|
फाइल तस्बिर

काठमाडौं : निषेधाज्ञा जारी भएको करिब तीन महिनापछि बन्द भएका विद्यालय विस्तारै सञ्चालनमा आउन थालेका छन्।

हाल बाराको कलैया उपमहानगरपालिकाकाभित्रका सबै विद्यालय सञ्चालनमा आएको छ। उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले कक्षा ९ र १० को लागि भौतिक उपस्थितिमा पढाउन अनुमति दिएकाले विद्यालय सञ्चालनमा आएको बताए। 

उनले भने, ‘यहाँ कोरोना जोखिम कम भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न दिएका छौँ,पढाइ भएको एक साता बढी भइसक्यो, कक्षा ९ र १० बाहेक अरू कक्षा सञ्चालन गर्न पाइने छैन।’  

नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय भएको हो। एउटा बेन्चमा दुई जनामात्रै राखेर भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्नुपर्नेछ। नगरप्रमुख यादवका अनुसार उपमहानगरपालिकाभित्र ७२ वटा सामुदायिक विद्यालय छन्।

सञ्चालनमा आएको केही विद्यालय भने जिल्ला प्रशासनले बन्द गर्न लगाएको छ। तनहुँमा विद्यालय सञ्चालनमा आएको थियो। तर जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ।

कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएकाले बन्द गर्न निर्देशन दिइसकिएको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।

‘न्यून  विद्यार्थी भएको विद्यालय खोल्दा हुन्छ’ 

लामो समयदेखि विद्यालय बन्द हुँदा शैक्षिक क्षेत्रमा ठूलो असर पुगेको छ। पढ्नबाट विद्यार्थी वञ्चित हुनुपरेको छ। शिक्षाविद् डा. विद्यानाथ कोइरालाले न्यून विद्यार्थी भएको विद्यालय खोल्दै जाँदा हुने धारणा व्यक्त गर्छन्। उनले भने, ‘लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थी बढ्नबाट बञ्चित छन्, त्यसैले एक सयसम्म विद्यार्थी भएको विद्यालय खोल्दै जाँदा हुन्छ।’

उनका अनुसार देशभर १५ हजार विद्यालय एक सय विद्यार्थी छन्। ‘कसरी पढाउने भन्नेबारे शिक्षकले राम्रोसँग व्यवस्थापन गर्नुपर्छ। १०/१० जना गरी दिनमा तीन पटकसम्म पढाउन सकिन्छ, विद्यार्थी नडराउने गरी वातावरण मिलाउनुपर्छ, नियमित भने शिक्षक र विद्यार्थीको स्वास्थ्य जाँच गरेमा जोखिम कम हुन्छ,’उनले भने।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले पनि पूर्णरुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइए विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताउँछन्। ‘सरकारले विद्यालय सञ्चालन गर्न जिल्लाको डिसिएमसीलाई जिम्मा दिएको छ,’उनले भने,‘जोखिम कम भएका ठाउँमा विद्यालय सञ्चालन गर्न दिइने र जोखिम भए बन्द गर्ने सकिने व्यवस्था छ,त्यही खाकामा टेकेर पढाइको लागि सहजीकरण गर्नुपर्छ।’ 

भीडभाड नहुनेगरी भौतिक उपस्थितिमा पढाउनुपर्ने उनको भनाइ छ। उनका अनुसार उपत्यकामा विद्यालय सञ्चालन भएको छैन भने बारा,नेपालगञ्ज लगायत बाहिर जिल्लाका विद्यालय सञ्चालनमा आउन थालेका छन। 

विज्ञ भन्छन, अहिले विद्यालय सञ्चालन गर्ने वातावरण छैन

यता विज्ञहरु भने पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले विद्यालय सञ्चालन गर्ने उपयुक्त नभएको बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘कोरोना संक्रमण दर बढिरहेको छ, तेस्रो लहर आउने जोखिम छ, त्यसैले यो समय विद्यालय खोल्ने उचित समय होइन।’ अहिले नै सबै सचेत नभए पछि धेरै क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

अभिभावकबाटै बालबालिकालाई संक्रमण जोखिम बढी

काठमाडौं उपत्यकालगायत केही बाहिरी जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ। उपत्यकाभित्र त दैनिक दिनभर नै सबै प्रकारका पसल, होटल खुलेका छन्। सार्वजनिक सवारीसाधन चलेका छन्। जँहातहीँ भीडभाड छ। बालबालिकालाई घरमै राखिए पनि अभिभावक बाहिर भीडभाड वा कामकाजमा निस्किन्छन्।

त्यसो त जोखिम नै बालबालिकालाई छ। कतिपय क्षेत्र खुलेकाले विस्तारै विद्यालय सञ्चालन गरिनुपर्ने अभिभावक तर्क राख्छन्। ‘भीडभाड बढेको छ, अभिभावक कामकाजले नै भीडभाडमा गएका हुन्छन्, त्यहाँबाट फर्किँदा कोरोना बोकेर आउँछन्, अनि बालबालिका आमाबुबासँग झुमिन्छन्, त्यहीँबाट संक्रमण फैलिन्छ,’ सरुवा रोग विशेषज्ञ डा. पुनले भने। 

बालबालिकालाई जोगाउने ठूलो हात अभिभावकमै रहेको उनले बताए। भने, ‘सकेसम्म भीडभाडमा जान भएन,गए पनि अनिवार्य मास्क लगाउनुपर्‍याे ,घर फर्किँदा सेनिटाइजर र मज्जाले मिचिमिची साबुनपानीले हात धुनुपर्‍याे।​​’ 

नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारीले पनि विद्यालय सञ्चालन गर्दै गर्दा विशेषगरी अभिभावकले आफ्ना छोराछोरीको ख्याल गर्नुपर्ने बताउँछन्।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय भने तत्काल विद्यालय खोल्न दिने पक्षमा देखिँदैन। अहिले विद्यालय सञ्चालन हुँदै गर्दा मन्त्रालयसँग धारणा बुझ्न खोज्दा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने बिदामा भएकाले जानकारी नभएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.