भन्छन् : यसरी दिनहुँ लाइन बस्नुभन्दा समय तोकेर टोकन दिए हुने

|

काठमाडौं : साउदी अरब जाने तयारीमा रहेका लमजुङका रोशन देव तामाङ गत हप्ता शुक्रबार बिहान काठमाडौं आइपुगे। वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्ध खोप दिने समाचार सुनेर उनी राजधानी आएका हुन्।

तामाङले शुक्रबार ५ घण्टा लाइनमा बसेर जोन्सन एण्ड जोन्सन खोप लगाए। भने, ‘राहदानी र भिसा देखाएर खोप लगाउन पाइयो।’

स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले खोप कार्ड दियो। सो कार्डमा नेपालीमा लेखिएकाले विदेशमा मान्यता दिएको छैन। त्यसैले कार्ड अंग्रेजीमा प्रमाणीकरण गर्न सरकारले अर्को व्यवस्था गरेको छ। खोप लगाएको ५ दिन बित्यो, तर तामाङले खोप कार्ड हात पार्न सकेका छैनन्।

खोप कार्ड लिएर मंगलबार बेलुका ८ बजे टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा पुगेका थिए। आइतबारदेखि टेकु अस्पताल धाएका तामाङले खोप कार्ड प्रमाणीकरण गर्न पाएनन्। मंगलबार रातिदेखि नै लाइन बसेको सुनाए। उनले भने, ‘तीन दिनसम्म लाइन बसेर फर्कनुपरेकाले राति नै आएको बसेँ।’

अर्थतन्त्रको आधा हिस्सा ओगटेको वैदेशिक रोजगारलाई सरकारले बेवास्ता गरेको तामाङको भनाइ छ। उनले भने, ‘सरकारले सहजीकरणका लागि कतै पहल गरेको छैन। राहदानी बनाउन, स्वास्थ्य परीक्षण गर्न, श्रम स्वीकृति लिन जता पनि समस्या भोग्नुपरेको उनको भनाइ छ। 

त्यस्तै कतार जान पाल्पाबाट काठमाडौं आएका हुमान बुढा मगर ४ दिनदेखि टेकु अस्पताल धाइरहेका छन्। टेकु अस्पतालको गेटमा पालो कुर्दाकुर्दै खानासमेत खान नपाएको उनले गुनासो सुनाए। भने, ‘दिनभरि लाइन बस्यो, टोकन नै नपाई फर्कनुपर्छ।’

त्यही लाइनमा उदयपुरका केशव बुढाथोकी पनि भेटिए। मंगलबार बिहान कोरोना खोप लगाएका बुढाथोकी  दिउँसोदेखि लाइनमा बसिरहेका थिए। उनले खोप प्रमाणीकरण कार्ड लिन पाएका थिएनन्। भने, ‘यसरी दिनहुँ लाइनमा बस्नुभन्दा समय तोकेर टोकन दिए सहज हुन्थ्यो।’ 

त्यस्तै रुकुमका अमन मोक्तान पनि सोमबार बिहान ४ बजे टेकु अस्पताल आइपुगेका थिए। उनले बुधबार मध्याह्न १२ बजे खोप प्रमाणीकरण पत्र लिएको बताए। आफ्नो पसिना बेच्न जाँदा पनि पाइलैपिच्छे समस्या भोग्नु परेको मोक्तानले दुःख पोखे। 

टेकु अस्पतालमा बिहान ६ बजे २ सय ५० वटा टोकन बाँड्ने गरिएको छ। यता खोप प्रमाणीकरणका लागि १५ सय लाइनमा बसेका छन्। प्रमाणीकरण भएको खोप कार्ड नभई स्वास्थ्य परीक्षणसमेत गराउन पाएका छैनन्। 

जहाँ वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले देश चलेको छ। उनीहरूले नै पाइलैपिच्छे समस्या भोग्नुपरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए। सरकारले समस्या समाधानका लागि पहल नगरेको श्रेष्ठको आरोप छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि खोप लगाउने ठाउँबाट नै कार्ड दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधानको प्रयास भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिए। 

वैदेशिक रोजगारीमा जाने युवा युवतीले खोप कार्ड प्राप्तिमा हुने समस्या समाधानको तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। काठमाडौं आएर खोप लगाएको कार्ड लिन सकस भएको भन्दै विभागले ७७ वटै जिल्लाबाट दिइने तयारी गरेको विभागका महानिर्देशक डा.दीपेन्द्र रमन सिंहले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.