|

दाङ : पोखरा घर भएका प्रकाश गौतमलाई मानव सेवा आश्रमले बुटवलबाट उद्धार गर्‍यो। उनलाई आश्रमले करिब ५÷६ महिना बुटवलको सडकमा खुट्टा फ्याक्चर भएको अवस्थामा उद्धार गरेको थियो।  अहिले उनी निको भएका छन्।

उनले दाङको तुलसीपुरमा रहेका मानव सेवा आश्रममा रहेका शारीरिक, मानसिक र पारिवारिक समस्याका  कारणबाट पीडित आमा बुबा लगायतका ब्यक्तिहरूको  हेरचाह गर्दै आएका छन्। उनले यसरी आफूले सेवा गर्न पाउँदा धेरै खुशी भएको बताए।
‘मेरो बुवा आमा हुनुहुन्न,’ उनले भने,‘ यहाँ आश्रम सञ्चालन भएदेखि सेवा गर्दै आएको छु। सबै आफ्नै बुवा आमा जस्तै लाग्छ। धेरै वृद्ध हुनुहुन्छ। उहाँहरूलाई खाना खुवाउने, नुहाउने, सबै सेवा गर्दै आएको छु।  मैले नयाँ जीवन पाएको छु। त्यसैले गर्दा अब मेरो जीवन यसरी नै सेवामा खर्चिन्छु।’

गौतम मात्र नभई तुलसीपुर ६ गाइडहरमा रहेको आश्रम बस्दै आएकी ६८ वर्षीया जयसरा भण्डारी पनि निकै खुशी भएकी छन्। उनको घर दाङको तर, उनले आफ्नो ठेगाना भन्न मानिन्। उनलाई आफू आश्रममा बसेको भएता पनि परिवारको इज्जत नजाओस भनेर होला घर दाङ मात्र भएको बताइन्। उनी आश्रममा आउनु भन्दा पहिले पश्चिम दाङमा विभिन्न ब्यक्तिहरू घरमा बस्दै आएको बताइन्। तर, आश्रममा आएको आज १३ दिने भएको भन्दै उनले यहाँ आएपछि आफूले भगवान नै भेटाएको भन्दै खुशी व्यक्त गरिन्।

‘गत चैतमा मलाई प्रेसरले गर्दा प्यारालाइसिस भयो,’ उनले भनिन्,‘ मलाई घरपरिवारबाट हेरेनन्। अहिले पनि त्यति राम्रो छैन्। तर, आश्रममा आएपछि धेरै राम्रो सेवा पाएकी छु। खाना, बस्ने र औषधि पनि पाएकी छु । यहाँ म जस्ता धेरै पीडितहरू छौँ।  हामी सबै खुशी छौँ।’

त्यस्तै अर्घाखाँचीकी  गीता न्यौपाने न्यौपानेकी छोरी उतै छन्, भने  श्रीमान भारतको दिल्लीमा छन्। आफू बिरामी भएपछि कसैले पनि नहेर्दा उनी सडकमा भौँतारिन पुगिन्। उनी अहिले आश्रममा बस्दै आएकी छन्। अहिले आश्रममा बस्न लागेपछि आफू धेरै खुशी भएको बताइन्।

उनले आफ्ना परिवार नै यहाँका सबै रहेको समेत बताइन्।  दाङमा सञ्चालनमा आएको मानव सेवा आश्रमले गरेको काम एकदमै पुण्यको काम भएको तुलसीपुर ८ सुनवर्षका यमनारायण सापकोटाले बताए। उनले  राज्यले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै यस्तो कार्यमा सबैले साथ दिनुपर्नेसमेत बताए।

त्यस्तै, उनले बुधबार आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई १० हजार सहयोग गरेका छन्।  सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा गर्ने लक्ष्यका साथ देशका विभिन्न ठाउँहरूमा बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन ब्यक्तिहरूलाई हेरचाह गर्दै आइरहेको छ। तुलसीपुरमा पनि २ जना सुत्केरी सहित २२ जना रहेको आश्रमका जिल्ला संयोजक उर्वीन सापकोटाले बताए।

गत चैतदेखि तुलसीपुरमा सञ्चालन आएको आश्रमले मासिक ८० हजार भन्दा बढि भाडाको घर लिएर सेवा दिँदै आएको उनले बताए। तत्काल ८० जना सम्म राख्न सकिने क्षमता रहेको समेत उनले बताए। उनले भने,‘ यो हाम्रो संस्था निःस्वार्थ मानव सेवाको लागि हो। हामीलाई विभिन्न ब्यक्तिहरुबाट आएको सहयोग र आफैँ ब्यवस्थापनले सञ्चालन गर्दै आएका छौँ। तुलसीपुर उपमहानगरले हामीलाई खाद्यान्न सहयोग गरेको थियो।’

आश्रममा रहेका ब्यक्तिहरूलाई हेरचाहसंगै उपचारहरु गर्ने गरेको समेत उनले बताए। त्यस्तै आश्रममा रहेका ब्यक्तिहरूलाई राप्ती प्रादेशिक अस्पातल उपचार गर्ने गर्ने गरेको र  आश्रममा एक जना स्वास्थ्यकर्मी राखेर सहयोग गर्दै आएको जिल्ला संयोजक सापकोटाले बताए।

उनका अनुसार आश्रममा केही घरपरिवार भए र केही कोही पनि नभएका आउने गर्दछन्। उनीहरुलाई आश्रममा राखेर हेरचाह र उपचार गरेपछि परिवार सम्पर्कमा आएपछि जिम्मा लगाउने गरिन्छ। उनले यसरी आफूले विगत ४ वर्षदेखि सेवा गर्दै आइरहेको भन्दै धेरै खुशी लाग्ने बताए।

‘म एउटा स्वास्थ्यकर्मी हु। म यो आश्रममा स्वास्थ्य सेवा दिनको लागि शुरुमा काम गरेको थिए,’ उनले भने,‘ अहिले दाङमा सम्पूर्ण जिम्मेवारी लिएर सेवा दिँदै आएको छु। मैले कति कमाए भन्दा पनि कति खुशी छु। त्यसले ठुलो महत्व राख्द छ। त्यसैले आज म धेरै खुशी छु।’

उनले आफ्नो घर काभ्रेपलाञ्चोक भएता पनि दाङमा आएर विभिन्न ठाउँका आमा  बुवा लगायत ब्यक्ति सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.