|

काठमाडौं : जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ। नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप अलायन्सले लगाएको हो।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ। नवराज विकसहित ६ जना दलित युवाको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाए। 

पत्रकार सम्मेलनमा अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरू सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए। उनले भने,‘नेताहरूको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराज लगायत ६ जना युवाका परिवारले न्याय पाउन सकेनन्।’ 

डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताए। अन्तरजातीय विवाहको आरोपमा अण्डकोष घोटी–घोटी भेरी नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको समेत आरोप लगाए। उनले भने, ‘जसलाई समाजले अपराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ उसैलाई अर्थजस्तो जिम्मेवार मन्त्रीमा नियुक्त गर्दा दलितको अपमान गरेको महसुस भएको छ।’ अन्तर्राष्ट्रिय नजरपनि यस घटनामा परेको उनको भनाइ थियो। 

परियारले थपे, ‘बन्दुक बोक्न र विद्रोह गर्न आफूहरूलाई बाध्य बनाउन लागिएको छ।’ हतियार बोक्ने दिन नआओस् भन्दै उनले देउवाजस्तो प्रजातन्त्रका लागि लडेका नेताले दलितको कुरा सुन्ने विश्वास गरे।

कार्यक्रममा अर्का संयोजक दलमर्दन कामीले जातीय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताए। शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने उनले जिकिर गरे। भने, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभूति गराउनुपर्छ।’

शर्माले हत्याराको पक्षमा बोलेको भन्दै उनले आपत्ति जनाए। ‘जनार्दन शर्माजस्ता अपराधीका कुख्यातले सत्ता र शक्तिकै दम्भ देखाएर हत्याराको संरक्षण गरिरहेका छन्,’ उनले भने।

विवादित व्यक्तिलाई देउवा सरकारमा नियुक्त हुँदा दलित, शिल्पी समुदायले अपमान महसुस गरेको उनले बताए। उनले नवराज विकलगायत जातीय हिंसाले अन्तर्राष्ट्रिय बेइज्जती भएको बताए।

सर्वोच्चमा विचाराधीन मुद्दामा पीडित पक्षले न्याय नपाउने खतरा बढेर गएको समेत उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.