|

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको अवलोकन गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी जुम्ला पुगेका छन्।

कर्णालीको दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्दै आएको प्रतिष्ठाको अवलोकन गर्न उनी शुक्रबार जुम्ला पगेका हुन्। कलौनीले प्रतिष्ठानको अवलोकन पछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो १० वर्षे कार्यलयमा स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन, तथा अध्ययन अनुसन्धानका क्षेत्रमा अपेक्षित उपलब्धी गर्न सफल भएको बताए।

कोभिड रोकथाम तथा नियन्त्रणदेखि दुर्गममा स्वास्थ्य उपचार, तथा विशेषज्ञ विषयका पढाई तथा कर्णालीलाई स्वास्थ्यको हबका रुपमा चिनाउन प्रतिष्ठानले ठूलो योगदान गरेको उनले बताए।

उनले भने, ‘दुर्गम कर्णालीका हुम्ला, डोल्पा, मुगुलगायत सुदूरपश्चिमसहित १३ जिल्लामा सुलभ तथा गुणस्तरी स्वास्थ्य सेवा पुर्याउन प्रतिष्ठान सफल भएको छ। कर्णाली स्वास्थ्यको हब हो। जस्तासुकै उपचार कर्णालीमै हुन्छ भन्ने सन्देश दिन प्रतिष्ठानका पदाधिकारी, डाक्टर सबै जनशक्तिले दिएको योगदान पनि प्रशंसनीय छ।’

स्वास्थ्य सेवा प्रवाह तथा उपचारमा प्रतिष्ठान अब्बल भएको भन्दै प्रदेश प्रमुख कलौनीले विभिन्न पटक आउने कोरोना जस्ता अन्य महामारीमा उपचारसँगै जनचेतनाका कार्यक्रममासमेत जोड दिन सुझाए।

जनशक्ति, भौतिक संरचनालगायतका अन्य समस्या समधानका लागि तीन तहका सरकारसँग आवश्यक समन्वय र पहल गर्नेसमेत उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले दुर्गममा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन र अध्ययन अनुसन्धानलाई विशेष प्रथामिकता दिएर प्रतिष्ठानले काम गरिरहेको दाबी  गरे।

उनले वर्षमा ६० हजार बढी विरामीको उपचार गरिरहेको जानकारी दिए। सिनेटले प्रतिष्ठानमा ६ सय ७४ जना जनशक्ति रहने निर्णय गरे पनि तीन सय ४२ जना मात्रै कार्यरत रहेको जानकारी दिँदै उनले कम जनशक्ति, भौतिक संरचनाको अभाव, विद्युत, इन्टरनेट, फोहोर मैला व्यवस्थापनको अभावकाबीच पनि प्रतिष्ठानले नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.