पार्टी एकताका लागि डोरमणि पनि पद छाड्न इच्छुक

|

हेटौंडा : बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको छ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) विवाद र भागबण्डा मिलाउन मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो। साढे ३ वर्षसम्म बागमती प्रदेशको नेतृत्व गरेका एमालेको ओली पक्षका डोरमणि पौडेललाई हटाएर एमालेकै माधव नेपाल पक्षलाई नेतृत्व सुम्पिने तयारी भइरहेको छ। 

आफ्नै पार्टीभित्रको असहयोगले केन्द्र सरकारको नेतृत्व गुमाएको एमालेले प्रदेशको सत्ता गुम्न नदिन प्रदेश सरकारको नेतृत्व नै परिवर्तन गर्ने तयारी गरिरहेको हो।

एमालेको अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको विवादले स्पष्ट बहुमत हुँदा हुदै पनि बागमती प्रदेश सरकारलाई सत्ता गुम्ने डर छ। उसो त बागमती प्रदेश सरकार गठन भएदेखि नै मुख्यमन्त्री पौडेललाई लिएर एमालेको नेपाल पक्ष असन्तुष्ट नै रहँदै आएको छ।

प्रदेशको मुख्यमन्त्री बन्न एमालेबाट दुई जनाले इच्छा देखाएदेखि नै दुई पक्षबीच देखिँदै आएको खटपट अहिले केन्द्रमा भएको उतारचढावले गर्दा अझै बिग्रने सक्ने देखिन्छ।

सरकार गठन हुने बेलामा ओली पक्षबाट पौडेल र नेपाल पक्षबाट अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीमा दाबी गरेका थिए। एउटै पार्टीबाट मुख्यमन्त्रीमा दुई जना इच्छुक भएपछि दलभित्र मतदान गरेर मुख्यमन्त्री चुनिएको थियो। जसमा डोरमणिले ३४ र अष्टलक्ष्मीले २४ मत पाएकी थिइन्।

हाल प्रदेशमा एमाले ५६ सांसदसहित सरकारमा रहेको छ। ओली पक्षको ३५ र नेपाल पक्षको २१ जना सांसद रहेको प्रदेश सरकारमा भने ओली पक्षको मात्रै हसभागिता छ।

नेपाल पक्षबाट हालसम्म अरुण नेपाल मात्रै सरकारमा सहभागी भएका छन्। उनले पनि गत पुसमा नै राजीनामा दिइसकेको हुँदा अहिले प्रदेश सरकारमा ओली पक्षमात्रै छ।

केन्द्रमा एमालेबीचकै विवादले गठबन्धनको सरकार आएपछि बागमतीमा सत्ता जोगाउन एमाले सक्रिय छ भने प्रतिपक्षीहरू मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार गठन गर्ने दाउमा छन्।

एमालेको नेपाल पक्षले साढे ३ वर्षसम्म ओली पक्षले मात्रै सरकारको नेतृत्व गरेको भन्दै बाँकी डेढ वर्षको नेतृत्व आफूहरूले पाएमात्रै सहयोग गर्न सक्ने बताउँदै आएको छ।

प्रदेश सरकार ढाल्न प्रतिपक्षी सक्रिय बनिरहेको बेलामा केन्द्रमा जस्तै एमालको नेपाल पक्षले आफ्नो साथ छोडे सत्ता गुम्ने निश्चित भएपछि प्रदेशको नेतृत्व नै नेपाल पक्षलाई हष्तान्तरण गर्न एमालेको ओली पक्ष पनि लचक बनेको छ।

नेतृत्व परिवर्तन गर्न ओली र नेपाल सकारात्मक

यसै सिलसिलामा करिब एक साताअघि प्रदेश सरकारको मुख्यमन्त्रीसहित एमाले सांसदहरूले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए। एमालेका एक सांसदको अनुसार ओलीलाई दुवै पक्षको सांसदले भेटेका भए पनि नेपाललाई भने उनी निकटको सांसदले मात्रै भेटेका थिए।

भेटको क्रममा अध्यक्ष ओलीले अष्टलक्ष्मीलाई प्रदेशको नेतृत्व गर्न प्रस्ताव गरेका थिए। तर अष्टलक्ष्मीले तत्काल आफू नेतृत्वमा जान इच्छुक नरहेको बताएपछि ओलीले आफैं मिलेर निर्णय लिन सुझाव दिएका ती सांसदले बताए।

उनले भने ‘अध्यक्ष ओलीले तपाईंहरू दुवै पक्षले मिलेर एकदम राम्रो काम गर्नुभएको छ। मलाई एकदमै खुशी लागेको छ। अब उपाध्यक्षसमेत रहनुभएकी शाक्यले सरकारको नेतृत्व गर्नुभएहुन्छ भनेर भन्नु भएको थियो तर अष्टलक्ष्मीले अहिले आफू तयार नभएको बताएपछि ओलीले तपाईहरू मिलेर जे निर्णय गरे पनि मेरो सहमती हुन्छ भन्नु भएको छ। ’

ओलीले अष्टलक्ष्मी र डोरमणिले मिलेर लिएको निर्णयलाई ओलीले आफूले स्वागत र सम्मान गर्ने बताएको दाबी गरे।

त्यस्तै वरिष्ठ नेता नेपालले पनि दुवै पक्षलाई मिलेर नेतृत्व परिवर्तन गर्दै बढ्न सुझाव दिएको स्रोतको दाबी छ। स्रोतका अनुसार नेता नेपालले पनि दुवै पक्ष मिलेर लिएको निर्णयलाई आफूले सहयोग गर्ने बताएका थिए। उनले आवश्यक परे नेतृत्व आफैंले लिन आफूनिकट सांसदहरूलाई निर्देशन दिएको बुझिएको छ। 

पार्टी एकताको लागि डोमरणि पनि पद छाड्न सकारात्मक

साढे ३ वर्षदेखि बागमती प्रदेश सरकारको नेतृत्व गर्दै आइरहेका मुख्यमन्त्री पौडेल पार्टीको एकताको लागि पद छाड्न सकारात्मक रहेको बुझिएको छ। एमाले मुख्य सचेतक दीपक निरौलाको अनुसार आफूले पद छाड्दा पार्टी एकता हुने भए त्यसको लागि आफू तयार रहेको मुख्यमन्त्री पौडेलले बताएका छन्।

‘पार्टीले आवश्यक ठानेको दिनसम्म मात्रै म यो पदमा रहने हो। पार्टी भन्दा व्यक्ति ठूलो हुँदैन, पार्टीले जे निर्णय गर्छ त्यसलाई मान्न म तयार छु भनेर मुख्यमन्त्रीले भन्नुभएको छ, ’मुख्य सचेतक निरौलाले पौडेलको भनाइ उद्धृत गर्दै भने।

निरौलाले मुख्यमन्त्रीले पार्टी एकताका लागि आफू बाधक नबन्ने बताउँदै आएको भए पनि तत्काल नेतृत्व नै परिवर्तन गर्ने विषयमा भने दलमा छलफल नबढेको बताए। सकेसम्म मन्त्रिपरिषद् विस्तार गरेर नेपाल पक्षलाई पनि समेट्दै सरकारको आयु लम्ब्याउने तयारी भइरहेको उनले बताए।

‘तत्काल मुख्यमन्त्री नै परिवर्तनभन्दा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेर अघि बढौं भन्ने हाम्रो योजना छ। त्यहीअनुसार नै ४ वटा मन्त्रालय थप्नेगरी छलफल पनि भइरहेको छ। तर आवश्यक परेको खण्डमा हामी नेतृत्व परिवर्तन गर्ने विषयमा पनि छलफल गर्छौं, ’उनले भने।

मुख्यमन्त्री बन्न नेपाल पक्षमा २ जना दाबेदार

स्रोतका अनुसार अष्टलक्ष्मीले तत्काल प्रदेश सरकारको नेतृत्व गर्नबाट पछि हटे नेपाल पक्षबाट २ जनाले मुख्यमन्त्री बन्न दाबी गरेको बुझिएको छ।

नेपाल पक्षका सांसद राजेन्द्र पाण्डे र अरुण नेपालले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका बुझिएको छ। उनीहरूले नेपाल पक्षले मुख्यमन्त्री पाएको खण्डमा आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै छुट्टाछुट्टै लबिङ गर्न थालिसकेका छन्।

पाण्डेले यसअघि पनि मुख्यमन्त्रीका लागि इच्छा देखाएका थिए भने नेपाल प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री बनिसकेको छन्। उनले गत पुसमा नेकपाभित्रको विवाद नमिल्दा माओवादीबाट मन्त्री बनेकाहरूसँगै राजीनामा दिएका थिए।

आफूले प्रदेश सरकारको मन्त्रीको रूपमा भूमिका निर्वाह गरिसकेको हुँदा पनि मुख्यमन्त्री बन्न पाउनुपर्ने नेपालको अडान छ। थाहाखबरसँग कुरा गर्दै नेपालले भने ‘अष्टलक्ष्मीजीपछिको सिनियर पनि म नै छु। मैले सरकारमा मन्त्रीका रूपमा जिम्मेवारी निभाएर अनुभव पनि लिइसकेको छु। त्यसैले मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ। ’

एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका नेपालले अष्टलक्ष्मीले मुख्यमन्त्री बन्नबाट पछि हटे आफूले दाबी गर्ने बताएका छन्। 

यस्तै अर्का 'दाबेदार' मानिएका पाण्डेले सबैको सहमति भए आफू प्रदेश सरकारको नेतृत्व सम्हाल्न बढ्ने बताए। उनले अष्टटलक्ष्मीको आग्रहमा नै आफू प्रदेश सांसदमा चुनाव लडेको भन्दै नेपाल पक्षले मुख्यमन्त्री पाए सबैको सहमति अनुसार आफ्नो दाबी रहने बताए।

‘मेरो प्रदेशमा चुनाव उठ्ने योजना थिएन, तर माननीय अष्टलक्ष्मीले तपाई प्रदेशको मुख्यमन्त्री बन्नुपर्छ चुनाव लड्नुस् भन्नुभयो। मैले चुनाव जितेर पनि आएँ तर पछि उहाँ आफैले इच्छा देखाउनुभयो र दलभित्रको चुनावमा हार्नुभयो,’पाण्डेले भने।

मुख्यमन्त्री बन्नैका लागि भनेर चुनाव लडेर आएको हुनाले आफ्नो दाबी स्वाभाविक भएको उनको भनाइ थियो। यद्यपि अब वर्तमान प्रदेश सरकारको अवधि धेरै नभएकोले काम गर्ने मौका नपाउने भन्दै उनले मुख्यमन्त्री बन्न धेरै मेहिनत भने नगर्ने बताए।

नेपाल पक्षलाई हतारो, ओली पक्ष पर्ख र हेरमा

​बागमती प्रदेश सरकारको सत्ता लम्ब्याउन सत्तारुढ दल नेकपा एमालेको दुवै पक्षले आआफ्नो ठाउँबाट पहल गरिरहेको छ। हाल सरकारमा रहेका ओली पक्ष आफ्नो आयु लम्ब्याउन चाहन्छ भने नेपाल पक्ष सरकारको नेतृत्व नै गर्न। नेपाल पक्षले सरकारको नेतृत्व दिए मात्रै सरकारलाई सत्ता लम्ब्याउन सहयोग गर्ने बताउँदै आइरहेको छ। 

साढे ३ वर्षसम्म एमालेको ओली पक्षले मात्रै नेतृत्व गरिरहेको हुँदा पार्टी एकता र सरकार ढल्नबाट बचाउन ओली पक्ष पनि नेतृत्व छाड्न सकारात्मक छ। तर केन्द्रमा एमालेको दुई पक्षबीच विवाद नमिल्दा ओली पक्ष केही समय पर्खेर मात्रै आवश्यक निर्णय लिन चाहन्छ।

तर नेपाल पक्षलाई भने नेतृत्व आफूले सम्हालेर सरकार चलाउन हतार भइसकेको छ। नेपाल पक्षका सांसद तथा पूर्वमन्त्री नेपालले केही भदौको पहिलो हप्तासम्ममा बागमती प्रदेश सरकारको नेतृत्वससहित मन्त्रिमण्डल पुनर्गठन हुने बताए।

प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न सबै पक्ष सकारात्मक रहेको भन्दै छिट्टै मुख्यमन्त्री परिवर्तन गर्दै मन्त्रिपरिषद् विस्तार गरिने उनले बताए। ‘उहाँहरूले यत्रै समय नेतृत्व गरिसक्नुभएको छ। अब चाँडै नै नयाँ नेतृत्व लिएर बढौं भनेर हामीले भनेका छौं। हामीले भदौ पहिलो हप्तासम्म प्रदेशले नयाँ नेतृत्व पाउनेगरी पहल गरिरहेको छौं तर उहाँहरूले चाहि केही समय पर्खनुस् भन्नु भएको छ,’ उनले थपे।

एमाले मुख्य सचेतक निरौलाले सरकारको नेतृत्व परिवर्तन भए मन्त्रिपरिषद् विस्तारमा समय समय लाग्ने बताए। यसअघि साउन महिनाभित्र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने दाबी गर्दै आएका निरौलाले अहिले भने अझै केही समय लाग्ने बताए।

केन्द्रमा पार्टी अध्यक्ष र वरिष्ठ नेताबीचको विवाद नमिलेको भन्दै तत्काल यस्तै गरौ भन्ने स्थिति नरहेको निराैलाले जिकिर गरे। ‘आवश्यक परे मन्त्रिपरिषद् विस्तार र नेतृत्व नै परिवर्तन गर्न परे पनि गरौंला तर अहिले नै यसो गरौं भन्ने स्थिति छैन। हामीले यता एकथोक गरौंला केन्द्रमा अर्को थोक होला। त्यसैले केही समयका लागि हामीले केन्द्रलाई हेर्नुपर्ने हुन्छ, ’निरौलाले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.