|

जाजरकोट : नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पाँच वर्ष सम्म पनि पुरा हुन सकेको छैन।

डीपीआरको काम अष्ट्रेलियन कम्पनी स्मेकले गरिरहेको छ। स्मेकले डीपीआरको काम करिब ८५ प्रतिशत सकिएको र सेप्टेम्बरमा काम पुरा हुने दाबी गरेको छ। स्मेक, एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्तरुपमा डीपीआरको काम गरिरहेका छन्।

सन् २०१६ मा नै ३१ महिनामा डीपीआरको काम सक्ने गरी नलगाड जलविद्युत कम्पनी र सम्वद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो।

यसअघि डीपीआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म ९ महिना दोस्रोपटक डीपीआरको समयावधि थप भइसकेको छ।

मन्त्रालयले नलगाड जलविद्युत आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ। सरकारले उक्त आयोजनाका लागि वैदेशिक लगानी जुटाउन प्रयास गरिरहेको छ।

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले आयोजनामा लगानी गर्ने इच्छा राखेको छ। त्यसबारे पूर्वमन्त्रीहरु, सचिव र सह–सचिवस्तरमा जाइकासँग पटकपटक छलफल भइसकेको छ।

डीपीआरको हालसम्म तयार भएको विवरणअनुसार आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ।

जलाशययुक्त आयोजना भएका कारण जलाशय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने देखिएको हो। नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल निर्माण हुने छ।

नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ। आयोजनाका लागि बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन्।

यस्तै २४८ मिटर अग्लो बाँध निर्माण हुनेछ। जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुनेछ। आयोजनामा चार वटा टर्वाइन रहनेछन्। प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट एक वर्षमा एक हजार २३२ मेगावाट (घण्टा) ऊर्जा उत्पादन हुनेछ।

आयोजनाबाट उत्पादित विद्युत ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सवस्टेशनमा जोडिनेछ। नलगाडकै दानीपिपलमा ४०० केभी प्रशारण लाइनको सवस्टेशन निर्माण कार्य जारी छ। नलगाड निर्माणकै लागि चार मेगावाटको ताँसुगाड जलविद्युत आयोजनाको डीपीआरको काम जारी छ। 

पाँच वर्षको प्रगती 

आयोजना निर्माण स्लथ र बाध स्थलमा (मेकानिकल टेष्ट) ढुङगाको क्षमता जाँचको काम सकिएको छ। भूमिगत विद्युत उत्पादन गृहमा ३२० मिटर लामो सुरुङ निर्माण भएको छ भने बाँकी ५५ मिटर खन्न बाँकी छ।

सो कामको लागि भारत लगायत देशबाट मजदुरहरु आउने क्रममा रहेको आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए। थापाका अनुसार डीपीआर निर्माणको काम पाँच महिनाभित्र पुरा हुने अपेक्षा लिइएको छ। आयोजना स्थलमा जग्गा अधिग्रहणको काम सकिएको र बाँकी घरको मुआब्जा दिन मात्र बाँकी छ।

घरको मुआब्जा दिनका लागि चालु आर्थिक वर्षमा त्यो काम सुरु हुने उनले बताए। आयोजना स्थलमा ६०० भन्दा बढी घरहरु छन्। २०७६ भदौ २७ गते देखि हाल सम्म निर्माण हुँदै गरेका घरको मुआब्जा आयोजनाले नदिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले निर्णय गरेको हो।

कालीमाटीदेखि आयोजनास्लथ सम्म पुलबाहेक सडक निर्माण कार्य पुरा भएको छ। पुस मसान्त सम्म पुलको काम सक्ने ठेकेदार कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत उत्पादन गृहदेखि काँडादल्ली सम्मको बाटो निर्माणका लागि प्रदेश वा आयोजना कसले बाटो बनाउने भन्नेमा सल्लाह भइरहेको छ। सर्वेको काम पुरा भएका कारण सडक निर्माणका लागि बोलपत्र खोल्ने काम मात्र बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.