पुल बनेको भए धामी बाँच्थे

|

धनगढी : दार्चुलाका ३३ वर्षीय जयसिंह धामी। जो अहिले बेपत्ता छन्। शुक्रबार धामी दार्चुलाको मालघाट पुगे। उनी त्यहाँ नपुग्दै मालघाटमा यात्रुको लाइन नै लागिसकेको थियो।

घरबाट दार्चुलाको जिल्ला सदरमुकाम जान हिँडेका थिए धामी। स्थानीयसँगै गएका अरु सबै फर्किए। तर फर्किएन् उनी। सदरमुकाम पुगेर बस चढ्ने र काठमाडौं हुँदै विदेश जाने यात्रा थियो उनको। 

दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो हिँड्नुपर्ने थियो। अवस्था, नहिँडी नहुने। दुःखका जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना महाकालीमै डुब्यो

महाकालीको मालघाटस्थित तुइनबाट नदी तरेर भारतीय बाटो हुँदै सदरमुकाम पुग्न हिँडेका उनी तुइनबाट नदीमा खसेर बेपत्ता भएका हुन्। तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि जयसिंह महाकालीमा खसेको र बेपत्ता भएको स्थानीयको रटान छ।

स्थानीय नवीन धामीका अनुसार सदरमुकाम खलंगा जान हिँडेका ६/७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए। पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए। चौथो यात्री थिए जयसिंह। उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए।

‘पारि पुग्न तीन/चार मिटरमात्र बाँकी थियो होला, त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा खोलिदिए। तुइनसहित जयसिंह पनि महाकालीमा खसे, पानीको बेगले उनलाई बगायो,’ नवीनले भने।

एसएसबीका सुरक्षाकर्मीले लट्ठा खोल्न थालेपछि वारिबाट मान्छेहरू चिच्याएका थिए। ‘तुइन नखोल्न एसएसबीलाई आग्रह गर्दासमेत वास्ता भएन । हात जोड्दा, सलाम गर्दा पनि फटाफट तार खोलिरहे। जयसिंहले त एसएसबीले तुइन खोलेको समेत पत्तो पाएनन्,’ नवीनले भने।

तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाएनन्। ‘केही परसम्म हामीहरूले जयसिंहलाई बगेको देख्यौं, केही तलसम्म खोज्न पनि गयौं तर भेट्टाउन सकेनौं,’ प्रत्यक्षदर्शी विक्रम रङ्कलीले भने। लगत्तै गाउँलेलाई घटनाबारे जानकारी गराएपछि सबै स्थानीय जयसिंहलाई खोज्न महाकाली किनारतिर लागेका उनले बताए।

अहिलेसम्म कुनै पत्तो छैन

शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिएपछि खसेर महाकालीमा बेपत्ता भएका धामीको जीवन र मरणबारे अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन।घटनास्थलमा सुरक्षाकर्मी खटिएका छन्। खोजतलासमा प्रहरी सक्रिय रहेको प्रहरीले बताइरहेको छ। तर अहिलेसम्म कुनै खबर भने सार्वजनिक गरेको छैन। 

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा टोलीले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको भनिरहेको छ। अनुसन्धानका आधारमा घटनाबारे चाँडै सत्यतथ्य बाहिर आउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए। 

महाकालीमा मात्रै छन् ११ तुइन

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा पदभार ग्रहण गरेकै दिन घोषणा गरेका थिए- अबको दुई वर्षभित्र नेपाल तुइनमुक्त देश बन्छ। तर, दार्चुलाका बासिन्दाको जीवन भने अहिले पनि तुइनकै सहारामा छ।

गत जेठमा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार अहिले पनि देशभर १४ वटा तुइन प्रयोगमा छन्। नदीहरू तर्न नेपालीहरू तुइनको भर पर्न बाध्य छन्। अनि यी १४ मध्ये महाकालीमा मात्र ११ तुइन रहेको सर्वेक्षणमा देखिएको छ। 

यी तुइन भएका चार ठाउँमा यसअघि नै भारतीय सरकारसँग नेपाल सरकारले झोलुंगे पुल बनाउने सम्झौता गरिसकेको छ। 

३ वर्षअघि शिलान्यास, अझै बनेन पुल

भारतीय सरकारसँग नेपाल सरकारले झोलुंगे पुल बनाउने भनेर गरिएको सम्झौतामध्ये एक हो, शुक्रबार घटना भएको तुइनस्थल। शिलान्यास भएर पनि यहाँ पुल बनाउने काम अहिले रोकिएको छ। मालघाट र भारतको पंगाला गस्कु जोड्ने झोलुंगे पुल निर्माण ३ वर्षअघि नै शिलान्यास भएको थियो।

तर शिलान्यास मात्र भएको त्यो झोलुंगे पुलको निर्माण बढेको छैन। स्थानीय नरेन्द्र सिंह धामीले भने, ‘तीन वर्षअघि झोलुंगे पुल निर्माणका लागि शिलान्यास गरिएको थियो, तर यसको निर्माण चाहिँ बढेको छैन।’ 

जहाँ तुइन विस्थापनअन्तर्गत व्यास गाउँपालिकाको मालघाटमा झोलुङ्गे पुल निर्माणका लागि खम्पाचे/रुविना जेभी काठमाडौंले दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौतासमेत गरेको थियो। 

सरकारी कम्पनीबाटै असहयोग

यता ठेकेदार धनबहादुर कुँवर भने सरकारी कम्पनीले असहयोग गरेकाले पुल निर्माण हुन नसकेको बताएका छन्। ‘पुल निर्माणका लागि लट्ठा, स्टिल पाटर््स नै पाएका छैनौं। यी सामान उपलब्ध गराइदिन सस्पेन्सन ब्रिज डिभिजन कार्यालयलाई एक वर्षअघि नै पत्र लेखेका थियौं, तर अहिलेसम्म पनि सामान उपलब्ध भएको छैन,’ कुँवरले भने। निर्माण सामग्री अभाव भएकाले काम रोकिएको ठेकेदारको भनाइ छ।

तुइन विस्थापनका लागि दार्चुलाका ११ स्थानमा झोलुङ्गे पुलको प्रस्ताव गरिएको थियो। तर, ४ स्थानमा झोलुङ्गे पुलको योजना पास भएको जनाइएको छ। यहाँ कुनै पनि ठाउँमा पुल पूरा नभएकाले स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

जिल्ला सदरमुकाम पुग्न, भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु किन्न, उपचार गराउन र मजदुरी गर्न तुइन तरेरै महाकाली पारि जानुपर्छ। दार्चुलाका नागरिकले तुइन विस्थापित नहुदा जोखिम मोल्नु परेको छ।

तुइन विस्थापित भएर मालघाटमा पुल बनेको भए जयसिँहको ज्यानसमेत नजाने त्यहाँका स्थानीयको भनाई छ। पुल नबन्दा आफूहरूले दैनिकजसो ज्यान दाउमा राखेर जोखिम मोल्ने गरेको उनीहरूको पीडा छ। सरकारले बनाउने भनेको पुल बनेको भए यो विपत्ति नै नआउने उनीहरूको दाबी छ।

भारतको पाँगला थानामा एसएसबीविरुद्ध उजुरी

तुइन तर्ने क्रममा एसएसबीले डोरी काटेका कारण व्यास गाउँपालिका-२ मालगाउँका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भन्दै आफन्तहरूले भारतीय प्रहरीमा उजुरी दिएका छन्। व्यास-२ का बहादुरसिंह धामी र जोगासिंह धामीले धार्चुला तहसिलको पाँगला प्रहरी थानामा उजुरी दिएका हुन्।

तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेका उजुरीमा उल्लेख छ । घटनापछि त्यस क्षेत्रमा रहेका नेपालीलाई ‘कसैलाई नभन्न’ धम्क्याएको निवेदक बहादुरसिंहले बताए । उजुरीमा सीमा क्षेत्रका दुई देशका नागरिकबीचको आपसी सम्बन्धका कारण तुइनबाट आवतजावत हुँदै आइरहेको उल्लेख छ ।

एसएसबीको संलग्नता छैनः भारतीय प्रशासन

भारतीय जिल्ला पिथौरागढ प्रशासनले भने घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार पठाएको पत्रको शनिबार जवाफ फर्काउँदै भारतीय प्रशासनले यस्तो दाबी गरेको हो। 

पाँगला गस्कुमा (तुइन भएको भारतीय क्षेत्र) एसएसबीको गस्ती टोली पुग्दा जयसिंह धामी महाकालीमा खसिसकेको दाबी भारतीय प्रशासनले गरेको छ। 

घटना भएको समयमा एसएसबीको टोली मालघाट क्षेत्रमा ड्युटीमा खटिएको पत्रमा उल्लेख छ। भारतीय प्रशासनले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएको छ।

ऋण तिर्न धामी विदेश जान काठमाडाैं जाँदै थिए

बेपत्ता जयसिंहले सात वर्ष नेपाली सेनामा जागिर खाएका थिए। तर, आर्थिक उन्नति नभएकाले विदेशतिर लागे। दुई वर्ष कतारमा ‘सेक्युरिटी गार्ड’ बने। फर्केर गाउँमा घर बनाए तर कमाएको पैसाले पुगेन। 

घर बनाउँदा लागेको ऋण तिर्न उनी फेरि विदेश जाने बाध्यतामा परे। दुई वर्षअघि पनि उनी कतार गएका थिए। तर, कोरोनाका कारण एक महिनामै घर फर्कनुपरेको थियो।

घर बनाउँदा र घर चलाउँदा लागेको ऋणले उनी छटपटिएका थिए। तर, परिवालाई खुसी बनाउने भनेर हिँडेको केहीबेरमै उनी महाकालीमा बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ। गाउँका सबै जयसिंहको खोजीमा नदी किनारतिरै छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.