|

पर्वत : मौसम परिवर्तनको बेला नजिकिएसँगै पर्वत अस्पतालमा बिरामीहरूको चाप उच्च बनेको छ।

सामान्यतः इमर्जेन्सीमा बाहेक दैनिक ५०/६० जना बिरामीले परीक्षणका लागि नाम दर्ता गराउने गरेको भए पनि पछिल्लो समय दैनिक डेढ सयभन्दा बढी हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताए।

सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीहरूको संख्या बढिरहेको छ। हामीले एकै दिनमा १७० जनासम्मको स्वास्थ्य परीक्षण यो बेलामा गरेका छौं‚उनले भने, ‘आएकामध्ये ५० प्रतिशत दीर्घ रोग भएर नियमित औषधि सेवन गरिरहेकाहरू रहेका छन्। आधामा ज्वरो, रुघा, खोकी लगायतको तत्कालीन समस्या भएका आएका छन्।

गर्मी मौसमबाट बिस्तारै जाडोतर्फ जाने समय हुनु र एकै दिनमा पटकपटक वर्षा र घाम भोग्नुपर्दा त्यसको प्रतिकूलताले स्वास्थ्यमा असर देखिने भएका कारण पनि अस्पतालमा बिरामीहरूको संख्या बढेको उनको भनाइ छ। गत असारमा खेतीपातीका लागि व्यस्त हुनुपर्ने भएकाले त्यो समयमा स्वास्थ्य समस्या देखिएकाहरू पनि फुर्सदको बेला पारेर यही बेलामा स्वास्थ्य आएकाले पनि भिडभाड भएको डा. पौडेल बताउँछन्।

यस्तै‚ स्वास्थ्य बिमा गरेपछि पनि स्वास्थ्य परीक्षण गराउनेहरूको संख्या बढ्दै गएको छ। जिल्लामा स्वास्थ्य बिमा गराउनेहरूको संख्या बढ्दै गएको र उनीहरूले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ नै स्वास्थ्य परीक्षणको लागि अस्पतालमा पुग्ने गरेका छन्।

कोरोना महामारीको कारण पनि अस्पतालमा स्वास्थ्य परीक्षण गराउनेहरूको भीड बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी बताउँछन्। कोरोनासँग मिल्ने सामान्य लक्षण मात्रै देखिए जोखिम मोलेर घरमा बस्नुभन्दा अस्पताल पुगेर रिपोर्ट हेर्न चाहने कारणले पनि चाप उच्च भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.