|

डडेल्धुरा : मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीका परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन हुन सकेको छैन।

शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएको जनाएको हो।

नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो। तर, हालसम्म नगरपालिकाले राहतस्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए।

अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो। तर, सहमति कार्यान्वयनमा भने नगरपालिकाले चासो नदिएको बोहराको आरोप छ।

नगरप्रमुख भीमबहादुर साउँदले उतिबेला सहमति चाँडै कार्यान्वयन हुने र शव बुझ्न आग्रह गरेका थिए। नगरप्रमुख साउँदको आग्रह र कार्यपालिकाको बैठकले राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए।

जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, उनका आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपगर्नेलगायत माग राखेका थिए। डेढ महिना हुँदासम्म यी माग पनि नगरपालिकाले सम्बोधन नगरेको संयोजक बोहराले जानकारी दिए।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरूले नगरपालिकाले दिने भनेको साढे ७ लाख रुपैयाँ यो आर्थिक वर्षमा दिइने बताए। यसका साथै उनले नियुक्ति पत्र दिने प्रक्रिया पनि स्वास्थ्य शाखाले अगाडि बढाइरहेको जानकारी दिए।

आधारभूत स्वास्थ्य केन्द्रको ‘अस्मिता’ नाम राख्ने भन्ने विषय भने जटिल रहेको प्रतिक्रिया दिए। उनका अनुसार स्वास्थ्य केन्द्र संघीय सरकारको लागतमा निर्माण भएको हो। सोही कारण उनको नाम राख्न अलि जटिलता सिर्जना हुने उनको तर्क छ।

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.