|

धनगढी : दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे भारतीय पक्षले जवाफ पठाएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन्।

पिथौरागढका जिल्ला अधिकारीले लिखित जवाफ पठाएको जोशीले थाहाखबरलाई बताए। उनले भने, ‘भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै जवाफ पठाइएको छ। तुइन तरिसकेपछि युवक आफैं चिप्लेर महाकालीमा खसेका हुन् भनिएको छ।’

जवाफमा घटनापछि युवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली तयारी अवस्थामा राखेको समेत जानकारी गराएको छ। शुक्रबार बिहान व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताउँदै आएका छन्। 

यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको जनाएको छ। ‘एसएसबीका जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित सूचना र समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो घटना अनुसन्धान र छानबिनकै क्रममा रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहीन सूचना र समाचार प्रकाशन नगरिदिन अनुरोध छ।’ 

प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गृहमन्त्रालयले घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.