काठमाडौंं : सोमबार मध्याह्नतिर वैदेशिक रोजगार विभागको गेटमा नुवाकोटका अशोक श्रेष्ठ भेटिए। ठगिएको उजूरी दर्ता गर्न श्रेष्ठ वैदेशिक रोजगार विभाग आइपुगेका हुन्।
नेपालमा रोजगारीको राम्रो अवसर नपाएपछि श्रेष्ठले २०७३ सालमा वैदेशिक रोजगारीमा जाने सोच गरे। काठमाडौंमा काम गर्ने सिलसिलामा धादिङ जिल्ला नीलकण्ठ नगरपालिकाका हरिशरण नेपालसँग उनको भेट भयो। नेपाल बसेर पैसा कमाउन नसकिएकोले विदेश जाने योजना सुनाए।
पोल्याण्डबाट कामको राम्रो अवसर आएको नेपालले सुनाए। वैदेशिक रोजगारीमा राम्रो पैसा कमाउने सोचले श्रेष्ठले आफन्तसँग ऋण लिए। पुर्ख्यौली सम्पत्ति समेत बेचेर पैसा जुटाए। पोल्याण्ड जाने आशामा श्रेष्ठले ८ लाख रुपैयाँ हरिशरणलाई बुझाएका थिए।
आज, भोलि भन्दा भन्दै नेपालले १ वर्ष झुलाए। यतिबेला उनी घर न घाटको भएका छन्। वैदेशिक रोजगारीमा जाने चक्करमा पुर्ख्यौली सम्पत्ति सकिएको र ऋण पनि तिर्न नसकेको श्रेष्ठले सुनाए।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीत कार्य भएको हुँदा ऐनको दफा ४३ बमोजिम हरिशरण नेपालले आफूले तिरेको पैसा फिर्ता गरी उनलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही माग गर्दै उजुरी दिएका छन्।
त्यस्तै, मकवानपुर घर भएका कमल नेपालले सामान्य अवस्थामा कतार जाँदा जहाज टिकटको २५ हजार रूपैयाँसम्म तिर्थे। गत सोमबार ६५ हजार टिकट र एक लाख २० हजार क्वारेन्टाइनका लागि भनेर जम्मा एक लाख ८५ हजार रूपैयाँ बुझाउनु पर्यो। अहिले होटल क्वारेन्टाइन भनेर चर्को रकम असुलिरहेका छन्।
त्यस्तै, सर्लाहीका शिवहरि शाहले पनि कतार जान एक लाख ८० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्यो। टिकट शुल्क तेब्बर लिइयो।
साउदी जानेहरूले पनि हवाइ तथा क्वारेन्टाइनका लागि चर्को रकम खर्चिन बाध्य छन्। कास्कीका सुकदेव सार्की मजदुरीका लागि साउदी जाँदा एक लाख ६० हजार रुपैयाँ हाराहारी तिरे। के गर्नु! खाडी नगइ भएको छैन।
विदेशमा श्रम गरिरहेका नेपाली श्रमिकले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा देशको कुल बजेट १४ खर्ब ७४ अर्ब रुपैयाँ थियो। गत आर्थिक वर्षको ११ महिनामा आठ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
कुल बजेटको आधाभन्दा बढी हिस्सा धानेको रेमिट्यान्स भित्र्याउने श्रमिक भने पाइलैपिच्छे ठगिने गरेका छन्। यता सरकारले पनि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राहत दिन सकेको छैन।
विदेशी भूमिमा पसिना बगाउन जाने नेपाली विदेश जाने बेलामा ऋणको जोहो गर्ने बेलादेखि फर्कने बेलासम्म ठगिने गरेका छन्। आर्थिक अवस्था सामान्य भएका नेपाली साहुसँग ऋण लिने, दलाल, म्यानपावर कम्पनी, श्रम कार्यालय, ट्राभल एजेन्सी, एयरलाइन्स, विदेशी दलाल, रोजगारदाता कम्पनीले घर फर्कने बेलासम्म ठगिने गरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए।
झन्डै ७५ प्रतिशत श्रमिक आप्रवासन चक्रमा कुनै न कुनै शोषण र ज्यादतीमा पर्ने गरेको राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांकले देखाएको छ। ती मध्ये ५५.६३ प्रतिशत श्रमिक वैदेशिक रोजगारीका लागि छनोट हुने बेलामा नै ठगिने गरेका छन्।
मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार ३६.६२ प्रतिशत श्रमिक सम्झौताभन्दा फरक काम गर्न बाध्य छन्। ५६.३९ प्रतिशत श्रमिकले अतिरिक्त समय गरेको कामको भुक्तानी पाउँदैनन्। ६२.६८ प्रतिशत श्रमिकलाई रोजगारी करार पत्रमै झुक्याउने गरेको पाइएको छ।
टिकट किन्न नसक्दा ३० हजारले रोजगारी गुमाए
वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका ३० हजार श्रमिक देशमै रोकिएका छन्।
नेपालीहरूको श्रम गन्तव्य मुलुकहरूले कोरोना विरुद्धको खोप नलगाएका श्रमिक नलैजाने भनेपनि खोप लगाएका र भिसा प्राप्त गरिसकेका ३० हजार युवा टिकट किन्न नसक्दा रोजगारी गुमाउन बाध्य भएका हुन्।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले भने, ‘२५ देखि ३० हजार युवा टिकट,क्वारेन्टाइन खर्च जुटाउन नसक्ने भएकाले श्रम गुमाउने अवस्थामा पुगेका छन्।’
वैदेशिक रोजगारीमा जाने श्रमिकबाट म्यानपावर कम्पनी,एयरलायन्सले ज्याजति गरेको श्रेष्ठको भनाइ छ। एयरलायन्सले सरकारको संरक्षणमा नै श्रमिक ठग्ने काम गरेको उनको दाबी छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको वहानामा हवाइ भाडा बढाएकाले जान नसक्ने अवस्था भएको श्रेष्ठले बताए।
म्यानपावर कम्पनीले श्रमिकबाट न्यूनतम एक लाखदेखि नौ लाख रुपैयाँसम्म ठगी गर्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। जब कि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुकमा जान सरकारले शून्य लागतको व्यवस्था गरेको छ।
सरकारले मलेसिया र युएईसँग गरेको श्रम सम्झौताअनुसार नेपाली श्रमिक शून्य लागतमा रोजगारीका लागि जानसक्ने व्यवस्था छ। त्यस्तै कतार, साउदी अरब, कुवेत, बहराइन र ओमानका लागि म्यानपावर कम्पनीले १० हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ। सरकारले यस अघि नै फ्रि टिकट फ्रि भिसा लागु गरेपनि श्रमिकले सेवा भने पाउन सकेका छैनन्।
ठगी भएको उजुरी बढ्दै
आर्थिक वर्ष २०७२/७३ मा २ हजार १७२ वटा उजुरी विभागमा दर्ता भएको थियो। जसमध्ये ५२० वटा उजुरीमात्र फर्छ्योट भएको विभागले जनाएको छ।
यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३८३ वटा मुद्दा परेकोमा ८८७ वटा उजुरी फर्छ्योट भएका थिए। यस्तै, आर्थिक २०७४/७५ मा २ हजार १२९ वटा उजुरी विभागमा परेको थियो। जसमध्ये १ हजार २८ वटा मुद्दा फर्छ्योट गरेको विभागले जनाएको छ।
२०७५/७६ मा व्यक्तिगत र संस्थागत गरी २ हजार ३९ वटा उजुरी रोजगार पीडितले दर्ता गरेका छन्। २०७६/७७ मा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत र संस्थागत गरी २ हजार तीनवटा उजुरी विभागमा परेका थिए।
२०७७/७८ मा रोजगारीका नाममा ठगिएका ३४९ वटा संस्थागत (मेनपावर) र व्यक्तिगत ४३१ वटा उजुरी विभागमा परेका छन्। गत आर्थिक वर्षमा १०५ वटा ठगीका मुद्दा अदालतमा दर्ता भएको विभागले जनाएको छ।
वैदेशिक रोजगारीमा ठगिनेहरू पढेलेखेका नै बढी हुने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिए।
ठगी नियन्त्रणका लागि विभागले निरन्तर काम गर्दै आएपनि नियन्त्रणमा ल्याउन नसकिएको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।