|
तस्वीर : रासस

टेकराज पोखरेल

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ र सङ्कटापन्न प्रजातिका जीवजन्तुहरुका लागि महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ। निकुञ्जले चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लालाई छोएको छ। 

विश्वमा नै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, घडियाल गोही, अर्ना, हात्ती, चराचुरुङ्गी, अजिङ्गर, मृग प्रजातिका जनावर निकुञ्जमा पाइने गरेको छ। दुर्लभ र सङ्कटापन्न अवस्थाका जनावरलाई संरक्षण गर्ने उद्देश्यले विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो। निकुञ्ज स्थापनासँगै त्यहाँका वन्यजन्तुको संरक्षणमा समुदायले पनि चासो दिन थालेका छन्। समुदायका केही व्यक्तिले निरन्तररूपमा वन र वन्यजन्तु संरक्षणको काममा आफूलाई समर्पित गरेका छन्।

पर्यटकलाई घुमाउने ‘नेचर गाइड’को कामसँगै संरक्षणका हरेक क्षेत्रमा अग्रसर रहँदै आएको नाम हो मनिष लिम्बू। चितवन राष्ट्रिय निकुञ्जको मेघौली मध्यवर्ती क्षेत्रका बासिन्दा लिम्बू पछिल्लो समय अजिङ्गर तथा अन्य सर्पहरुको उद्धारका साथै चराचुरुङ्गीको संरक्षणमा लागिरहेका छन्।  मुख्य पेशा पर्यटकलाई निकुञ्ज तथा मध्यवर्तीको वनमा घुमाउने भए पनि कोरोना भाइरसका कारण सिर्जित समस्याले उनको यो पेशा ठप्पजस्तै भएको छ।

‘पाहुना नभएपछि मुख्य काम हुँदैन, व्यक्तिगत रूपबाटै भए पनि संरक्षणको काम गरिरहेको छु’, लिम्बूले भने, ‘यो निषेधाज्ञाको समयमा अजिङ्गर तथा अन्य विषालु र मन्द विषालु सर्पहरुको उद्धार, पशुपक्षीको पिँजडामुक्त अभियान, चराचुरुङ्गी संरक्षण अभियानमा आफूलाई व्यस्त राखेको छु।’ उनले विश्व वातावरण दिवसको अवसर पारेर भरतपुर २७ र २८ मा पिँजडामुक्त अभियान सञ्चालन गरेका थिए। 

चराहरुको संरक्षणका लागि मेघौली क्षेत्रका पसलबाट ५३० वटा गुलेलीहरु किनेर नष्ट गरेको लिम्बूले बताए। आफ्नो यो अभियानमा गाउँका साथीहरुको समेत सहयोग मिलेको लिम्बू बताउछन्।  ‘गो हर्न नेचरगाइड सर्भिस’ मार्फत नै उनले अहिले बर्खाको समय भएकाले सर्प संरक्षणको काम गर्दै आएको छ।  ‘चिनेका मान्छेहरुले आफ्नो घर, गोठमा सर्प पस्यो भनेर फोन गर्छन्’, लिम्बूले भने, ‘फोन आएपछि तत्काल गएर सर्प उद्धार गर्ने गरेको छु।’ यस वर्षमात्रै नौवटा अजिङ्गर तथा अन्य पाँचवटा मन्द विषालु प्रजातिका सर्पको उद्धार गरी चितवन निकुञ्जमा लगेर छाडेको लिम्बूले बताए। यस वर्ष आफूले हाइलिभेनम्स (कडा विषालु) सर्प कोब्रा र करेट नभेटेको बताए।

‘गाउँमा आएको अजिङ्गरले कुखुरा र हाँस खाने गर्छ, अनि गाउँलेहरुले डराएर फोन गर्छन्’, लिम्बूले भने, ‘सर्पहरु मार्नु हुँदैन प्रकृतिका लागि यिनीहरुको आवश्यकता अपरिहार्य छ भनेर समुदायलाई बुझाउन पनि सर्प उद्धारमा खटिएको हो।’ नेचर गाइडसँगै संरक्षणको काम शुरु गरेको २० वर्ष भइसकेको लिम्बू बताउछन्। ‘चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स रिसोर्टमा म हुर्किएको हो, बाबासहित परिवारका सदस्य त्यहाँ कर्मचारी हुनुहुन्थ्यो’ लिम्बूले भने, ‘वाइल्डलाइफमा सबैले काम गर्ने गरेको तथा जङ्गलमा हुर्किएका कारण संरक्षणमा मेरो पनि रुचि बढेको हो।’

संरक्षणको काम गर्दागर्दैको अवस्थामा लिम्बूलाई सन् २०१४ मा गैँडाले आक्रमण गरेको थियो। गैँडाले आक्रमण गरेपछि उनी छ महिना ‘बेड रेस्ट’मा बसेका थिए।  ‘संरक्षणको पाटोमा यो मेरा लागि अविस्मरणीय क्षण बन्न पुगेको छ’, लिम्बूले भने, ‘निकुञ्जभित्र विदेशी पर्यटक लिएर पदयात्रामा गएका थियौँ, एक्कासि गैँडाले आक्रमण ग¥यो, आफू घाइते भएर भए पनि पाहुनालाई सकुशल राख्न सफल भएँ।’ निको भएर पुनः पर्यटकका पथप्रदर्शक भएर निकुञ्ज प्रवेश गर्दा दुई÷तीन महिनासम्म गैँडाको डर लाग्ने गरेको भए पनि पछि विस्तारै डर हराएको उनले बताए। 

निकुञ्ज घुम्न जाने क्रममा बाघ देख्दा सबैभन्दा खुशी लागेको उनले बताए। ‘हिँड्दै गरेको बेलामा बाघसँग जम्काभेट हुने घटना भनेको बिरलै हुने गर्दछ’, लिम्बूले भने, ‘बाघ लजालु प्राणी हो, मानिसको गन्ध थाहा पाए पनि बाघ लुक्छ, यसलाई हेर्नका लागि लामो समयसम्म कुरेर बस्नुपर्छ।’ बाघ विचरण गर्ने बेलामा छेउछाउमा रहेका चराचुङ्गी कराउँदै उड्ने, हरिण मृग दगुर्ने दृश्य निकै रोमाञ्चकारी हुने गरेको उनको भनाइ छ।

‘बाघ नै हेर्छु भन्ने हो भने तीन दिनसम्म पर्खनुपर्छ, बाघको आफ्नो क्षेत्र हुन्छ त्यही बाटो भएर उ विचरण गर्छ’, लिम्बूले भने, ‘एउटै ठाउँबाट बिहान, बेलुका पानी खान निस्कने गर्छ। मानिस हिँडेपछि मानिसको शरीरबाट निस्कने गन्धले बाघ लुक्छ। तर, कुरेर बस्यो भने बाघ देख्न सकिन्छ।’ उनले आगामी दिनमा पनि संरक्षणको काममा आफूलाई निरन्तर अगाडि बढाउने बताए। लिम्बू मेघौली घटगाईँ गाइड एशोसिएशनको संयोजकसमेत हुन्।

चितवन तथा नवलपुर क्षेत्रमा करिब २० वर्ष अगाडिदेखि निरन्तर पत्रकारितामार्फत वन र वन्यजन्तुको संरक्षणको पाटोमा आफूलाई उभ्याउँदै आएको नाम हो कोमलचन्द्र भगत। उनलाई मोफसलको अब्बल वातावरण पत्रकारको रूपमा समेत लिने गरिएको छ। नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य एवं आभास टेलिभिजनका प्रबन्ध निर्देशक भगतले जर्नालिज्म फर कन्जरभेसन (संरक्षणका लागि पत्रकारिता) भन्ने नारासहित समाचारका विभिन्न बिटमध्ये संरक्षण र वातावरणीय पत्रकारितालाई रोजेको बताउन्। विकास, संरक्षण, वातावरण र पर्यावरणलाई मुख्य बिट बनाएर पत्रकारिता क्षेत्रमा पेशागत धर्म निर्वाह गरिरेहेका भगतले चितवनको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्। 

मोफसलमा रहेर वातावरण पत्रकारिताको माध्यमबाट वातावरण, पर्यावरण र पर्यटन प्रवद्र्धन एवं संरक्षणमा टेवा पुर्‍याउँदै आएका भगतले विसं २०५६ मा आधिकारिकरूपमा भरतपुर वातावरणीय सामाजिक संस्थाको स्थापना गरी पत्रकारिता पेशा र वातावरणीय सरसफाइ एवं संरक्षण कार्यलाई सँगसँगै अघि बढाएको बताउछन्। गैरसरकारी संस्थाले गर्ने कार्यभन्दा सरसफाइका प्रचारमूलक सामग्री टेलिभिजनमार्फत प्रसारण गर्न सके समुदायमा थप प्रभावकारी हुने भगतको भनाइ छ।  

भगतले विसं २०५८ मा सामुदायिक टेलिभिजनको अवधारणा अघि सारी स्थानीय चितवन युनिक केबुलमार्फत प्रसारण हुने गरी श्रव्यदृश्य सञ्चारमाध्यम बेसो टेलिभिजन सञ्चालन गरेका थिए।  टेलिभिजन सञ्चालनसँगै पेशागत हिसाबमा शुरु भएको भगतको वातावरणीय पत्रकारिताले हालसम्म पनि निरन्तरता पाइरहेको छ। जिल्लामा छरिएका सबै विषयवस्तुलाई समाचार एवं कार्यक्रम निर्माण गरी प्रसारण गर्दै आएका  भगतले विसं २०७० मा आभास टेलिभिजनको स्थापना गरेसँगै पर्यावरण र विकास कार्यक्रम सञ्चालन गर्दै आएका छन्। 

पर्यावरण र विकास नामको टेलिभिजन कार्यक्रममार्फत भगतले संरक्षणको पाटोलाई प्राथमिकता दिनुका साथै संरक्षणसम्बन्धी समुदायलाई चेतना दिने कामसमेत गरे। उनले विभिन्न सङ्घसंस्था वा कार्यालयको सहयोगमा संरक्षणसम्बन्धी थुप्रै वृत्तचित्र पनि उत्पादन गरेको बताए। नेपालका विभिन्न स्थानमा रहेका राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, जिल्लाभित्र रहेका विभिन्न सामुदायिक वन, मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय रसुवालगायतसँग समन्वय गरी धेरै वृत्तचित्र, कार्यक्रम निर्माण गरिसकेको भगतले बताए। उनले निर्माण गरेका वृत्तचित्र तथा टेलिभिजन कार्यक्रमले वन र वन्यजन्तुका साथै संरक्षणको पाटोलाई नजिकबाट बुझ्न सकिने भगत बताउछन्।

राष्ट्रिय निकुञ्जभित्र हुने पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम, गैँडा गणना, सिमसार क्षेत्रमा हुने चरा गणनादेखि वन्यजन्तु र मानवबीचको द्वन्द्व, वन्यजन्तुको अवस्था, सामुदायिक वनमा हुने हरेक गतिविधिलाई भगतले आफ्ना विषयवस्तुको रूपमा पस्कँदै आएका छन्।  वातावरण पर्यावरण र संरक्षण क्षेत्रका साथै निकै संवेदनशील र सामाजिक सांस्कृतिक विषयमा पनि भगतले वृत्तचित्र निर्माण गरेका छन्। पत्रकार भगत नेपाल फोटो पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल फोटो पत्रकार महासङ्घ चितवनका संस्थापक अध्यक्षसमेत छन्।

उनले खिचेको गोहीले माछा खाँदै गरेको तस्वीर चीनमा भएको ‘बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी’मा उत्कृष्ट फोटोमा समेत छानिएको थियो। विभिन्न सङ्घसंस्थाले उत्कृष्ट कार्य गरेको भन्दै उनलाई पुरस्कृत तथा सम्मानसमेत गरेका छन्। वन, वातावरण, पर्यावरण संरक्षण, फोहर व्यवस्थापन, पर्यटन प्रवद्र्धनलगायत समाजका हरेक क्षेत्रलाई उजागर गर्नेजस्ता विषयलाई उठान गरी पत्रकारिता गर्दै आएका पत्रकार भगतसँग संरक्षण पत्रकारिताबारे २० वर्षभन्दा लामो समयको अनुभव छ। 

सरस्वती सेढाईँ जो आफू महिला भएर पनि आफूलाई संरक्षणको क्षेत्रमा स्थापित गरिन्। नियमित घरधन्दासँगै सेढाईँ संरक्षणको क्षेत्रमा समेत अगाडि बढाइन्। सेढाईँले सन् २०१७ देखि २०१९ सम्म बर्ड एजुकेशन सोसाइटीको अध्यक्ष भएर चराचुरुङ्गी र संरक्षणको क्षेत्रमा काम गरेकी थिइन्। समाजमा संरक्षण शिक्षा प्रदान गर्ने, चरा संरक्षणका लागि विभिन्न योजना तथा कामसमेत गरेको सेढाईँले बताइन्। नेपालमा पाइने चराको करिब ७० प्रतिशत प्रजाति चितवन राष्ट्रिय निकुञ्जमा पाइने भएकाले चरा संरक्षणका लागि आफूलाई अग्रसर गराएको सेढाईँको भनाइ छ।

नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये निकुञ्जमा ३३४ प्रजातिका चरा भेटिएका छन्। पछिल्ला दिनमा यो सङ्ख्या वृद्धि हँदै गइरहेको छ। नेपालका ३७ प्रजातिका लोपोन्मुख चरामध्ये २४ प्रजातिका चरा यहाँ पाइने हुँदा पनि यिनीहरुको संरक्षण अहिलेको आवश्यकता भएको सेढाईँको भनाइ छ। निकुञ्जमा पाइने चरामध्ये अति दुर्लभ चरामा खरमजुर, रागधनेश, डङ्गुरगिद्ध छन्। यस क्षेत्र चराको बासस्थान मात्र नभई बसाइँसराइको गन्तव्य पनि हो। गर्मीयाममा यहाँ ४७ प्रजातिका चरा बसाइँसराइ सरी आइपुग्छन् भने जाडोयाममा १४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन्। निकुञ्ज क्षेत्रमा कात्तिकको अन्तिम सातादेखि माघ अन्त्यसम्मको अवधि चरा आउने मुख्य समय भएको सेढाईँले बताइन्।  
नेपालको हिमाली क्षेत्रका साथै साइबेरिया, बर्मा, तिब्बतलगायतका जाडो प्रदेशबाट चिसो छल्न र आहाराको खोजीमा चरा यहाँ आउने सेढाईँले बताइन्। 

पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैया सुक्नु, नदी प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्याले चराको आगमन तथा वृद्घिमा ह्रास आएको उनको भनाइ छ। 

निकुञ्ज र आसपासका क्षेत्रमा जनचेतना अभाव र फितलो कानूनको फाइदा उठाउँदै चराको शिकार बढी भएका कारण पनि यहाँ चराको अस्तित्व विस्तारै सङ्कटमा पर्दै गएको उनको भनाइ छ।  आफ्नो कार्यकालमा सेढाईँले चराको सर्भेक्षण गर्ने, विद्यालयमा चरा संरक्षणसम्बन्धी प्रशिक्षण, विषादीरहित कृषि उपजमा जोड दिँदै कृषकलाई तालिमलगायतका विषयमा काम गरेको उनले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.