|

झापा : झापाका पाँच किशोरलाई भारतबाट उद्धार गरिएको छ।

पश्चिम बंगालस्थित नेपाली महावाणिज्य दूतावास कोलकाताको सहयोगमा विश्व सेवा विस्तार संस्था काँकडभिट्टाले पाँच बालकलाई शुक्रबार दिउँसो स्वदेश फर्काएको संस्थाका वरिष्ठ कर्मचारी प्रमिला दुरालले जानकारी दिइन्।

पश्चिम बंगालको जलपाईगुरीस्थित कोरोकोम बाल आश्रममा आश्रय लिएर बसिरहेका ती किशोरहरूलाई काँकडभिट्टा नाकाबाट स्वदेश फर्काइएको उनले बताइन्।

उद्धार गरिएका किशोरहरू दमक नगरपालिका- १ निवासी १४ वर्षीय खेम राजवंशी, मेचीनगर नगरपालिका- १ निवासी वर्षीय १६ वर्षीय अनिस विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर- ५ निवासी १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल छन्।

उनीहरूलाई परिवारको जिम्मा लगाइसकिएको छ। करिब १८ महिनाअघि मेचीनगरका चार किशोर एकै ठाउँमा भेला भएर भारतको सिलगुढीतर्फ घुम्न गएका थिए।

त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जलपाइगुरीस्थित बाल आश्रम बुझाइदिएका थिए। उनीहरूको खोजी गर्ने क्रममा मेचीनगरका चार र दमकका एक गरी पाँच किशोर त्यहाँ फेला परेका संस्थाका कार्यक्रम संयोजक कुमार बस्नेतले जानकारी दिए।

यता आफ्ना हराएका छोरा फेला परेपछि अभिभावकहरू दङ्ग हुँदै विश्व सेवा विस्तार संस्थालाई धन्यवाद दिएका थिए।

मानव बेचबिखन र बालबालिकाको हकहितका लागि काम गर्दै आएको विश्व सेवा विस्तार संस्थाले यसअघि पनि थुप्रै बालबालिका तथा महिलाहरूलाई भारतका विभिन्न स्थानबाट उद्धार गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.