हरेक संस्करण सहभागितामै सकियो
हरेक संस्करण सहभागितामै सकियो
आज भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकविहीन भएर सकिएको छ। पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन। विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सीमित भयो।
खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ। सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो।
यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सीमित हुन पुगेको छ। विगत जस्तै यस संस्करणमा पनि केहीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने बाहेक सहभागिता उपलब्धिविहीन बन्यो।
गत संस्करणकै जसरी खेलाडीभन्दा धेरै भ्रमण गर्न जाने जम्बो टोलीको विषयले चर्चा पायो। असम्बन्धित पदाधिकारीले सयर गर्दा नेपाल ओलम्पिक कमिटी चर्को आलोचनामा परेको छ। यस पटक पनि नेपालको ओलम्पिक सहभागिता वाइल्ड कार्डभन्दा माथि उठ्न सकेन।
ओलम्पिक खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिष्पर्धा गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगीना वैद्य र दीपक विष्टबाहेक अन्य अघिल्लो चरण प्रवेश गरेका छैनन्।
संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेका थिए। के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सीमित हुने हो? खेलकुदविज्ञ सुशिल नरसिंह राणासँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश
नेपालले ओलम्पिक प्रतिष्पर्धामा सधैँ सहभागितामै चित्त बुझाउनुपर्ने हो?
यो आम मानिसको प्रश्न हो। नेपालले ओलम्पिक सहभागिता सधैँ जनाउने गरे पनि पहिलोबाट दोस्रो चरण पार गर्न सकेको छैन। यो संस्करणको सहभागिता पनि औपचारिकतामा सीमित भएको छ। आगामी तीन/चार वटा ओलम्पिक पनि अझै सहभागितामा मात्रा सीमित हुनेछन्। ओलम्पिकमा सहभागी बनेर फर्किएपछि हामी सुध्रिन सकेनौं भने नेपालको सम्भावना अझै कमजोर नै छ।
पुरानो सोचलाई नै हाबी हुन दिने हो भने ६ दशकको यात्रा औपचारिकतामा सीमित छ। आगामी ६ दशक पनि यस्तै हुनेछ। किनभने हाम्रो कर्मचारी तन्त्रले खेलकुद के भन्ने बुझेको छैन।
अनि सरकारले जिम्मेवारी दिएर नेतृत्व गर्न आएको खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी जस्ता संस्था, जसले खेलकुद विकासका लागि खाका तयार पार्नुपर्ने हो उनीहरू राजनीतिको स्वार्थमा पनि तल्लिन छन्। जबसम्म राजनीति र स्वार्थको खेल खेलुकदमा हाबी हुन्छ परिवर्तन २० औं वर्षसम्म पनि हुँदैन। खेलकुदले छलाङ मार्न सक्दैन। अर्को आधा शताब्दीमा पनि सम्भव हुँदैन।
खेलकुदमा राजनीति हाबी छ, राजनीतिक व्यक्तिहरूले खेलकुद विज्ञलाई खेलाडी उत्पादन गर्ने जिम्मेवारी किन दिँदैनन्।
नेपाली खेलकुदमा धेरै विज्ञ छन्। अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा र छवि बनाएका टेक्नोक्रयाट (प्राविधिक) पनि छन्। तर समस्या के छ भने सही मान्छे खेलकुद निकायमा आउन सकेका छैनन्। अहिलेकै उदाहरण हेर्ने हो भने प्रदेशबाट आउने व्यक्ति कुनै न कुनै राजनीतिक पृष्ठभूमिको हुन्छ। उनीहरूको ध्यान पद मात्र लिने रहन्छ। त्यस्ता व्यक्तिहरूसँग खेलकुद विकास गर्न कुनै पनि योजना छैनन्।
सरकार कसको छ त्यसनिकट व्यक्तिहरू नेतृत्व गर्न आउँछन्। अहिलेको सदस्य सचिव (रमेश कुमार सिलवाल) आउनुभन्दा पहिले धेरैले खेलकुद क्षेत्र बुझेको सदस्य सचिव आउने आश गरेका थिए।
तर अन्तिम राजनीतिक क्षेत्रमा जसको बढी पहुँच भएको व्यक्ति थियो, ऊ नै नेतृत्वमा आए। यस्तै नेतृत्व सरकारप्रति मात्र बफादार हुन्छ। उनीहरूको ध्यान कसरी विवादरहित कार्यकाल सकाउनेमा मात्र ध्यान हुन्छ। उनीहरूसँग खेलकुद विकास गर्ने कुनै योजना हुँदैन। खेलकुद विकासका लागि सोच्ने फुर्सद नै हुँदैन। ओलम्पिककै कुरा गर्नु पर्दा यो बृहत् क्षेत्र हो।
यसमा पुग्नका लागि दीर्घकालीन योजना निकै नै अपरिहार्य छ। अहिले हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अभ्यासलाई नियाल्ने हो भने हामी दीर्घकालीन योजनामा अघि बढेको देखिँदैन।
सधैं केही महिनाको तयारी र सहभागिता मात्र हुँदै आएको छ। केही महिनाको तयारीमा हामी साफ, एसियन गेम्स खेल्दै आएका छौं। तर ओलम्पिक भनेको बृहत् क्षेत्र हो। यो छोटो र अल्पकालिन योजनाले सम्भव छैन। दीर्घकालीन योजना बनाएर युथ एथ्लिट्सहरूलाई अभ्यास दिलाउँदै उनीहरूको खेललाई निखार्ने हो भने मात्र नेपालको सम्भावना छ।
यतिका विषयमा ध्यान दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले दिएको कार्यक्रममा सम्बन्धित संघ अथवा खेलकुद क्षेत्रले बुझ्न सकेको छैन। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अहिले नेपाल सरकारले गराउँदै आएको छ। जसमा नयाँ खेलकुदमा लाग्ने खेलाडीले सहभागिता जनाउँदै आफ्नो प्रतिभालाई प्रस्फुटन गराएका हुन्छन्।
तर सम्बन्धित संघ अथवा खेलकुद क्षेत्रले उनीहरूलको प्रदर्शनलाई कहिल्यै पनि नियाल्न सकेको छैन। साँच्चिकै प्रतिभावान् खेलाडी जो खेलकुदमा केही गर्न चाहेका हुन्छन्, उनीहरू प्रति कोही पनि जवाफदेही छैनन्।
हामी यस्तो सोचबाट धेरै नै टाढा छौं। रातारात कोही पनि पूर्ण खेलाडी बन्न सक्दैन। हाम्रा पुराना खेलाडी जो खेलकुद क्षेत्रमा कहलिएका छन् उनीहरूको खेल करियर कलिलै उमेरबाट शुरु भएको देख्न सकिन्छ। त्यसै पनि हामीले खेलाडीको वृद्धि विकासका लागि उमेर समूहमा नै ध्यान दिन जरुरी छ।
दीर्घकालीन ढंगबाट खेल क्षेत्र अघि बढाउन के–के विषयमा ध्यान दिन जरुरी छ?
दीर्घकालीन ढंगबाट अगाडि बढ्नका लागि योजना मात्र बनाएर सम्भव हुन सकेन। योजनालाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकाय लागि परे पनि सम्भव छ। बनाएका योजना कार्यान्वयन गर्ने सोचको अभाव रहुन्जेलसम्म योजना बनाए पनि काम छैन। पोलिस लेभलमा नै बन्न सकेको छैन। बनेको खण्डमा कार्यान्वयन गर्ने त संघ छन्। अहिलेको अवस्थामा कुनै पनि योजना बन्न सकेका छैनन्। सम्बन्धित संघ पनि सुस्ताएको अवस्था छ।
कति संघले त वार्षिक क्यालेन्डर पनि बनाएका छैनन्। अझै महामारीले गर्दा त्यस्ता संघहरूलाई फाइदा मिलेको छ। अभ्यास गर्ने स्थल बन्द भएको बहाना संघलाई मिलेको छ। खेलाडीमा अहिले केवल नैराश्यता मात्र छाएको छ। खेलेर जीविका सञ्चालन गर्न कठिन हुने खेलाडीले बुझिसकेका छन्। खेलकुद क्षेत्रमा चिनिएका तथा उदाउँदै गरेको खेलाडीको अवस्था कस्तो होला ? यही अवस्था चलिरह्यो भने नेपालले सहभागिताका लागि वाइल्ड कार्डकै भर पर्नुको विकल्प छैन।
ओलम्पिकमा खेलाडीको सहभागिता न्यून भएको अवस्थामा २६/२७ जनाको भ्रमण टोली बन्नु आवश्यकता हो कि बाध्यता? यस विषयमा सधैँ आलोचना किन हुन्छ ?
वास्तवमा यो निकै नै अस्वाभाविक विषय हो। हिसाबकिताबकै आधारलाई मान्ने हो भने पाँच जना प्रशिक्षक, पाँच जना पदाधिकारी भए पुग्ने थियो। जम्बो टोलीको आवश्यक छैन।
अहिले ओलम्पिकमा गएका पदाधिकारी माथिल्लोस्तरका छन्। उनीहरूका लागि भ्रमण ठूलो विषय पनि होइन। लग्नु नै थियो भने खेल बुझ्ने पदाधिकारी, डाक्टर लग्नु पर्ने थियो।
पदाधिकारीलाई लग्नु अहिलेको अवस्थामा अलि अस्वाभाविक भएको मात्र हो। यसरी ठूलो संख्यामा पदाधिकारीलाई सयर गराउनुले जनमानसमा राम्रो सन्देश जाँदैन। खेलकुदमा नराम्रो सन्देश जान्छ। अनि अभिभावकको विश्वास नै टुट्छ। मैले किन मेरो बालबच्चा खेलक्षेत्रमा पठाउने भन्ने प्रश्न सबैमा उठ्न थालेको छ।
कसरी लगानी गर्ने प्रायोजक संस्थामा प्रश्न उब्जिन थालेका छन्। ठूलो जमातलाई नै यो किसिमको क्रियाकलापले खेल क्षेत्रमा लागेका खेलाडीलाई भड्काइरहेका छौं। त्यसैले नेतृत्व तहबाट धेरै विचार गर्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।