|

ललितपुर : अन्तर्राष्ट्रिय समुदायमाझ गरेको बाघ दोब्बर बनाउने लक्ष्यबाट नेपाल थोरैमात्र टाढा छ।

नेपालले यही गतिमा बाघको संख्या बढाउँदै गए नेपाल संसारकै बाघ दोब्बर पार्ने पहिलो मुलुक बन्ने पक्का छ। 

बिहीबार 'बाघको अस्तित्व मानवको दायित्व' नारासहित विश्व बाघ दिवस मनाइसक्दा सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ वटा देशहरू माझ गरेको बाघको संख्या दोब्बर पार्ने लक्ष्यतर्फ सबैको ध्यान गइरहेको छ।

त्यत्ति बेला १ सय २१ वटा बाघ रहेकोमा नेपालले सन् २०२२ सम्म २ सय ५० पुर्‍याउने प्रतिबद्धता गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारी, बाघ संरक्षणमा लागिपरेका संस्थाहरू डब्लुडब्लुएफ, जेडएसएल, एनटिएनसीलगायतका संस्थाका विज्ञहरूले ५ वटै निकुञ्जमा बाघको अवस्थालाई मूल्यांकन गरेका थिए।

उनीहरूले नेपालमा बाघको संख्या दोब्बर बनाउन नेपाल थोरैले मात्र पछाडि रहेको बताएका थिए। तीन वर्षअघि सन् २०१८ मा सार्वजनिक गरिएको गणनामा २ सय ३५ वटा बाघ नेपालमा छन्।

१५ वटा बाघ थपिँदा लक्ष्य भेटिनेछ। विभागका इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार १ सय २१ को दोब्बर २ सय ४२ भए पनि सरकारले २ सय ५० लाई दोब्बर लक्ष्य मानेको छ।

संख्याका हिसाबले नेपालभन्दा बढी संख्याको बाघ रहेका भारत, रसिया, इण्डोनेसिया र मलेसियाले भन्दा बाघ संख्या वृद्धिमा नेपालले राम्रो फड्को मारिरहेको विभागका विभागका आचार्य बताउँछन्।

'नेपालले बाघ संख्या दोब्बर पार्ने लक्ष्यबाट नजिकै पुगेको छ, उनले भने, 'यही रफ्तारमा गए नेपाल संसारकै बाघ दोब्बर पार्ने पहिलो मुलुक बन्नेछ। छिमेकी भारत, भुटान र बंगलादेशमा बाघ पाइने भए पनि नेपाल अरू देशको तुलनामा दोब्बर पार्ने अभियानमा बढेको देखिन्छ,' उनले थपे। 

यही अनुपातमा बाघको संख्या बढ्दै जाने हो भने निर्धारित समयमा बाघको संख्या दोब्बर पुर्याउन त्यत्ति गार्‍हो नहुने तर्क राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक डा मनबहादुर खड्काको पनि छ।

'बाघ बढिरहेको तथ्यांक आइरहेको छ,' उनले भने, 'चितवनमा घटेको आए पनि समग्र देशमा बढ्दै गएको तथ्यांक छ, यसले केही स्थानमा थपघट देखाए पनि बढ्दै जाने संकेत देखाएको छ।'

आगामी मंसिर पुसबाट फेरि बाघ गणना हुँदै छ। त्यसको नतिजा २०७९ सालको असार मसान्तसम्म ल्याउने सरकारी तयारी रहेको विभागका इकोलोजिष्ट आचार्य बताउँछन्। उनका अनुसार सन् २०२२ को अन्तिमतिर रसियाको  सेन्टपिर्टसबर्गमै हुने बाघ पाइने मुलुकहरूको सम्मेलनका दौरान सन् २०१० को प्रतिबद्धता पेस गर्नेछन्।

बाघविज्ञ डा चिरन्जीवी प्रसाद पोखरेल पनि तथ्यांकको हिसाबले बाघ बढ्दै गएकाले दोब्बरको लक्ष्य पूरा हुनेमा विश्वस्त छन्। यद्यपि उनी विभिन्न राष्ट्रिय निकुञ्ज र आसपासका जंगलमा बाघको संख्यामा वृद्धि भएसँगै चुनौती पनि उत्तिकै थपिँदै गएको बताउँछन्।

'बढेको बाघको संख्यालाई हामी कत्तिको थेग्न सक्छौं’, उनले भने, 'यदि हामीले बासस्थान सुधारको क्रियाकलाप गर्न सकेनौं भने बाघलगायत अरू वन्यजन्तुको संख्या घट्ने सम्भावना पनि उत्तिकै रहनेछ।’ नेपाल बाघ संख्या दोब्बर पार्ने लक्ष्यबाट नजिकै पुगेको छ,' उनले थपे, 'यही रफ्तारमा गए नेपाल संसारकै बाघ दोब्बर पार्ने पहिलो मुलुक बन्नेछ।

छिमेकी भारत, भुटान र बंगलादेशमा बाघ पाइने भए पनि नेपाल अरू देशको तुलनामा दोब्बर पार्ने अभियानमा अगाडि बढेको उनी पनि देख्छन्। 

नेपालका चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी ५ स्थानमा बाघ पाइन्छ। सन् २०१८ को राष्ट्रिय बाघ गणनाको तथ्यांक अनुसार बर्दियामा ८७, चितवनमा ९३, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ वटा बाघ छन्। बर्दिया, बाँके, पर्सामा बाघ बढे पनि चितवनमा २७ वटा बाघ घट्दा शुक्लाफाँटाामा पनि एउटा घटेको छ।

सन् २०१६ को डब्लुडब्लुएफको तथ्यांकअनुसार विश्वमा पाइने ३ हजार ८ सय ९० मा आधाभन्दा बढी बाघ भारतमै पाइन्छन्। सन् २०१९ को तथ्यांकमा भारतमा  २ हजार ९ सय ६७ बाघ छन्। 

विश्वका १३ देशमा मात्र बाघ पाइने विज्ञहरूले बताएका छन्। नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, चीन, लाओस्, म्यानमार, भियतनाम  र रसियामा बाघ पाइन्छन्।

विश्वमा सबैभन्दा धेरै भारतमा बाघ पाइन्छन् भने उत्तर कोरियामा बाघ पाइए पनि त्यहाँ गणना भएको छैन। १ सय वर्षअघि १ लाखको हाराहारीमा रहेको बाघको संख्या विभिन्न मानवीय क्रियाकलापका कारण घटेर ३५ सय हाराहारीमा पुगेको सम्बन्धित विज्ञहरू बताउँछन्। 

दिवसका अवसरमा कार्यक्रम 

बाघ दिवसका अवसरमा नेपालका विभिन्न संरक्षित क्षेत्रहरूमा क्रियाकलापहरू गरिने गरिन्छ। काठमाडौंको बबरमहलस्थित वन परिसरको मूल प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा यस वर्षको बाघ दिवसका लागि तय गरिएको नारा 'बाघको अस्तित्व मानवको दायित्व' सहितको ब्यानर नेपाल सरकारका मूख्य सचिव शंकरदास बैरागीबाट अनावरण गरिएको छ।

त्यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटार, ललितपूरको अडिटरियम हलमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रधानमन्त्री बाघ संवाद कार्यक्रम सञ्चालन गरिएको थियो।

उक्त कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय जगतमा बाघ संरक्षणसम्बन्धी गरेका प्रतिबद्धता हासिल गर्न भएका प्रयासहरू र उपलब्धिबारे छलफल गरिएको थियो। यस्तै दिउँसो वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलको प्रमुख आतिथ्यतामा बाघ संरक्षण र पूर्वाधार विकास विषयक संवाद कार्यक्रम गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.