|

काठमाडौं : नेकपा एमालेको अन्तरकलह मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला शीर्ष नेताहरु भने एकअर्काविरुद्ध झनै खरो रुपमा आरोप प्रत्यारोपमा उत्रिएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आज काठमाडौंमा आयोजित दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी भएर एक अर्काविरुद्ध तुष पोखेका छन्। यसले दुबै नेता एकताका लागि अनइच्छुक रहेको देखिन्छ। 

एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउँ नभएको बताए। ‘बाटो बिराएको साथीहरु मुख्यमुख्य अपराधीहरु बाहेक। अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,’ ओलीले भने। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई प्रतिक्रियावादीको मतियार बनेको आरोपसमेत लगाए। 

ओलीले विश्वासको मत दिने बाहेकसँग पार्टी एकताका लागि नेताहरुसँग छलफल गरिरहेको बताए। अरु गल्ति महशुस गरेर फर्किए पार्टीमा ठाउँ दिने र पार्टीमा नआउने छुट्दै जाने उनको भनाइ छ। नेता नेपाललाई ‘मुख्य अपराधी’ भन्दै अध्यक्ष ओलीले अरु बाटो विराएकाहरुलाई भने पार्टीमा फर्किन आग्रह गरे।

अबको निर्वाचनमा नेता नेपाल नभए पनि बहुमत आउने अध्यक्ष ओलीको दाबी छ। ‘अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौँ। किनभने, पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन्। अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उमेदवार बनाउन खोज्यो, नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन्, उसलाई उमेदवारको रुपमा अघि सार्नुपर्छ भन्ने,’ उनले भने, ‘अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ।’

अध्यक्ष ओलीले सर्वोच्च अदालत र नेता नेपालका कारण आफ्नो सरकार ढलेको आरोप लगाइरहेका बेला नेता नेपालले उल्टै ओलीलाई फेरि फर्केर प्रधानमन्त्री हुने आशा नराख्न भने। ‘सर्वोच्च अदालतले गलत काम सच्चाइएको छ, कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुन्छ। जे हुन्छ सिधासिधा हुन्छ।’ नेता नेपालले भने। 

आफूनिकट अखिल फोर्सको भेलालाई बबरमहलस्थित कार्की ब्याङ्केटमा सम्बोधन गर्दै  नेता नेपालले अध्यक्ष ओलीको घमण्डले आफै पतन हुने टिप्पणी गरे। ’अहंकारले मान्छेलाई कतै पुर्‍याउँदैन। त्यो अवश्य पतन हुन्छ। कोही मान्छे वचनको पालना गर्दैन भने त्यसलाई इमान्दार नठान्नुहोस्। मै जान्ने मेरासामू अरू कोही छैन भन्ने प्रवृत्तिबाट टाढा रहनुहोस्।’ 

वालुवा पेलेर तेल निकाल्न सकिनेमा कार्यदल विश्वस्त

शीर्ष नेताका यस्ता अभिव्यक्ति र गतिविधि जारी रहेका बेला विघटित कार्यदलका सदस्यहरु भने एकताका लागि प्रयास अझै जारी राखेका छन्। शनिबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि नेता गोकर्ण बिष्टले एकता प्रक्रियालाई ढिलाई गर्दा झन् धेरै कुरा बिग्रने परिस्थिति बनेको भन्दै अब १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्ने निश्कर्षमा आफूहरु पुगेको पत्रकारलाई सुनाएका थिए। 

छलफलमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका नेताहरू सहभागी थिए।

स्थायी कमिटी बैठक सारियो

त्यसपछि आज दिउँसो बसेको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष ओलीले आफू पक्षीय  विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङलाई केही प्रगति भयो?  भनेर सोधेका थिए। जवाफमा नेम्वाङले आफूहरु छलफलमै रहेको बताएपछि नेपाल समूहका नेता रावलले नेम्वाङको कुरामा सहमति जनाएका थिए। 
त्यसपछि अध्यक्ष ओलीले बैठक स्थगित भएको घोषणा गरेका थिए । 
  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.