१० वर्षमा ६९ लाख पासपोर्ट जारी

|
फोटो : शीला तिम्सिना

काठमाडौ :  बिहान १० बजे‚ हातमा कागजपत्रको फाइल हाल्ने प्लाष्टिकको झोलासहित युवाहरु लाइनमा बसिरहेका छन्। आफ्नो पालो कतिबेला आउला भन्दै अगाडि पछाडि हेर्दैछन्। 

नारायणहिटी दरबारको पश्चिम दिशामा रहेको राहदानी विभागमा यतिबेला विदेश जानका लागि पासपोर्ट बनाउनेको भीड बढ्न थालेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै पासपोर्ट बनाउनेको भीड बढ्न थालेको हो। सोही भीडमा सिरहा घर भएका सन्तोष यादव भेटिए। आइतवार काठमाडौं आएका यादव नयाँ बसपार्कको एक होटलमा बस्दै आएका छन्।

बिहीबार आफ्नो सामानसहितको झोला सोही होटलमा छोडेर आएका यादव राहदानी विभाग आएका हुन्। केही दिन काठमाडौं नै बसेर कामको राम्रो अवसर पाए पासपोर्ट पेस गरेर मात्र गाउँ फर्कने सोचमा रहेका छन् उनी। तीन दिनमा पासपोर्ट निस्कने गरी उनले आवेदन दिएका छन्। 

पारिवारिक अवस्था कमजोर भएका ३२ वर्षीय यादवले देशमा रोजगारीको अवसर नपाएर विदेशिन लागेको बताए। नेपाल बसेर पेट भर्नै समस्या हुने भएकाले विदेशिन लागेको यादवले बताए। यादवसहित आठजनाको परिवार छ। उनले भने, ‘गाउँमा सानो मिठाइ पसल छ। त्यसले पेट पाल्नै पुग्दैन।’ 

परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढ्न नसकेको उनले सुनाए। ‘नेपालमा पढाइबिना पाउने काम भनेको मजदुरी हो। त्यो पनि कोरोनाका कारण खोसियो‚’ उनले भने‚ ‘मेरो अगाडि परिवारका सदस्य भोकले छटपटाएको कसरी हेर्नु? मेरो र परिवारको पेट पाल्न कै लागि भए पनि विदेश  जानै पर्छ।’  

सोही भीडमा हेटौंडा घर भएकी २७ वर्षीया निशा तामाङ पनि भेटिइन्। काठमाडौंको कपन बस्दै आएकी तामाङले कोरोनाका कारण रोजगारी गुमाएपछि वैदेशिक रोजगारीमा जान सोच बनाएकी रहेछन्।   

निशाले पाँच वर्षदेखि टुरिस्ट गाइडको काम गर्दै आएकी थिइन्। कमाइ पनि राम्रो नै थियो। उनले पनि कोरोना महामारीका कारण रोजगारी गुमाइन्। त्यसैले विदेश जानु उनलाई बाध्यता भइदियो।

राहदानी विभागले दैनिक ७ देखि ८०० को राहदानी बनाउने गरेको छ। विभागका अनुसार नेपालबाट तीन थरीका पासपोर्ट जारी हुने गर्छ। कूटनीतिक (रातो पासपोर्ट), सरकारी विशेष पासपोर्ट (नीलो पासपोर्ट) र सर्वसाधारणले प्रयोग गर्ने (हरियो पासपोर्ट) जारी हुने गरेको छ।

शरणार्थीलाई ट्राभल डकुमेन्ट दिने गरेको र त्यसलाई भने विभागले पासपोर्ट मान्ने गरेको छैन। पछिल्लो समय लकडाउन खुलेपछि राहदानी बनाउनेको संख्या बढदै गएको विभागका निर्देशक शरदराज आरणले  बताए। उनका अनुसार सबैभन्दा बढी राहदानी बनाउन मधेश/तराईका नागरिक आउने गरेका छन्। 

विभागले १० वर्षमा ६९ लाख पासपोर्ट जारी गरेको छ। तीमध्ये सबैभन्दा बढी सर्वसाधारण नागरिकले प्रयोग गर्ने हरियो पासपोर्ट जारी भएका छन्। हरियो पासपोर्ट ६८ लाख २४ हजार  जारी भएको विभागले जानकारी दिएको छ।  

विशेष पासपोर्ट २२ हजार कूटनीतिक पासपोर्ट १७ हजार जारी भएको छ। शरणार्थीले प्रयोग गर्ने ट्राभल डकुमेन्ट २ हजार ३०० जारी भएका जारी भएको निर्देशक आरणले जानकारी दिए। 

हरियो पासपोर्टका लागि सबैभन्दा बढी झापा,मोरङ, सुनसरी, सप्तरी, सिराहा र सर्लाहीलगायत जिल्लाका मानिस आउने गरेको विभागले जनाएकाे छ। धेरैजसो राहदानी हराएर आउने गरेका छन्। राहदानीको समय सकिएर र मेनपावरका दलालले लिएर फिर्ता नदिएका जस्ता समस्या लिएर आउँने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.