|

बारा : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले सिमरा–कोहल्वी सडकखण्डको बडहरवा (बालगंगा) पुल निर्माण रोक्न अन्तरिम आदेश दिएपछि पुल निर्माण अलपत्र परेको छ। 

परमेश्वर महासेठ मुआब्जा माग गर्दै अदालत पुगेका थिए। उनी पूर्व मन्त्री तथा एमाले नेता रघुवीर महासेठका भाइ हुन्। उनले खोलाको जग्गाको मुआब्जा दावी गर्दै अदालतमा रिट हालेपछि ६ महिनायता बडहरवा पुल अलपत्र परेको हो। 

महासेठले प्रतिकट्ठा जग्गाको ७–८ लाख रुपैयाँका दरले १० कट्ठाको करिब ८० लाख रूपैयाँ मुआब्जा माग गरेको जितपुरसिमरा–१८ का वडाध्यक्ष अर्जुन दहालले जनाएका छन्। ‘विवाद नभएको भए असार मसान्तभित्रै यो पुल सञ्चालनमा आइसक्थ्यो,' उनले भने, 'यतिबेला सिमरा–कोहल्वी सडकखण्डका जनताले पुलबाट आवतजावत गर्न पाइसक्थे।’

पुलको निर्माणमा करिब १२ करोड लगानी भएको छ। अब पुलको केही भाग ढलान, पुलको दुवैतर्फ माटो भर्ने र तारजालीले ड्याम कस्न मात्र बाँकी छ। पुलको निर्माणको ठेक्का अक्षय निर्माण सेवा काठमाडौंले पाएको थियो। 

करिब २ सय ५० मिटर लामो पुलले साढे २ बिगाहा जग्गा ओगटेको स्थानीयले बताएका छन्। यसमध्ये महासेठको जग्गा १० कट्ठा छ। 

‘हामीले धेरै प्रयास गर्यौंक, धेरै पटक छलफल राख्यौं तर केही भएन, अदालतले रोक्नु भनेपछि हामीले जबरजस्ती गर्न मिलेन,’ वडाध्यक्ष दहालले भने, ‘सुरुवाती चरणमा रोकेको भए पुलको संरचना नै परिवर्तन हुन्थ्यो होला तर अहिले आएर बढी मुआब्जा लिन निर्माण न रोक्नु नियोजित देखिन्छ।’

पुलबाट बारा–रौतहटका स्थानीयलाई सुविधा

सिमरा(कोहल्वी हुलाकी सडकखण्डको बालगंगा खोलामा बनिरहेको यो पुल सञ्चालनमा आए बारा र रौतहटका बासिन्दालाई आवागमन सहज हुनेछ। पुल सञ्चालन हुनासाथ पथलैया–विरगन्ज र पथलैया–निजगढ सडकखण्डमा सवारीसाधनको चाप निकै घट्नेछ। 

पुल निर्माणमा ढिलाइ हुँदा सिमरा, कोहल्वी, निजगढ लगायत ठाउँका बासिन्दा बालगंगा खोला तरेर आवतजावत गर्छन्।  ‘यहाँ पुल अत्यन्त जरुरी छ, पुल समयमै नबन्दा धेरै असुविधा भएको छ,’ स्थानीय शिवनारायण चौधरीले भने, ‘खोलामा बाढी आउँदा काममा जानै पाइँदैन।’ 

हजारौं बिगाहाको खेती नष्ट

निर्माणाधीन पुलबाट खोलाको धार छुट्टिएपछि स्थानीयले पुलको डिजाइन हेरफेर गरिएको भन्दै विरोध गरेका छन्। ७ वर्षअघि पुलको नक्सा तयार गर्दा पुलको मुख र खोलाको धार दुवै दक्षिणतर्फ रहेकोमा अहिले खोलाले धार फेरेर पश्चिमतर्फ बग्न थालेपछि स्थानीयले विरोध गरेका हुन्। 

अहिले खोला पुलभन्दा बाहिरबाट बगेको छ। यसबाट जितपुरसिमरा, कलैया, महागढीमाई, पर्सौनी लगायत पालिकाहरूको हजारौं बिगाहा धान र उखु खेती नोक्सान भएको छ। 

जितपुरसिमरा–१२ का वडाध्यक्ष लालबाबु चौधरीले पुलको डिजाइन विपरीत पुल बनाएकाले खोला बस्ती र खेतमा पसेर खेती मास्नुका साथै पूरै खेत मरुभूमि बनाएको आरोप लगाएका छन्। ‘५ वर्ष अघिसम्म असाध्यै राम्रो खेती हुने हाम्रो वडाको जग्गामा बालगंगा खोला पसेर बगरै बनाइदिएको छ,’ उनले भने। 

पुल ठीक ठाँउमै छः डिभिजन प्रमुख श्रेष्ठ

डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख खड्गलाल श्रेष्ठले बडहरवा पुल डिजाइन अनुसार नै बनाइएको बताए। ‘खोलाको अधिकतम फ्लो अनुसार नै पुलको डिजाइन गरिएको हो र डिजाइन अनुसार नै पुल उपयुक्त ठाँउमै छ,’ उनले भने। 

मुआब्जा माग्दै निकालिएको विवादबारे श्रेष्ठले निर्माणको अन्तिम चरणमा विवाद सिर्जना गर्नु नियोजित भए पनि कानुनी रुपमा क्षतिपूर्तीको कुनै व्यवस्था नभएको बताए। 

‘तत्कालीन अवस्थामा स्थानीय सडक र पुल बनाउन जग्गा प्राप्त गर्ने भन्ने कुनै कानुनी व्यवस्था थिएन,ु उनले भने, 'पुलको डिजाइन भएपछि सीधै ठेक्का सम्झौता भयो,’ श्रेष्ठले भने, ‘अहिले निमार्णको अन्तिम चरणमा किचलो भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.