सर्लाही जान्छु भनी वीरगन्ज आएका थिए सुजन

|

पर्सा : ऐयासी जीवनशैली अँगाल्ने र श्रम गर्नै नचाहने युवाका कारण समाजमा जघन्य अपराधका घटना घट्ने गरेको तथ्य बाहिर आएको छ। गएको साउन १४ गते वीरगन्जमा घटेको शंकास्पद सुजन मृत्यु प्रकरणको अनुसन्धानले पनि यस्तो तथ्य पत्ता लागेको हो। 

प्रहरीले अनुसन्धान गर्दै जाँदा सुजनको शंकास्पद मृत्यु प्रकरणमा सोही दिन बिहान साढे १ बजेसम्म सँगै बसेर मादक पदार्थ सेवन गरेका साथीहरूले योजनाबद्ध ढंगले हत्या गरेको पुष्टि भएको छ। हत्या गर्नुको कारण भने उनले लगाएको सुनको सिक्री, औंठी, हातको घडी र साथमा भएको नगद लुटपाट गर्नु मात्र रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

श्रम नगर्ने पैसा धेरै चाहिने शैली चिन्ताजनक  

धन दौलतका लागि साथीकै हत्यासम्म गर्न उद्धत युवाको कार्य ऐयासी जीवनशैली र श्रम नगरी सम्पन्न हुन चाहने उच्च मनोगत लालसा भएको प्रस्टिएको छ। ‘छोटो समयमा सम्पन्न हुने, धनी जीवनशैली अपनाउने र समाजमा प्रतिष्ठित झैं कहलिन यस्ता अपराधमा पछिल्लो समय निकै युवा संलग्न हुने गरेका छन्, ‘यो निकै चिन्ताको विषय हो,' पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

टिकटकमा देखिए झैं तुरुन्त फेसन चाहिने, सौखिनझैं जीवनशैली र सुकुमार बानीले युवाहरू गलत बाटोमा हिँड्न थालेको उनको तर्क छ।

आफ्नो मनमोजी गर्नकै लागि युवा उद्धत हुँदा सर्लाही लालबन्दी नगरपालिका–१ स्थायी घर भई काठमाडाैं गोंगबु बस्दै आएका सुजन भन्ने ज्ञानु पाख्रिनको साउन १४ गते वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोल पूर्वतर्फ खाली जमिनमा शंकास्पद अवस्थामा शरीर फेला परेको थियो।

उनलाई प्रहरीको गस्ती टोलीले तत्काल नारायणी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले पहिले नै मृत्यु भइसकेको घोषित गरेका थिए। 

कुहिनाले घाँटी लक गरी हत्या 

सुजनलाई हातको कुहिनाले घाँटीमा लक गरेर मारी अभियुक्तहरू भाग्दै गर्दा अकस्मात प्रहरीको क्युआरटी टोलीसँग जम्काभेट भएको पर्सा प्रहरीले जनाएको छ।

हतासमा रहेका उनीहरूलाई प्रहरीले सोधपुछ गर्दा साथी हराएर खोजेको भनी बताएपछि प्रहरी टोली चनाखो भएको थियो। लगत्तै अर्को प्रहरीको मोबाइल भ्यान पनि आइपुगेपछि यता उता हेर्दा अलि पर खाली ठाउँमा एउटा युवा ढलेको देखियो। उनीहरूले त्यही आफूहरूको साथी भनेपछि सुजनको शंकास्पद शरीर नारायणी अस्पतालमा पठाई अरूलाई नियन्त्रणमा लिएको थियो।

घटनामा संलग्नमध्ये एक फरार 

६ जना नियन्त्रणमा लिएका मध्ये हत्यामा संलग्न ४ जना मात्र सम्लग्न भएको पुष्टि भयो। ती मध्ये वीरगन्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने दीपलामा तामाङ, बारा फेटा गाउँपालिका-३ बस्ने २७ वर्षीय धनञ्जय रजक र २५ वर्षे राहुल महर्जनले लुटपाटपछि हत्या गरेको कर्ततु पनि प्रहरीसमक्ष स्विकारिसकेका छन्।

घटनामा संलग्न अर्का अभियुक्त भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतीहारी घर भई हाल वीरगन्ज–१६ नगवा बस्दै आएका रवि सर्राफ भने फरार रहेका पर्सा प्रहरीले जनाएको छ।

उनको पनि भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सर्राफ भने पहिले पनि अपराधिक गतिविधिमा सम्लग्न हुँदै आएका प्रहरीले खुलासा गरेको छ।

सर्लाही जान्छु भनी वीरगन्ज आएका थिए सुजन

सुजनले भने श्रीमतीसँग सर्लाही जान्छु भनेर ढाँटेर साउन १३ गते बुधबार २ जना साथीसँगै वीरगन्ज आइपुगेका थिए। पहिले सुमो चलाउने क्रममा वीरगन्जका राहुलसँग उनको पुरानो दोस्ती रहेको र उनैले वीरगन्ज बोलाएका थिए। राहुलले नै अन्य साथीसँग परिचय गराई योजनाबद्ध तवरले सुजनको हत्या गरेको प्रहरीलाई दिएको बयानबाट खुलेको छ। 

बुधबार साँझ भने उनीहरू वीरगन्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने तामाङको खाली घरमा मादक पदार्थ सेवन गर्दै बसेका थिए। राति डेड बजे अर्थात् साउन १४ गते बिहीबार बिहान १ः३० बजे मध्यरातमा काठमाडौंबाट आएका दुई जनालाई त्यहीँ छोडेर सुजनलाई थप बियर किन्ने बहाना गरी बाहिर लगेर रामटोलकै एकान्त ठाउँको हत्या गरेको घटना विवरण छ।

सुनको सिक्री, सुनको औंठी, घडी र नगद १० हजार रुपैयाँ लुटपाटपछि भारतका सर्राफ भने सामानसहित भागेका अरूले बयान दिएका प्रहरीले जनाएको छ। सिक्रीको सानो टुक्रा भने तामाङले नाली छेउमा फालेका र पछि बरामद भइसकेको पर्सा प्रहरीले जनाएको छ।

यो र यस्ता जघन्य अपराधदेखि लागुऔषधका मुद्दामा समेत युवाको बढी संलग्नता देखिनुमा चाँडो पैसा कमाउने लालसा प्रमुख रहेको पर्सा प्रहरीको निष्कर्ष छ। आपराधिक घटनामा दुर्व्यसनीमा लागेका र ऐयासी जीवन जिउने युवाको नै ठूलो जमात लागेको छ। यो सबैको चिन्ताको विषय बन्नु पर्ने पनि प्रहरीको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.