नयाँदेखि पुराना संरचनाका समस्या हटाउँदैछन्‌ युवा प्राविधिक टोली

|

काठमाडौं : काठमाडौं उपत्यकाका खाली जमिन घरले भरिँदै गएको छ। ठूलठूला घर ठडिएको मात्रै देख्छौँ हामी।

तर, घर पनि बिरामी पर्दा अर्थात संरचनामा समस्या निम्तिँदा घरधनीलाई निकै पीडा हुन्छ। लाखौं रुपैयाँ खर्चिएर बनाएको भवनमा धेरै मानिसहरूले जीवन भरको कमाइ खन्याएका हुन्छन्‌। 

घरमा देखापर्ने भौतिक संरचनागत समस्या समाधान गर्न विभिन्न संस्था/व्यक्तिहरू पनि छन्। ती मध्येको एक संस्था हो-‘तपाईंको घरको डाक्टर’ ।

२०७५ सालमा स्किल सेवा सञ्चालन गरेको घरको डाक्टरले अहिले घरमा देखिएका सबै समस्या समाधान गर्नेगर्छ। भक्तपुरका इञ्‍जिनियर रमेश तिमल्सिना, महेश तिमल्सिना र सिन्धुपाल्चोकका रामशरण विक्रम थापाले सञ्चालनमा ल्याएका हुन्।

रमेशले थापाथली क्याम्पसबाट डिप्लोमा इन मेडिकल इञ्‍जिनियरिङ र ब्याच्लर इन सिभिल इञ्‍जिनियरिङ गरेका छन्।

महेश र रामशरणले ख्वप कलेजबाट ब्याच्लर इन सिभिल इञ्‍जिनियरिङ गरेका छन्।

रमेशका अनुसार घरको डाक्टरले घरमा आएका समस्या र आउनसक्ने समस्या पत्ता लगाई समस्या समाधान गर्छ। उनले भने, ‘कहाँ गल्ती देखिएको छ? त्यो गल्ती के भएर देखिएको हो? समस्या समाधानसहित सल्लाह सुझाव दिने उद्देश्यले यो खोलेका हौँ।’

एउटा घर बनाउन लेबर, इञ्‍जिनियर र ठेकेदार चाहिन्छ। ठेकेदार पनि १०/१५ थरिका हुन्छन्‌। जस्तो प्लम्बर, इलेक्ट्रिसियन, मेसन र टाइल हाल्ने लगायत। यी मध्ये कसले गल्ती गर्दा समस्या निस्कियो भन्ने पनि उनीहरूले पत्ता लगाइदिन्छन्‌। 

‘कतिपयलाई टायल राख्दा खाली ठाउँ राख्नुहुन्छ/हुँदैन भन्ने थाहा छैन, यसमा इञ्‍जिनियरले पनि हेर्दैन, घरधनीलाई झनै थाहा हुन्न, ठेकेदारको लापरबाहीले दुई/तीन करोड रुपैयाँ लागतमा बनेको नयाँ घरमा नै समस्या आउँछ,’ उनले भने।

यसरी सेवा दिन्छ डाक्टरले 

घरको डाक्टरमा १८ जनाको टीम छ। त्यसमा १५ जना ओभरसियर इञ्‍जिनियर छन्‌। पहिला ग्राहकले फोन, फेसबुक र म्यासेन्जरमा आफ्नो घरको समस्या टिपाउँछन्। 

‘हामीले ग्राहकको समस्या बुझेपछि समय तोक्छौँ र त्यहाँ इञ्‍जिनियरसहित ६ जनाको टोली खटिन्छौँ,’ रमेशले भने, ‘त्यहाँ गएपछि सम्झौताअनुसार घर बनेको/नबनेको लगायत सबै समस्या थर्मल क्यामेराजस्ता उपकरणबाट जाँच्छौँ, त्यो टीमले रिपोर्ट हामीलाई कहाँ दिन्छन्, त्यहीअनुसार वैज्ञानिक ढंगले समस्या समाधान गछौँ।’

उनले घरकाे काम गरिरहँदा पनि सबै ग्रुपमा अपडेट गर्ने गरेको बताए। ‘समस्या पत्ता लगाएपछि विभिन्न उपकरणमार्फत पाँच वर्षको वारेन्टीसहित मर्मत गरिदिन्छौँ,’ उनले भने।​उनीहरूले पुरानो घरलाई भत्काएर नयाँ घर बनाउन पनि सहजीकरण गरिदिन्छन्‌। के गर्दा मिल्छ र के गर्न मिल्दैन, त्यो पनि हेरिदिन्छन्। 

घरमा देखिन्छन् यस्ता समस्या

स्किल सेवाका अनुसार सञ्चालमा आएदेखि हालसम्म करिब दुई हजार जनाले सेवा लिइसकेका छन्‌। 

अधिकांश सेवाग्राही घरमा पेन्ट र प्लास्टर उप्किने तथा ट्वाइलेटको वाल साइटमा पानी चुहिनेजस्ता समस्या लिएर आउने गरेका छन्। 

‘एउटा वासरुम बनाउन पाँच ६ जना टेक्निसियन चाहिन्छ,’ उनले भने, ‘वाटर प्रुफिङ, प्लम्बिङ, कोरा मसिनो, टायल हाल्ने लगायत काम गर्नुपर्छ, यसमा एक जनाले गल्ती गरेमा पानी चुहिन्छ, यो वर्षातमा मात्र झन्डै २५ वटा घरमा इलेक्टिकबाट पानी चुहिने समस्या पाएका छौँ।’  

उनले बढि नयाँ बनाएको घरमा नै समस्या देखिने गरेको बताए। रमेश भने, ‘सिमेन्टलगायत सबै सामग्री गुणस्तरीय भएमा त्यो घर ८० वर्षसम्म टिक्छ, तर अहिले बनेका घरमा लापरबाही गरिँदा नयाँ बनेको दुई महिनामा नै समस्या देखिने गरेको छ।’​ नेपालमा दक्ष जनशक्ति नहुँदा यस्तो समस्या निम्तिने गरेको उनी बताउँछन्‌।

​भन्छन्‌, ‘घरधनीलाई थाहा नहुँदा ठेकेदारले कम गुणस्तरका सामान प्रयोग गर्छन्‌। कतिपय घरधनीलाई सम्झौताअनुसार घर बनेको हो या होइन भन्ने नै थाहा हुन्न। त्यसो त पसिना बगाएर बनाएको महलमा विभिन्न समस्या देखिन आउँछ।’

दैनिक ६ घरको निरीक्षण

उनीहरू दैनिक ६ जनाको घरमा समस्या बुझ्ने गर्छन्‌। शुल्कको विषयमा उनले भने, ‘नयाँ घर बनाउन पनि हामी सल्लाह दिन्छौँ, घर भने बनाइ दिँदैनौँ, समस्या पत्ता लगाउन दुई हजार रुपैयाँ लिन्छौँ, अरू भने के-कस्ता समस्या देखिएको छ, त्यही अनुसार पैसा लिन्छौँ।’

कसरी सम्पर्क गर्ने ?

पछिल्लो समय धेरैले उनीहरूको काम राम्रो भएको भन्दै प्रशंसा गर्न थालेका छन्‌। त्यसैले, उपत्यकामा मात्र सेवा दिइरहेको घरको डाक्टरले दुई महिनापछि पोखरामा पनि सेवा विस्तार गर्दैछ।

रमेशले भने, ‘तपाईंंहरूको घरमा केही समस्या आए ९८०१८८६६४४ नम्बर र डब्लुडब्लुडटस्किलसेवाडटकममा सम्पर्क गर्न सक्नुहुनेछ, ढुक्कका साथ हामी तपाईंंहरूको समस्या हामी समाधान गछौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.