|

झापा : बिर्तामोड नगरपालिकामा लगाएको ताला ३० घण्टापछि खुलेको छ। खोप प्रकरणको विषयमा ईलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेलामा सात बुँदे सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको हो।

सर्वपक्षीय भेलाले साउन १५ गते बिर्तामोड नगरपालिका– १ स्थित टायमलेस मोमेन्ट होटेलमा कोभिड– १९ विरुद्धको चाइनिज भेरोसेल खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खडका शङ्कास्पद अवस्थामा फेला परेका थिए।

उक्त घटनाका सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले शनिबार नै सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा छानबिन समिति गठन गरी सात दिन भित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

बैठकले उक्त विषयमा सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाही गर्न अनुरोध गर्ने तथा छानबिनका लागि आवश्यक सहयोग गर्ने निर्णय भएको छ।

त्यस्तै फोकल पर्सन खडकालाई जिम्मेवारीबाट तत्काल अलग गर्न नगरपालिकालाई अनुरोध गर्ने, कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्राप्त खोपलाई व्यवस्थापन गर्न सर्वदलीय संयन्त्र (वडा स्तरीय) निर्माण गरी कार्यान्वयन गर्न नगरपालिकालाई अनुरोध गर्ने, खोप प्रकरणपछि उत्पन्न परिस्थितिले नगरपालिकामा लगाइएको ताला खोली नगरको प्रशासनिक कामकाज सुचारु गर्ने निर्णय भेलाले गरेकाे छ।

यस्तै बिर्तामोड नगरपालिकालाई हालसम्म प्राप्त भएका खोपहरूको विवरण सार्वजनिक गर्ने, हालसम्म नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि भएको आम्दानी र खर्चलाई सार्वजनिक गर्ने र अब तोकिएको उमेर समूहका व्यक्तिहरूलाई मात्र खोप उपलब्ध गराउने निर्णय गरिएको छ।

बैठकमा नगरपालिकाका मेयर धुव्रकुमार सिवाकोटी, प्रदेश सांसद एकराज कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा माओवादीका मोहन सुब्बा, नेकपा एमालेका उमनाथ ओली, राप्रपाकी नगर अध्यक्ष रंन्जु प्याकुरेल, जसपाका नगर अध्यक्ष तिलबहादुर राई, उद्योग वाणिज्य सङ्घका प्रकाश सिवाकोटी, इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी सन्तोष आचार्य, विद्यार्थी संघ संगठनका नेता, वडा अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो।

नगरपालिकाका स्वास्थ्य कर्मचारी खडकालाई कारबाही माग गर्दै विरोधमा उत्रिएका स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी सङ्घ झापा र अखिल क्रान्तिकारी झापाले नगरपालिको प्रशासनिक भवनमा शनिबार बिहान संयुक्त रुपमा तालाबन्दी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.