|

गुल्मी : गुल्मीमा साढे ६० हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। २०७६ माघ २१ देखि बिमा लागु भएको गुल्मीमा ३२ हजार महिला र २८ हजार ५०० पुरुष गरी कुल ६० हजार ५०० जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका प्रमुख डिकेन्द्रबहादुर विष्टले जानकारी दिए।

१२ वटा स्थानीय तहको ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य बिमा गरिएको हो। रेसुंगा नगरपालिकाका १० हजार ७००, मुसिकोट नगरपालिकाका तीन हजार ३००, मालिका गाउँपालिकाका तीन हजार ८००, मदाने गाउँपालिकाका एक हजार ४५०, इस्मा गाउँपालिकाका दुई हजार ८०० र धुर्कोट गाउँपालिकाका चार हजार जनाले बिमा गरेको कार्यालयले जनाएको छ।

यस्तै‚ गुल्मीदरबार गाउँपालिकाका पाँच हजार, छत्रकोट गाउँपालिकाका ६ हजार २०० र रुरु गाउँपालिकाका सात हजार ९०० जनाले बिमा गरेका छन्। कालीगण्डकी गाउँपालिकाका चार हजार, चन्द्रकोट गाउँपालिकाका दुई हजार १२५ र सत्यवती गाउँपालिकाका आठ हजार ५५० जनाले बिमा गरेको विष्टले बताए।

२०६८ सालको जनगणना अनुसार गुल्मीमा ६५ हजार घरधुरी र दुई लाख ८० हजार १६० जनसंख्या रहेको छ। तीमध्ये २१ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन्। त्यस्तै घरधुरीको आधारमा ३० प्रतिशतभन्दा बढी घरपरिवारले बिमा गरेका छन्।

सरकारले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा निःशुल्क गर्दै आएको छ। गुल्मीमा ७० वर्ष काटेका ११ हजार १३७ जनाले स्वास्थ्य बिमा गरेका छन्। त्यस्तै ‘क’ वर्गका अपांगता भएकाहरुलाई पनि निःशुल्क बिमा गरिन्छ। जसमा ५२८ घरपरिवारले स्वास्थ्य बिमा गराएका छन्। घरमा एकजना ‘क’ वर्गको अपांग भएका उक्त घरका पाँचजनासम्मको निःशुल्क बिमा हुँदै आएको छ।

एचआइभी एड्स संक्रमण भएकाहरु ८२ जनाले घरपरिवारलाई समेत स्वास्थ्य बीमा गरिएको कार्यालयले जनाएको छ। त्यस्तै‚ कुष्ठ रोग लागेका सातजनाको घरपरिवालाई निःशुल्क बिमाको सुविधा पुगेको छ। महिला स्वंमसेविकाहरुको पनि ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा गरिन्छ। कुल एक हजार ७५० रुपैयाँ तिरेर स्वयं सेविकाहरुले पाँचजना परिवारसम्मको स्वास्थ्य बिमा गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.