|

काठमाडौं : उद्योगीबाट उखुको भुक्तानी नपाएका सर्लाहीका किसान सरकार गुहार्दै फेरि काठमाडौं आएका छन्।

उखुको भुक्तानी नपाएको भन्दै उनीहरूले फेरि पनि आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्। आफूहरूले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरू आन्दोलनको तयारीमा जुटेका हुन्।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरूले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्म नपाएको गुनासो गरेका छन्।

पत्रकार सम्मेलनमा उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरूको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिए।

मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पुर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँचबुँदे सहमति भएपनि हालसम्म आफूहरूले सम्पूर्ण भुक्तानी नपाएको गुनासो पोखे।

सरकार उदासीन भएकाले आफूहरू अन्यायमा परेको उनको भनाइ छ। 

मिश्रले विगत तीन/चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरूले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पारे।

अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको मिश्रले बताए। उनले उखु किसानहरूले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रलायले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिए पनि यसबारे मन्त्रालयले चासो नदिएको आरोप लगाए।

उखुकै पैसा माग्न सर्लाही जिल्लाका उखु उत्पादक किसान काठमाडौँ आएका मिश्रको भनाइ छ। उखु बेचेरै धेरैले आफ्नो परिवार र व्यवहार चलाउने गरेका भन्दै अहिले सबै किसानको आर्थिक अवस्था नाजुक भएको र व्यवहार बिग्रिएको पनि उनले त्यहाँ बताए। 

सरकारबाट पटक–पटक आश्वासन पाए पनि अहिलेसम्म भुक्तानी हुन नसकेपछि किसानहरू कोरोना महामारीको बाबजुद पनि फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँ आएको मिश्रको भनाइ छ। 

३६ प्रतिशत रकम ब्याजमा लिएर अर्काको जग्गामा उखु खेती गर्नेहरूको उठीबास भएको भन्दै उनले थपे, ‘निमुखा किसानहरूको बिजोग भएको छ, केही दिनअघि एक किसानलाई बैंकले लिलामीको सूचना पठाएपछि चन्दा उठाएर काम सल्टाउँदा पनि मिलले किसानको पैसा नदिदा दुःख लागेको छ।'

ऋण लिएर उखु खेती गरेका किसानहरू थप मारमा परेका उनको भनाइ थियो। ‘किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?’ उनले भने। उनले भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौँ धाउनुपरेको समेत स्मरण गराए।

समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटक–पटक आन्दोलन गर्न बाध्य भएको उनले तीतो यथार्थ सुनाए। विगतकै भुक्तानी नभएपछि सर्लाहीका किसान फेरि काठमाडौँ आएका हुन्। उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.