|

भक्तपुर : भक्तपुरमा आइतबार एकैदिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये आइतबार दुई पुरुष र एक महिलाको मृत्यु भएको हो।

अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार भक्तपुर नगरपालिकाका ७८ वर्षिय एक पुरुष र सूर्यविनायक नगरपालिकाका १० का ५६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। त्यसैगरी चाँगुनारायण नगरपालिका ५ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

यससँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१३ पुगेको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा २ सय पुरुष र ११३ महिला छन्। भक्तपुरमा कोरोनाबाट सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा एक सय जनाको मृत्यु भएको छ। यहाँ मृत्यु हुनेमध्ये ६७ जना पुरुष र ३३ जना महिला छन्।

त्यसैगरी, सूर्यविनायक नगरपालिकामा ५४ पुरुष र ३१ महिला गरी ८५ जनाको मृत्यु भएको छ भने भक्तपुर नगरपालिकामा ७९ जना मृत्यु भएकोमा ४८ पुरुष र ३१ महिला छन। चाँगुनारायण नगरपालिकामा ३१ महिला र १८ पुरुष गरी ४९ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए।

यसैबीच, भक्तपुरमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ। यहाँ १३ हजार १२६ पुरुष र ११ हजार ८७ महिला गरी २४ हजार २१० जनामा कोरोना संक्रमण भएको मिजारले जानकारी दिए।  तीमध्ये २२ हजार ९३० जना संक्रमणमुक्त भएका छन्। जुन ९४ दशमलव ७१ प्रतिशत हो।

यसैगरी, सक्रिय कोरोना संक्रमितको संख्या ९६७ रहेको छ। सक्रिय संक्रमितमध्ये २५ पुरुष ३३ महिला गरी ५८ जना विभिन्न अस्पतालहरुमा उपचाररत छन भने ४५७ पुरुष र ४५२ महिला गरी ९०९ जना होम आइसोलेसनमा छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.