तीर्णमध्ये १० हजार बढीले कोरिया रोजगारीको अवसर पाउँदै आएका थिए। तर २०२० मा भाषा परीक्षा नै नहुँदा १० हजार बढी युवाले काेरिया जाने अवसर गुमाएका छन्।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इपिएसअन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेकालाई कोरिया पठाउन गम्भीर हुन निर्देशन दिएको छ।

समितिका सभापति रामनारायण बिडारीले प्रभावित युवाले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफूसमक्ष उजुरी दिएकाले तत्काल यो प्रक्रिया अघि बढाउनुपर्ने बताए।

दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिड बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टाइनमा बस्ने गरी सीधा हवाई सम्पर्कमार्फत पठाउन आग्रह गरेकामा दोस्रो लहरको संक्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.